धरानः नेपाली कांग्रेसले ग्रीन एण्ड क्लीन धरान अभियान मार्फत शुरु गरेको घरदैलो कार्यक्रम समापन गरेको छ । 

कांग्रेसले ४२ औं वी.पी. स्मृति दिवसको अवसर पारेर धरान १९ वाट शुरु गरेको अभियान धरानको १ नं. वडामा पुगेर समापन गरेको हो । यो अभियान नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १ सुनसरीले गरेको थियो । समापन कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले अभियानको उच्च प्रशंसा गरे । उनले यो ग्रीन एण्ड क्लीन धरान अभियान यसअघि केन्द्रीय समितिले सञ्चालन गरेको घरघर जाउँ कांग्रेस जिताउँ अभियानको उन्नत र परिस्कृत रुप भएको बताए । 

महामन्त्री थापाले खानेपानी महशुल वृद्धि नगर्ने सहमति कार्यान्वयन नभएको इङ्गित गर्दै सहमति, सहकार्य र एकता गर्नुपर्ने राजनीतिक परिस्थिति विद्यमान रहेको बताए । साथै उनले धरान नगर नेतृत्वले समेत सहमति बमोजिम धरानलाई अगाडि बढाउनुपर्ने सुझाव पनि दिए । 

यो अभियान मार्फत कागती, अम्वक, सरिफा, वेल, अमला, तेजपत्ता, एभोगार्डो, धुपी, पारिजात, कफी लगायतका ७ हजार बढि विरुवाहरु वितरण गरिएको कांग्रेस क्षेत्रीय सभापति एवं अभियान संयोजक सुजेन्द्र गोले तामाङले जानकारी दिए । उनका अनुसार अभियानकै क्रममा सडक सरसफाई र डेङ्गु लार्भा नष्ट तथा डेङ्गु सम्बन्धि सचेतना पर्चा वितरण गरिनुका साथै डेङ्गु विरामीहरुलाई सिटामोल र जीवन जल समेत वितरण गरिएको थियो । 

congress1

गत वर्ष धरानका सबै वडाहरुमा गरिएको अभियान यस वर्ष वडा नं. १, ६, ८, १०, ११, १४, १५, १६, १८ र १९ गरी १० वटा वडामा गरिएको छ । अभियानका संयोजक एवं क्षेत्रीय सभापति तामाङले अभियान लोकप्रिय र प्रभावकारी भएकोले गत वर्ष पुग्न नसकिएको टोल वस्तीहरुमा पुग्ने लक्ष्यका साथ पुनः सञ्चालन गरिएको थियो । अभियानले जनतासंग साक्षात्कार गराएको तथा पार्टी र जनता वीचको सम्बन्ध सुदृढ बनाएको पनि उनले बताए । घरघरमा हरियाली प्रर्वद्धन, सरसफाई र डेङ्गु रोगबारे सचेतना अभिवृद्धि भएको पनि उनको भनाई छ । 

समापन कार्यक्रममा अभियानमा निरन्तर उत्साहपूर्वक सक्रियताका साथ खट्ने, जिम्मेवारी वहन गर्ने, सहयोग एवम् सहकार्य गर्ने वडा र व्यक्तिहरु तथा मिडियाकर्मीहरुलाई उनीहरुको योगदानको उच्च मूल्यांकन गर्दै प्रमुख अतिथि थापाले प्रमाण–पत्र समेत प्रदान गरेका थिए ।  

congress2

नेपाली कांग्रेस सुनसरीको १ नं. प्रतिनिधिसभा क्षेत्र कार्यसमितिको आयोजना तथा धरान नगर समिति, प्रदेशसभा १(१) र १(२) समितिको संयोजन र नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको सहकार्य एवम् सम्बन्धित वडा कार्यसमितिको स्थानीय व्यवस्थापनमा अभियान सम्पन्न गरिएको क्षेत्रीय सहसचिव सुमित राईले बताए । 

अभियान समापनमा प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, नगर सभापति श्याम पोखरेल, महासमिति सदस्य श्यामा रेग्मी, महाधिवेशन प्रतिनिधि चित्रकुमारी राई, ललतिा अधिकारी लगायत नेपाली कांग्रेस पार्टी र भातृ एवम् शुभेच्छुक संघसंस्थाका नेता तथा कार्यकर्ता र वडावासीहरुको सहभागिता रहेको थियो ।