धरान: उपेन्द्र यादव र अशोक राईबीचको विवादले जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएपछि उक्त पार्टीबाट निराश बनेका युवाहरुको ठुलो पंक्ति नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् ।

जसपा सम्बद्ध समाजवादी युवा संघका केन्द्रीय सचिव श्री सुब्बा माओवादीमा प्रवेश गरिसकेका छन् । उनकै नेतृत्वमा कोशी प्रदेशका युवाहरु सामुहिकरुपमा मंगगलबार माओवादी प्रवेश गर्दैछन् । वाइसिएलले सोमबार पत्रकार सम्मेलन गरि धरान १५ स्थित इजी राइडर होटलमा कार्यक्रम आयोजना गरि जसपाका युवाहरुलाई स्वागत गर्ने जानकारी दिएको छ ।

माओवादीका प्रदेश १ का सहइञ्चार्ज सावित्रीकुमार काफ्लेको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा ८ सयदेखि एक हजार युवाहरु प्रवेश गर्ने नेता मुक्साहाङ मेन्याङ्वोले जानकारी दिए । माओवादी केन्द्र सरकारबाट बाहिरिए पनि सुशासन, भ्रष्टचारविरोधी अभियानको कारण जनतामा आकर्षण बढेको उनले बताए ।

‘माओवादी सरकारबाट बाहिरिएपछि कांग्रेस र एमालेको समिकरणमा नयाँ सरकार बन्यो, तर यो सरकारले जनतालाई निराश बनाएको छ,’ माओवादीका केन्द्रीय सदस्य मेन्याङ्बोले भने,‘माओवादी नेतृत्वले देशमा चलाएको सुशासन, भ्रष्टचारविरोधी अभियान, विकास र समृद्धिको गति, आर्थिक संकट विस्तारै हटाउदै गएको कारण जनतामा आशा जागेको थियो ।’

वर्तमान सरकारले सुशासन कायम गर्न र भ्रष्टचारविरोधी अभियान सञ्चालन गर्न नसकेको कारण जनता निराश बनेकै कारण जसपाका युवाहरु माओवादी प्रवेश गर्न लागेको पनि मेन्याङ्बोले बताए । ‘उहाँहरु केही पाउने आशाले पार्टी प्रवेश गर्न लागेको होइन । केही पाउने आशा भए त सरकारमा भएको बेला नै प्रवेश गर्नुहुन्थ्यो,’मेन्याङ्बोले भने,‘अहिले हाम्रो पार्टी सरकारबाट बाहिरिएको छ, यो बेला उहाँहरुले केही पनि फाइदा पाउनुहुन्न ।’ ती युवाहरुलाई वाइसिएलमा सम्मानजनकरुपमा जिम्मेवारी दिइने पनि उनले बताए । 

माओवादीमा प्रवेश गरेको जसपाको समाजवादी युवा संघका केन्द्रीय सचिव श्री सुब्बाले कम्तीमा ८ सयदेखि १ हजार युवाहरु प्रवेश गर्ने लक्ष्य राखेको बताए । उनका अनुसार सुनसरी, मोरङ र उदयपुरबाट मुखय युवाहरु टिम प्रवेश गर्नेछन् भने इलाम, ताप्लेजुङ, धनकुटा र संखुवासभाबाट प्रतिनिधिमुलक युवाहरु प्रवेश गर्नेछन् । यसअघि झापामा युवाहरु प्रवेश गरिसकेको पनि उनले जानकारी दिए । 

सुब्बा अनुसार जसपा विभाजित भएपछि संघीयता र पहिचानको मुद्दा कमजोर भएको बताए । माओवादीकै कारण पहिचान र संघीयताको मुद्दा व्यापकरुपमा उठेकोले सोही पार्टीबाट पहिचानको मुद्दा स्थापित गर्न सकिन्छ भन्ने विश्वास लिएर प्रवेश गरेको पनि उनले बताए ।