धरान: प्रदेश सरकारको बजेटबाट धरान वडा नं १३ को खहरेमा लगाएको ग्याबिङ जाली भत्काएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वडा १३ की भारती राई, उनका भाई नाता पर्ने वडा ४ भर्लेनीका राजकुमार राई र श्रीमति दिलकुमारी राई रहेका छन् । उनीहरुलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय इनरुवा नै लगेको स्रोतले जनाएको छ । 'भारती राईलाई घरबाटै र राजकुमार, उनकी श्रीमतिलाई भर्लेनीबाट समातेर इनरुवा लगेको छ,' स्रोतले भन्यो ।
वडाअध्यक्ष काफ्लेले उक्त घटनामा ३ जना पक्राउ परेको खबर आफुले पनि सुनेको बताए । घटनाबारे जिल्ला प्रहरी प्रवक्ता नविनकृष्ण भण्डारीलाई सम्पर्क गर्दा मोवाइल उठेन भने धरानका डिएसपी मानबहादुर राईले पनि फोन रिसिभ गरेनन् ।
प्रदेश सरकारको बजेटमा निर्माण गरिएको ग्याबिङ जाली तोडफोड भएपछि उपभोक्ता समितिले वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा घटनाको छानबिन गरि कारबाहीको माग गर्दै निवेदन दिएका थिए । वडा कार्यालयले पनि उक्त घटनाको छानबिन गरेर कारबाही गर्न जिल्ला प्रशासनमा निवेदन दिएको थियो ।
उपभोक्ता समितिमार्फत प्रदेश सरकारको २० लाख बजेटबाट खहरे खोलाको पुर्वतर्फ ग्याबिङ जाली लगाइएको थियो । तर, हाल पक्राउ परेका स्थानीय भारती राईले खहरेको बीचमा लगाएको भन्दै मेयर हर्क साम्पाङलाई मौखिक उजुरी गरेपछि मेयर साम्पाङले डोजर लगेर भत्काइदिन नगर प्रहरीलाई निर्देशन दिएका थिए । नगर प्रहरी डोजर लिएर वडा १३ पुग्दा वडाअध्यक्ष नेत्र काफ्ले र स्थानीयले विरोध जनाएपछि नगर प्रहरी फर्किएको थियो ।
केही दिनपछि भने मेयर साम्पाङले साँझको बेला नगर प्रहरी पठाएर उक्त ग्याबिङ जाली भत्काइदिएका थिए । उक्त कार्यमा भारती राई र उनका आफन्तजनहरुले पनि सघाएका थिए । मेयर साम्पाङले वास्तविकता नबुझी र वडा कार्यालय, स्थानीयबासी, टोलविकास संस्थासँग समन्वय नगरि एक्कासी सार्वजनिक सम्पत्ति भत्काएको भन्दै वडाअध्यक्ष, स्थानीयबासीहरुले चर्को विरोध पनि जनाएका थिए । साथै, त्यसविरुद्ध जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरीसमेत दिएका थिए । घटनाको छानबिन गर्न प्रशासनको टोलीले स्थलगत निरीक्षणसमेत गरेको थियो ।
भिडियो: