धरान: देशभर असारदेखि भदौसम्म नदीजन्य पदार्थ उत्खनन् र वितरण कानुनीरुपमा नै बन्देज छ । तर यही मौकामा धरान र छिमेकी बराहक्षेत्र भएर बग्ने सर्दु खोला सिमा क्षेत्रबाट ट्याक्टरमा नदीजन्य पदार्थको चोरीनिकासी भइरहेको छ । 

बराहक्षेत्रको अमाह सामुदायिक वन र धरानको उदय सामुदायिक वनको सिमा क्षेत्रमा पर्ने सर्दु खोलाबाट दिनदहाडै ट्याक्टरमा बालुवा, मिक्सगिट्टीको तस्करी भइरहेको हो । उक्त तस्करी रोक्न खोज्दा वन अमाह वन समुहका अध्यक्ष भोजराज घले, बराहक्षेत्रका अभियन्ता सुर्य बस्नेत (भुँइकवि)लाई धम्कीसमेत आएको छ । प्रहरीलाई समयमै खबर गर्दा पनि मिलेमतोको कारण फिल्डमा नआइदिदा आफुहरुको ज्यान जोखिम भएको उनीहरुले बताए ।

बिहिबार खोलामा ट्याक्टरको लस्कर पसेर अवैध उत्खनन् र चोरीनिकासी भइरहेको देखेपछि बराहक्षेत्रका मेयर रमेश कार्कीमार्फत प्रहरीलाई खबर गरेपनि समयमा नआइदिएको अभियन्ता बस्नेतले बताए । आफु असुरक्षित भएपछि  विशाल चोकमा बस्न नसकेर अन्यत्र आउनुपरेको क्लिकधरानसँगको भेटमा बस्नेतले बताए । ट्याक्टरले अवैधरुपमा खोलाबाट उत्खनन् गरेर ल्याइरहेपनि धरानबाट ल्याएको भन्दै रसिद देखाउने गरेको र बराहक्षेत्रमा स्टक गरेर अन्त्रय निकासी भइरहेको पनि उनले बताए । 

अमाह वनका अध्यक्ष घलेले पनि आफुहरु खोलामा पुग्दा ट्याक्टरहरु बालुवा, ढुंगा, मिक्सगिट्टी अनलोड गरेर भागेको बताए । केही ट्याक्टरलाई नियन्त्रणमा लिने प्रयास गरेपनि प्रहरी प्रशासन नआइदिएकोले सम्भव नभएको पनि उनले गुनासो गरे । ‘वन र प्रहरीसँग मिलेमतोमा यो सब भइरहेको छ । उनीहरुलाई राम्रो भाग पुग्छ र त हामीले खबर गरिदिदा पनि समयमा आइदिदैनन्,’घलेले भने,‘घरमै आएर पनि धम्की दिइरहेको छ ।’ *समाचार शिर्षकमा सर्दु खोला हुनुपर्ने सेउती भएकोमा क्षमाप्रार्थी छौं । 

भिडियो: