धरान: हिजो सोमबार साँझ धरान उपमहानगरपालिका वडा नं १ स्थित पृथ्वी चोकमा भेटिएको अजिंगर हरियाली सामुदायिक वन उपभोक्ता समुहको चिडिया खानामा राखिएको छ ।
धरान १९ स्थित हरियाली वन समुहका अनुसार योसँगै चिडिया खानामा अजिंगरको संख्या ३ वटा पुगेको छ । तर, २ वटा भने सानो बच्चा रहेको छ । करिब ३ महिनाअघि बयस्क अजिंगर भने काठ मक्किएको मौका छोपेर प्वाल बनाएर भागेको थियो । त्यसपछि हरियालीको चिडिया खाना वयस्क अजिंगर विहिन भएको थियो ।
वन समुहकी अध्यक्ष झुमादेवी गुरुङले वडा १ बाट उद्दार गरेर ल्याएको अजिंगरलाई अहिले संरक्षण गरेर राखिएको बताइन् । ‘हिजो उद्दार गरेर ल्याएको भन्दा अलिकति सानो थियो । काठ मक्किएर सानो प्वाल थिएछ, त्यहाँबाट निस्कियो भन्ने अनुमान गरेका छांै,’उनले भनिन्,‘अहिले अर्को भेटियो, हामी एकदम खुशी छौं ।’ बालबालिकाहरुले टिभि र चित्रमा मात्र हेरेको अजिंगर प्रत्यक्ष हेर्न पाउदा ज्ञान हासिल गर्ने भएकोले धेरै आकर्षित हुने गरेको पनि अध्यक्ष गुरुङले बताइन् ।
हिजो वडा नं १ का जनप्रतिनिधिहरुले तीनकुनेस्थित वन कार्यालयलाई खबर गरेपनि वनले हरियाली वन समुहलाई उद्दार गर्न पठाएको थियो । तालिमप्राप्त उद्दारकर्ता नभएपनि अजिंगर हुर्काइरहेका वन समुहका पदाधिकारी र कर्मचारीहरुलाई आनीबानी सबै थाह भएकोले समात्न सफल भएको कर्मचारी महेन्द्र गौतमले बताए । उक्त अजिंगरको तौल १३ किलो भएको पनि उनले जानकारी दिए । ‘यहाँ पनि बेला बेला उम्किएर भाग्छ, र त्यो बेला समाएका छौं । धेरै बर्षदेखि हेरिरहेका हुनाले आनीबानी सबै थाह भएर समाउन सजिलो भयो,’ उनले भने,‘शुरुमा रुखमा भएकोले चै कसरी समाउने भन्ने थियो, तर हाँगा काटेर झारेपछि समायौं ।’
उक्त अजिंगरलाई भोकायो भनेर बिहान लोकल कुखुरा दिएपनि नखाएको उनले बताए । बिहानी पाख अजिंगर एकदमै रिसाहा स्वभाव देखाएको र मान्छे देख्नेबित्तिकै आक्रमण गर्न खोजेको पनि गौतमले बताए । हरियालीको चिडिया खानामा साँगुुरीगढीमा भेटिएको निगाले बाघ पनि संरक्षण गरेर राखिएको छ । यस्तै, पश्चिमबाट ल्याएको निल गाई पनि छ । यस्तै, रतुवा, चित्रा, दुम्सीलगायत दुर्लभ वन्यजन्तु पनि संरक्षण गरेर राखिएको छ ।