धरान: धरान उपमहानगरपालिका वडा नं १३ स्थित देवी मार्ग हुदै वडा २० को चिण्डे डाँडा जाने बाटोमा पर्ने सर्दु पुलको सोमबार उद्घाटन गरिएको छ ।

प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको उक्त पुलको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । पुल २०७८ माघ महिनामा नै निर्माण सम्पन्न भएर सञ्चालन आइसकेको थियो । निर्माण कार्य सकिएपनि प्रदेश सरकार फेरवदल भइरहदा पुलको औपचारिक उद्घाटन भने भएको थिएन । उक्त पुल तत्कालिन प्रदेश नं १ का संस्थापक सभामुख प्रदिप भण्डारीको बिशेष पहलमा प्रदेश सरकारले निर्माण गरेको हो ।

यो पुल वडा २० हुदै प्रसिद्ध मन्दिर विष्णुपादुका हुदै धनकुटा जिल्ला पनि जोडिनेछ । मुख्यमन्त्री कार्कीले अघिल्लो सरकारको पालामा योजना छनौट गर्दा तत्कालिन सभामुख भण्डारीले यो पुल छानेको स्मरण गर्दे अहिले स्थलगत हेर्दा सहि छनौट गरेको महशुस भएको बताए । मुख्यमन्त्री कार्कीले सर्दु पुल पारी वडा २० तर्फ बाटो पिच बनाएर विष्णुपादुका मन्दिरसम्म जोड्न सके हजारौं पर्यटक आउने र आम्दानीको स्रोत बढ्ने बताए । ‘यहाँ सर्दृु करिडोरको कुरा उठेको छ, आवश्यक गृहकार्य गरौं, सम्भाव्यता अध्ययन गरौं । नदी तटबन्ध हुन्छ, बाटो खुल्छ भने गरौ,’ उनले भने ।

पुल निर्माण गरेर मात्र नहुने भन्दै मुख्यमन्त्री कार्कीले चिण्डेडाँडा, विष्णुपादुका, मंगलबारेसम्म जाने बाटोलाई आगामी प्राथमिकतालाई राखेर छिट्टै बनाउन तयारी गर्ने पनि बताए । ‘देवी मार्ग पनि कालोपत्रे हुने गरि डिपिआर बनाउन मन्त्रालयलाई आग्रह गर्छु, त्यो योजना बैंकमा रहन्छ, । प्राथमिकताको आधारमा पैसा हुदा योजना झिकेर बनाउने काम गछौं, त्यो बैंकमा समावेश गर्न पनि आग्रह गर्छु ।’ 

sardu bridge1 copy

मुख्यमन्त्री कार्कीले धेरे लामो समयसम्म कतिपय सरकारहरुले ठिक ढंगले काम गर्न नसक्दा मुलुक पछाडि परेको बताए । उनले जातीय कुरा गर्न उचित नभएको पनि बताए । ‘हामी अग्लो, होचो, चुच्चे, थेप्चे भन्ने खालको कुराकानी अहिले पनि गरिरहेका छौ, यो गलत कुरा हो । राज्यले जनतालाई यथेष्ट सम्बोधन गर्नुपर्छ, र हाम्रो विकासको लागि हाम्रो सबै जाति, भाषा, समुदायहरु राष्ट्रको गहना हो, सम्पत्ति हो,’ उनले भने । कार्यक्रममा प्रदेशका संस्थापक सभामुख भण्डारी, प्रदेशसभा सदस्य रमेश बस्नेत, यशोदा कायस्थ, वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले पनि सम्बोधन गरेका थिए ।

उक्त पुल कार्की बन्धु कन्स्ट्रक्सन प्रालि विराटनगरले ठेक्का पाएर निर्माण गरेको हो । २०७६ माघ २० गते सम्झौता गरेको प्रालिले २०७८ माघ २० गते निर्माण सम्पन्न गरेको थियो । पुलको सम्झौता ५ करोड २८ लाख ७८ हजार १०३ मा भएको थियो । तर भ्यारिएशनसहित कायम सम्झौता ५ करोड ५५ लाख ८ हजार ९७५ भएको थियो भने जम्मा भुक्तानी रकम ५ करोड ६६ लाख ८२ हजार ७१२ रहेको पुर्वाधार विकास कार्यालय मोरङले जानकारी दिएको छ ।

भिडियो: