धरान: भदौ १३ गतेको बर्षा पछि खहरेहरुमा आएको बाढीले धरानमा सबै भन्दा बढी वडा नं १३ मा भौतिक क्षति पुगेको छ । 

वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेका अनुसार २ करोड ७६ लाख हाराहारीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । उनका अनुसार लक्ष्मी चोकदेखि किरात राई यायोकखा भवन, सत्यसाई स्कुल माथि आर्मी क्याम्पको खोल्सी, सुर्य मार्ग मुनि क्षति पुगेको छ । ‘५ वटा घर क्षति पुगेको छ । अन्य पनि धेरै जोखिम छ,’ उनले भने,‘ खानेपानी तथा सिचाई मन्त्री आएर अनुगमन गरेपछि समन्वय गरेर अनाम टोलमा पुर्ननिर्माणको काम भइरहेको छ ।’

अध्यक्ष काफ्लेका अनाम टोलमा प्लम वाल उठाउने काम भइरहेको छ । बाटो पनि क्षति भएकोले बनाउनुपर्नेछ । प्रदेश सरकारबाट बजेट सुनिश्चित नभए भविष्यमा कुनै योजना काटेर भएपनि त्यहाँ काम गर्नुपर्ने उनले बताए । ‘नगरपालिकाबाट जे जति सहयोग हुनुपर्ने हो भएको छैन । वडाले ग्याबिङ, ढुंगा केही पनि पाएको छैन, वडा सँगै रहेको स्वास्थ्य चौकी पनि जोखिम छ,’उनले भने ।

बर्षा र खहरेको बाढीले धरानमा एक जना विद्यार्थीलाई बगाएर मृत्यु भएको थियो भने सडक, ड्रेन, घरहरुमा पनि क्षति पुगेको थियो । भदौ १६ गते प्रदेश सरकारका खानेपानी तथा सिचाई मन्त्री एकराज कार्कीसहित सचिव, सिचाई कार्यालय सुनसरी, प्रदेश सांसदहरु पनि अनुगमनमा आएका थिए । त्यसबेला नै अनाम टोलमा तत्काल निर्माण गर्नु भन्ने आदेश आएकोले हाल पुर्ननिर्माणको काम भइरहेको वडाका सामाजिक अगुवा घनश्याम तिम्सिनाले बताए । 

उनका अनुसार निर्माण कार्य शुरु गरेकोपछि पनि बिहिबार बर्षा र बाढी आएपछि संरचना बगाएर क्षति भएको थियो । हिजो शुक्रबार पनि बाढी आएर क्षति होला भनेर काम रोकिएको थियो भने आज शनिबार पुनः निर्माण कार्य शुरु गरिएको उनले बताए । ‘अस्ति बिहिबार सेटिङ, मसला, ढुंगा सबै बगायो, त्यसैले हिजो काम गरिएन, आज भने मौसमले साथ दियो,’ उनले भने,‘बेस फाउण्डेशन सकियो । २७ मिटर लामो छ । ४ फिट गहराईको छ । जमिन लेभलको साढे ३ मिटर प्लम वाल हो ।’ निर्माण कार्य ग्रेट गौरा कन्स्ट्रक्सन धरान १३ का पुर्णबहादुर राईले गरिरहेका छन् ।