धरानः नेपाली कांग्रेसले ग्रीन एण्ड क्लीन धरान अभियान लिएर घरदैलो शुरु गरेको छ । 

कांग्रेसले ४२ औं वी.पी. स्मृति दिवसको अवसर पारेर अभियान मार्फत घरदैलो शुरु गरेको हो । धरान १९ वाट शुरु भएको अभियानसंगै गरिएको घरदैलोमा कागती, अम्वक, सरिफा, वेल, अमला, तेजपत्ता लगायतका विभिन्न जातका फलफुलका विरुवाहरु वितरण गरिएको छ । 

अभियानको क्रममा सडक सरसफाई र डेङ्गु लार्भा नष्ट तथा डेङ्गु सम्बन्धि सचेतना पर्चा वितरण गरिनुका साथै डेङ्गु विरामीहरुलाई सिटामोल र जीवन जल समेत वितरण गरिएको अभियानका संयोजक एवं नेपाली कांग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङले जानकारी दिए । 

नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव माधव घिसिङले अभियानको उद्घाटन गर्दै अभियान अत्यन्तै उत्कृष्ट र जनमुखि भएको बताएका छन् । उनले यस्ता अभियानले जनताको मन जित्ने हुंदा अभियानको पूर्ण सफलताको कामना गर्दै आयोजक क्षेत्रीय समितिको उच्च प्रशसा समेत गरेका छन् । 

congress1

अभियानका संयोजक तामाङका अनुसार गतबर्ष पनि गरिएको यो अभियान जनप्रिय र प्रभावकारी भएकाले गतबर्ष पुग्न नसकिएका धरानका टोल वस्तीहरुका लागि पुनः अभियान सञ्चालन गरिएको बताए । यस अभियान मार्फत जनताको घरघरमा पुगिने हुंदा जनतासँग साक्षात्कार भई पार्टी र जनताबीचको सम्बन्ध सुदृढ हुनका साथै हरियाली प्रर्वद्धन, सरसफाई र डेङ्गु रोगबारे सचेतना अभिवृद्धि पनि हुने उनले बताए । अभियानले आम जनतामा र स्थानीय वातावरण तथा पर्यावरणमा सकरात्मक प्रभाव पर्ने सभापति तामाङले बताए । क्षेत्रीय सभापति तामाङका अनुसार धरानका १, ५, ६, ८, १०, ११, १४, १५, १६, १७, १८ र १९ नं. वडाहरुमा अभियान सञ्चालन गरिने भएको छ ।

घरमै आएर जीवनपयोगी विरुवा, औषधि, जनचेतनामूलक पर्चा वितरण र सडक सरसफाई समेत गरेको भन्दै वडावासीहरुले धन्यवाद प्रकट गरेका छन् । नेपाली कांग्रेस सुनसरीको १ नं. प्रतिनिधिसभा क्षेत्र कार्यसमितिको आयोजना तथा धरान नगर समिति, प्रदेशसभा १(१) र १(२) समितिको संयोजन र नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको सहकार्य एवम् सम्बन्धित वडा कार्यसमितिको स्थानीय व्यवस्थापनमा ग्रीन एण्ड क्लीन धरान अभियान गरिएको क्षेत्रीय सहसचिव सुमित राईले बताएका छन् । 

अभियानमा डेङ्गु विरामीलाई औषधि वितरण गरिनुका साथै न्यूनतम् एक घर एक विरुवा वितरण गरेर ग्रीन धरान बनाउने र सडक सरसफाई, डेङ्गुको लार्भा नष्ट तथा डेङ्गु सम्बन्धि सचेतना पर्चा वितरण गरेर क्लीन धरान बनाउने कार्य भईरहेको उनले बताए । अभियान भदौ १ गतेसम्म सञ्चालन हुने बताइएको छ । अभियानमा नेपाली कांग्रेस पार्टी र भातृ एवम् शुभेच्छुक संघसंस्थाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।