धरान: खानेपानीको महशुल अत्यधिक वृद्धि गरिएपछि धरानका राजनीतिक दलहरु विरोधमा उत्रिएका छन् । 

खानेपानी बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्क साम्पाङले एकल निर्णयबाट महशुल अत्यधिक वृद्धि गरेको भन्दै विभिन्न १० राजनीतिक दलहरु विरोधमा उत्रिएका छन् । उनीहरुले शुक्रबार खानेपानी व्यवस्थापन बोर्डमा ३ बुँदे मागसहित ज्ञापनपत्र बुझाउदै ७२ घण्टाको अल्टिमेटम पनि दिएका छन् ।

 धरान १३ स्थित बोर्डको कार्यालयमा ज्ञापन पत्र बुझाउन पुगेका राजनीतिक दल र मेयर साम्पाङको भेट भने हुन सकेन । भेडेटारमा स्काई वाक परियोजना उद्घाटनमा गएको हुनाले बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेललाई नै ज्ञापन पत्र बुझाएर दलका नेताहरु फर्किएका थिए ।

khanepani1 copy

राजनीतिक दलहरुले वृद्धि गरिएको खानेपानीको महशुल दर तत्काल खारेज गरी पुरानै दर कायम गर्न माग गरेका छन् । यस्तै, बोर्डलाई पुर्णता दिएर पारदर्शी र जवाफदेहीरुपमा सञ्चालन गर्न र धरान खानेपानी व्यवस्थापन बोर्डको आय व्यय सार्वजनिक परिक्षण गर्न पनि माग गरेका छन् । दलहरुले आफ्ना माग ७२ घण्टाभित्र पुरा नभए चरणवद्ध आन्दोलन कार्यक्रमहरु सार्वजनिक गर्ने पनि चेतावनी दिएका छन् ।

ज्ञापन पत्रमा कांग्रेस सभापति श्याम पोख्रेल, एमाले अध्यक्ष हर्कजंग एभेङ, माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष सर्वजित राई, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष ताजुब लिम्बु, नेकपा (एकीकृत समाजवादी)का रेवतीरमण राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सुमन श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका संयोजक नरेशकुमार शाक्य, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष अर्जुन खड्का, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चका अध्यक्ष मोहनकुमार तिगेला र राष्ट्रिय साझा पार्टीका अध्यक्ष सुरेशकुमार राईले हस्ताक्षर गरेका छन् ।

खानेपानीको कुन शिर्षकमा कति महशुल बढ्यो ?

खानेपानी बोर्डमा अहिले मेयर साम्पाङ एक्लैले एकल निर्णयबाट चलाइरहेका छन् । बोर्डका केही सदस्यहरुको पदावधि सकिएको छ भने पदेन सदस्य रहेका बोर्ड सदस्यलाई पनि मेयर साम्पाङले बैठकमा बोलाएका छैनन् । कतिपय बोर्ड सदस्यहरु फर्जी कागजातबाट सदस्य भएको भन्दै उनीहरु बोर्ड सदस्य नै नभएको मेयर साम्पाङको दाबी छ । बोर्ड सदस्यहरुले साम्पाङविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेपनि अदालतले बोर्ड अध्यक्षको हैसियतमा काम गर्न बाटो खोलेपछि उनले एकल निर्णयबाट बोर्ड सञ्चालन गरिरहेका छन् ।

भिडियो:

यसपाली साउन १ गतेदेखि लागु हुने गरि विभिन्न शिर्षकमा महशुल वृद्धि गरिएपछि यसको विरोधमा चौतर्फी आवाज उठिरहेको छ । नयाँ धारा जडानमा न्युनतम ३३ देखि ३ सय प्रतिशतसम्म शुल्क वृद्धि गरिएको छ भने होल चेञ्ज १५० देखि २८० प्रतिशतसम्म, नामसारी मृतकबाट २४०० प्रतिशतदेखि ९९०० प्रतिशतसम्म वृद्धि गरिएको दलहरुको भनाई छ ।  

यस्तै, मर्मत तथा चेकमा १०० प्रतिशतदेखि १९०० प्रतिशतसम्म, महशुल ११ देखि २०० प्रतिशतसम्म वृद्धि गरिएको छ । यस्तै, निवेदन दस्तुर ४०० प्रतिशत र जलाधार संरक्षण शुल्क नयाँ थप गरिएको छ । मृतकको नाममा रहेको धारा नामसारी जस्तो मानवीय संवेदना जोडिएको बिषयमा १९०० देखि ९९०० प्रतिशत शुल्क वृद्धि कल्पना पनि गर्न नसकिने दलहरुको भनाई छ । 

साथै, नयाँ धारा जडान गर्ने सेवाग्राहीलाई प्रत्यक्ष असर पुग्नेछ भने व्यवसायिक प्रयोजनको जडान गर्ने धारा र शुल्कमा २०० प्रतिशत वृद्धिले धरानको व्यवसायिक वातावरणलाई पनि असर पुग्ने ज्ञापन पत्रमा उल्लेख छ । ‘मर्मत तथा चेकमा १९०० प्रतिशतसम्म शुल्कवृद्धि र निवेदन दस्तुर ४०० प्रतिशत वृद्धि हचुवाको पनि पराकाष्ठ भएको हाम्रो ठहर रहेको छ,’ ज्ञापन पत्रमा भनिएको छ ।

khanepani party2

khanepani party3

khanepani fee