धरान: धरान वडा नं १३ स्थित खहरे खोलामा लगाएको ग्याबिङ जालीबारे यथार्थ नबुझी अभिव्यक्ति दिएका लिला बुढाथोकी र गोविन्द श्रेष्ठले वडाअध्यक्ष नेत्र काफ्लेसँग माफी मागेका छन् ।

बुढाथोकी र श्रेष्ठ दुवैले खोलामा ६० लाख बजेट खन्याएर भ्रष्टचारको आरोप वडाअध्यक्ष काफ्लेलाई लगाएका थिए । श्रेष्ठले अध्यक्षलाई घिसारेर सडकमा ल्याउने जस्ता आपत्तिजनक अभिव्यक्ति दिएका थिए भने बुढाथोकीले अध्यक्ष काफ्लेको बैंक खाता रोक्का राखेर त्यहीबाट असुलउपर गर्नुपर्ने बताएका थिए । सत्यतथ्य नबुझी अर्नगल बोल्दै हिडेको भन्दै वडाअध्यक्ष काफ्ले प्रहरीले उजुरीमा दिएपनि दुवै जना पक्राउ परेका थिएनन् ।

हिजो मंगलबार भने बुढाथोकी र श्रेष्ठ दुवै ईलाका प्रहरी कार्यालय धरानमा हाजिर भएर वडाअध्यक्ष काफ्लेसँग माफी मागेका हुन् । बुढाथोकी बिहान प्रहरी कार्यालयमा पुगेका थिए भने श्रेष्ठ दिउँसो उपस्थित भएका थिए । दुवैले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर आफुहरुले यथार्थ नबुझी बोलेको स्वीकार गर्दै माफी मागेको र भविष्यमा पनि सत्यतथ्य बुझेर मात्र बोल्ने प्रतिवद्धता जनाएका थिए । दुवै जना मेयर हर्क साम्पाङका समर्थक हुन् भने स्वतन्त्र नागरिक समाज वडा नं १७ का नेतृत्व पनि हुन् ।

wada 13 dojar2

बुढाथोकीले आफुले भुगोल हेरेर मात्र बोलेको तर कागजपत्र, प्रमाण अहिले हेरेपछि गल्ती बोलेको महशुस भएकोले माफी मागेको बताए । यस्तै, श्रेष्ठले पनि वहकाबमा आएर प्रमाण नपुग्ने कुरा बोलेको भन्दै माफी मागेका थिए । दुवैले सार्वजनिकरुपमा गल्ती स्वीकार गरेर माफी मागेपछि वडाअध्यक्ष काफ्लेले प्रहरी कार्यालयमा मिलापत्र गरेर छोडेका थिए । मानिसबाट गल्ती हुने र आफ्नो गल्तीलाई दुवैले स्वीकार गरेकोले एक पटकलाई माफी दिएको वडाअध्यक्ष काफ्लेले बताए । उनले भविष्यमा सत्यतथ्य र प्रमाण नबुझी जथाभावी कसैले पनि नबोल्न आग्रह पनि गरे ।

वडा नं १३ मा खहरेको कटानबाट डाँडा पहिरो खस्ने र वस्तीलाई नै जोखिम पुग्ने देखिएकोले प्रदेश सरकारको २० लाख बजेटले ८० मिटर ग्याबिङ जाली लगाइएको थियो । स्थानीय सबैको सहमति भएपनि त्यसविरुद्ध स्थानीय एक जना भारती राईले खोला मिचेर जाली लगाएको भन्दै मेयर हर्क साम्पाङलाई गुनासो गरेकी थिइन् । मेयर साम्पाङले वडा र स्थानीय टिएलओसँग समन्वय नगरि एक्कासी भत्काउन डोजर पठाएपछि विवाद चर्किएको थियो ।

वडाअध्यक्ष र स्थानीयको विरोध पछि डोजर फर्किएको केही दिनपछि साँझ नगर प्रहरी लगाएर मेयर साम्पाङले उक्त जाली काटेका थिए । त्यसविरुद्ध वडा र टिएलओले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । उक्त घटनाबारे प्रशासनले पनि स्थलगत अवलोकन र छानबिन गरिरहेको छ । 

भिडियो:

भिडियो: