धरान: मुस्लिम इत्तेहाद संगठन सुनसरीको चौथो जिल्ला अधिवेशनले तुफेल अहमद अन्सारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ।

अधिवेशनबाट सुनसरी इत्तेहादको उपाध्यक्षमा मो. एजाजुल (गढी), सचिवमा आकिब हुसेन (इटहरी), उपसचिवद्वयमा सफालुद्दिन मिया (भोक्राहा) र मुस्ताक आलम (दुहबी) निर्वाचित भएका छन् । अधिवेशनले २५ जना सदस्यसमेत निर्वाचित गरेको छ ।

इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सेराज अहमद फारुकीको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो । यस्तै, सुनसरी एमाले जिल्ला ईञ्चार्ज तथा पूर्व मन्त्री जगदिशप्रसाद कुसियत, पार्टी केन्द्रीय सदस्य तथा इत्तेहादका महासचिव तैयब हुसेन, एमाले नेता तथा पूर्वमन्त्री जाकिर हुसैन र प्रदेश सदस्यद्वय लश्करी अन्सारी, आबिद हुसेन र इत्तेहाद जिल्ला ईञ्चार्ज अफाक अहमदको पहलमा सहमति भएको हो । 

नेपाल मुस्लिम इत्तेहाद संगठन नेकपा एमालेको भातृसंगठन हो । २०४८ सालमा नजीर मियाँको अध्यक्षतामा यसको स्थापना भएको थियो । यो नेपालमा पहिलो अर्द्ध राजनीतिक संगठन हो ।