धरान: धरान उपमहानगरपालिका वडा नं २ स्थित भानुचोकमा लाग्दै आएको सस्तो बजार स्थानान्तरण गर्ने माग भएपछि शुक्रबार वडा कार्यालयले सम्बन्धित व्यापारीहरुसँग छलफल गरेको छ । 

उक्त छलफलमा सहभागी सस्तो बजारका व्यापारीहरुले दुई दशक बढी समयदेखि आफुहरुले व्यापार गर्दै आएकोले अन्त कतै पनि नसर्ने अडान राखेका छन् । आफुहरुले निम्न आर्थिक अवस्थाका मानिसहरुको लागि सस्तोमा खाजा र कपडा उपलब्ध गराईरहेको पनि उनीहरुको भनाई थियो । अघिल्लो दिन (बिहिबार) भने व्यापारीहरुको अर्को समुहले भानुचोकको सस्तो बजार र सोमबारे हटियालाई पनि करको दायरामा ल्याएर उपयुक्त स्थानमा स्थानान्तरण गर्न माग गर्दै उपमहानगरपालिका, वडा १२ को कार्यालय र वडा २ को कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो ।

sasto bajar2 copy

धरान १२ स्थित अनाम बजारमा प्रत्येक सोमबार लत्ता कपडाको हटिया लाग्ने गरेको छ । उक्त हटियामा धरान बाहिरबाट व्यापारीहरु आएर सस्तोमा सामान बिक्री गर्ने र लाखौंको कारोबार गर्ने गरेका छन् । उक्त हटियामा आएका व्यापारीहरुसँग स्थानीय युवाहरुले ५ सय रुपैया उठाउने गरेका छन् । उनीहरुले उपमहानगरपालिकामा भने प्रतिव्यापारी ५० रुपैया मात्र बुझाउने गरेका छन् । भानुचोकको सस्तो बजार भने हरेक दिन दिउँसो ४ बजे पछि लाग्ने गरेको छ । सोमबारे हटिया र भानुचोकको सस्तो बजारले भाडा तिर्नु नपर्ने, करको दायरामा पनि नआउने भएकोले कोठा भाडामा लिएर लगानी गरेको पसलहरुलाई ठुलो असर भइरहेको भन्दै ती व्यापारीहरुले भने विरोध जनाउदै आएका छन् ।

वडा नं २ का अध्यक्ष रमेश राई पनि सस्तो बजार हटाउन नहुने पक्षमा छन् । यद्यपी उनले सस्तो बजारलाई व्यवस्थित गर्दै लैजानुपर्ने बताएका छन् । यसअघि पनि मापदण्ड तयार गरिसकेकोले त्यसलाई सबै व्यापारीहरुले पालना गर्नुपर्ने पनि अध्यक्ष राईले बताए । उनले भानुचोकमा रात्रीकालिन बजार सञ्चालन गर्ने योजना रहेको पनि बताए । भानुचोकको बसपार्क स्थानान्तरण भएपछि बेलुका ट्याक्सी स्टेण्डमा रात्रीकालिन बजार सञ्चालन गर्ने बताए । 

sasto bajar copy

सस्तो बजारकी व्यापारी पुष्पा राईले आफुहरुको व्यावसाय निम्न वर्गहरुको लागि भएको बताइन् । आफुहरुको पसलमा किनमेल गर्न आउने ग्राहकहरु फेन्सि पसलमा गएर कपडा किनमेल गर्न र स्तरीय होटल, रेष्टुरेष्टमा गएर खान नसक्नेहरु भएकोले असर नपर्ने बताइन् । सस्तो बजारका व्यापारीहरुले दैनिकरुपमा बहाल बिटौरी कर ५५ रुपैया तिरिरहेको पनि उनले बताइन् । ‘धनीहरुको लागि मात्र होइन, निम्न आर्थिक आय भएकाहरुका लागि पनि धरानमा बजार छ भन्ने सन्देश पुगेको छ,’उनले भनिन्,‘हामी पनि यही बजारको भरमा घरव्यवहार चलेको छ, त्यसैले यो बजार हट्नु हुन्न ।’

भिडियो:

भिडियो:

भिडियो: