धरान: पुर्वकै चर्चित पर्यटकीयस्थल भेडेटारमा पर्यटक सहायता पोष्ट स्थापना भएको छ । 

घुम्न आउने पर्यटकहरुलाई सुरक्षाको पुर्णरुपमा अनुभूति दिलाउने उद्देश्यले नेपाल प्रहरीको पर्यटक सहायता पोष्ट स्थापना भएको हो । तीन जनाको दरबन्दी रहेको उक्त पर्यटक सहायता पोष्टको बुधबार एक कार्यक्रमबीच साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले उद्घाटन गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एवं एसपी श्यामसिंह चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

गाउँपालिका प्रमुख रुम्दालीका अनुसार नेपाल प्रहरीले भेडेटामार ३ जना पर्यटक प्रहरीको दरबन्दी दिएको छ । भेडेटार चोकस्थित पोष्टमा हवल्दारको नेतृत्वमा २ जना पर्यटक प्रहरी बस्ने पनि उनले बताए । ‘यहाँ आउने पर्यटकहरुलाई अफ्ठेरो पर्दा सहयोग गर्ने, सहजीकरण गर्ने र पर्यटकीय गन्तव्यहरुबारे जानकारी दिने काम हुन्छ,’उनले भने,‘केही समस्या आयो भने पर्यटक प्रहरीले सम्बोधन गर्नेछन् ।’

tourst police

पर्यटक प्रहरी पोष्ट तयार गर्न गाउँपालिकाले सहयोग गरेको छ । भेडेटारमा पर्यटक प्रहरीको माग धेरे अघिदेखि भइरहेको थियो । नेपाल प्रहरीले धनकुटाको भेडेटारसँगै ताप्लेजुङको पाथीभारा, इलामको कन्याम, खोटाङको हलेसी र सुनसरीको बराहक्षेत्रमा पनि पर्यटक प्रहरी खटाएको छ । ‘पर्यटकलाई सुरक्षित छौं भन्ने अनुभूति दिलाउने मुख्य उद्देश्य हो । यहाँ पर्यटकहरुको तथ्यांक पनि राखिन्छ । अरु जिल्लाको पर्यटकीय सुचनाहरु पनि राख्छौं,’ अध्यक्ष रुम्दालीले भने ।

भेडेटारलाई विगतमा प्रदेश सरकारले पर्यटकीय गाउँपालिका घोषणा गरेको थियो । अहिले पनि सोही घोषणा गरेर बिशेष लगानी र अनुदान दिन पहल गरिरहेको गाउँपालिका अध्यक्ष रुम्दालीले बताए । 

शुक्रबार स्काई वाकको उद्घाटन हुने

चाल्र्स पोइन्टमा निर्माण भएको स्काईवाक शुक्रबार उद्घाटन हुने भएको छ । प्रदेशका मुख्यमन्त्रीको प्रमुख आतिथ्यमा स्काई वाकको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । चार बर्षअघिदेखि स्काईवाक निर्माण गर्न थालिएको थियो । तत्कालिन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको पालामा सम्झौता भई स्काई वाक निर्माण शुरु भएको थियो । 

sky walk

यो स्काई करिब २० करोड लगानीमा निर्माण भएको छ । प्रदेश लगानी प्राधिकरण, धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाको समन्वयमा स्थापना भएको हो । वन्डर्स एम्युजमेन्ट पार्क प्रालिले २० करोड लगानीमा निर्माण गरिएको परियोजनाको कार्यकारी निर्देशक सञ्जिव रोक्काले जानकारी दिए ।