धरान: सुनसरी उद्योग वाणिज्य संघले खानेपानीको महशुल वृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ । 

धरान खानेपानी व्यवस्थापन बोर्डको पदेन सदस्यसमेत रहेको संघका अध्यक्ष विजय श्रेष्ठले सोमबार एक विज्ञप्ती जारी गर्दै मेयर हर्क साम्पाङसँग यस्तो आग्रह गरेका हुन् । उनले आर्थिक मन्दिको बेला उपभोक्तालाई थप आर्थिक भार थुपार्ने कार्य सह्य र मान्य नहुने भन्दै अविलम्ब वृद्धि गरिएको महशुल दर फिर्ता लिई साविककै कायम गर्न पनि माग गरेका छन् । माग पुरा नभए महशुल वृद्धि विरुद्धमा गर्ने विरोध तथा आन्दोलनमा संघको समेत एक्यवद्धा, समर्थन र सहयोग रहने पनि खुलाएका छन् ।

खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ को दफा १० को उपदफा २(घ) वमोजिम संघ पदेन सदस्य रहेपनि विगत २ बर्षदेखि बैठक नबोलाइएको र कुनै छलफल पनि नभएको अवस्थामा साउन १ गतेदेखि मेयरको एकल निर्णयबाट विभिन्न शिर्षकमा महशुल वृद्धि गरिएको पनि अध्यक्ष श्रेष्ठले जनाएका छन् । उपभोक्ताहरुले थेग्नै नसक्ने गरि एकल निर्णयबाट गरिएको महशुल शुल्क वृद्धिमा संघको कुनै संलग्नता नरहेको र असहमति रहेको पनि विज्ञप्तीमा उल्लेख छ ।

खानेपानी बोर्डको सञ्चालन प्रक्रिया ऐन नियम वमोजिम नभएको र हाल बोर्डको कार्यकारी समिति बैठकलगायत सञ्चालन प्रक्रियाको बिषयमा उच्च अदालतमा मुद्दा विचाराधिन अवस्थामा अवैधानिक र एकल निर्णयबाट महशुल वृद्धि गरेर उपभोक्तालाई आर्थिक भार थपेको संघको विज्ञप्तीमा उल्लेख छ । 

यसअघि शुक्रबार धरानका विभिन्न १० राजनीतिक दलहरुले पनि महशुल वृद्धि फिर्ता गर्न मेयर साम्पाङलाई ७२ घण्टे अल्टिमेटम दिएका थिए । दलहरुको अल्टिमेटम आइतबार सकिएको छ । मेयरलाई दिएको अल्टिमेटम सकिएपछि दलहरुको आन्दोलनको स्वरुप कस्तो हुने हो भनेर सार्वजनिक भने गरेको छैन ।
udhog