धरान: धरान उपमहानगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को लागि कुल १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २८० रुपैयाको बजेट ल्याएको छ ।

आइतबार उपमहानगरपालिकाको प्रांगणमा आयोजित १५ औं नगरसभाबाट उक्त बजेट पारित भएको छ । यो बजेट गत आर्थिक बर्षको भन्दा करिब १७ करोड बढी हो । गत बर्षको कुल बजेट १ अर्ब ७२ करोड ५३ लाख ८३ हजार विनियोजन गरिएको थियो । 

यसअघि गत असारमा २ पटक नगरसभा बस्न असफल हुँदा धरान बजेट होलिडे को अवस्थामा थियो । आज बजेट, नीति तथा कार्यक्रम पारित भएसँगै बजेट होलिडेबाट धरान उपमहानगरपालिकाले राहत पाएको छ । नगरसभामा बजेट प्रस्तुत गदै उपमेयर बेघाले पुर्वाधार विकास, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास, पर्यटन, कृषि र विपद व्यवस्थापनलाई प्राथमिकता दिएको जानकारी दिए ।

nagarsava1

खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वबाट ४८ करोड ४१ लाख ३४ हजार २८०, संघीय सरकार अनुदानबाट ८९ करोड १९ लाख, प्रदेश सरकार अनुदानबाट ६ करोड ४० लाख ६४ हजार, संघीय राजश्व बाँडफाँटबाट २१ करोड ३४ लाख, प्रदेश राजश्व बाँडफाँटबाट २४ करोड ८ लाख ५० हजार प्राप्त हुने अनुमान गरिएको छ । 

यस्तो छ, बजेटको क्षेत्रगत विनियोजन 

पारित बजेटमा २० वटै वडाहरुको लागि प्रशासनिक, कार्यक्रम तथा पूँजीगततर्फ आन्तरिक स्रोतबाट २१ करोड विनियोजन गरिएको छ । गत आर्थिक बर्षमा सम्झौता तथा कार्यक्रम सम्पन्न भई भुक्तानी हुन नसकेका क्रमागत आयोजनाहरुको लागि थप ३ करोड विनियोजन गरिएको छ ।

प्रमुख भिजनमा ५ करोड, प्रमुख कोषमा १ करोड ८० लाख, उपप्रमुख भिजनमा ३ करोड र उपप्रमुख कोषमा ७५ लाख विनियोजन गरिएको छ । शहरी योजना तथा भौतिक पुर्वाधार विकासतर्फ ससर्त अनुदानमा ८ करोड ७३ लाख २९ हजारसमेत गरि कुल ४५ करोड ८२ लाख २९ हजार विनियोजन गरिएको छ । शिक्षा, युवा तथा खेलकुदतर्फ सशर्त अनुदान ४३ करोड ८६ लाख ९५ हजारसमेत गरि कुल ४६ करोड २६ लाख ९५ हजार विनियोजना गरिएको छ।

nagarsava2

स्वास्थ्यतर्फ सशर्त अनुदान ७ करोड ६३ लाख ८४ हजारसमेत गरि कुल ८ करोड ३ लाख ८४ हजार विनियोजन छ भने सामाजिक विकासतर्फ कुल ४ करोड ४१ लाख, आर्थिक विकासतर्फ सशर्त अनुदान १ करोड १५ लाख ४४ हजारसहित कुल १ करोड ८४ लाख ९४ हजार विनियोजन गरिएको छ ।

वन वातावरण उर्जा तथा विपद व्यवस्थापनतर्फ १ करोड ४० लाख, पर्यटनतर्फ सशर्त अनुदानसमेत गरि कुल ९० लाख ५० हजार, सुचना तथा संचारतर्फ २५ लाख ५० हजार, कानुन तथा न्याय सम्पादनतर्फ १० लाख, सार्वजनिक जग्गा संरक्षणतर्फ २० लाख बजेट विनियोजना गरिएको छ  भने राजश्व परिचालनतर्फ २३ लाख, वडा पूर्वाधार निर्माण कार्यक्रममा कुल २५ करोड ७० लाख विनियोजना गरिएको छ ।

कुन वडामा कति बजेट ?

वडा नं १ ले ७७ लाख ३४ हजार ५६९ रुपैया बजेट पाएको छ भने वडा २ ले ६९ लाख १९ हजार २९३ रुपैया, वडा नं ३ ले ६८ लाख ७९ हजार १०३ रुपैया, वडा नं ४ ले १ करोड ११ लाख ३ हजार ४८३ रुपैया पाएको छ ।

nagarsava4 copy

यस्तै, वडा नं ५ लाई १ करोड १६ लाख १२ हजार ५५२ रुपैया, वडा ६ लाई १ करोड १० लाख ६७ हजार ७५९ रुपैया, वडा नं ७ लाई ६६ लाख २१ हजार ३७९ रुपैया विनियोजन गरिएको छ । वडा नं ८ लाई १ करोड ३५ लाख ४० हजार ३७९ रुपैया, वडा ९ लाई ७४ लाख ३९ हजार ८४५ रुपैया, वडा १० लाई ७९ लाख १९ हजार ५६९ रुपैया बजेट विनियोजन गरिएको छ ।

यसैगरि, वडा नं ११ ले १ करोड २६ लाख २४ हजार ९४८ रुपैया, वडा १२ लाई ७६ लाख ६३ हजार १२१ रुपैया, वडा नं १३ लाई १ करोड ७ लाख ७६ हजार ८६२ रुपैया, वडा नं १४ लाई ८१ लाख* ४६ हजार ३४ रुपैया, वडा नं १५ लाई १ करोड ९० लाख ८७ हजार ८२८ रुपैया विनियोजन गरिएको छ ।

यस्तै, वडा नं १६ लाई १ करोड १४ लाख २८ हजार ८२८ रुपैया, वडा नं १७ लाई १ करोड ६२ लाख ९३ हजार ६९० रुपैया, वडा नं १८ लाई ८१ लाख ९७ हजार ६९ रुपैया, वडा नं १९ लाई १ करोड ११ लाख १४ हजार ९६६ रुपैया र वडा २० लाई १ करोड ३८ लाख २८ हजार ७२४ रुपैया बजेट विनियोजन गरिएको छ ।

*समाचारमा लाख हुनुपर्नेमा करोड भएकोमा सच्याइएको छ । 

भिडियो:

भिडियो: