धरान: नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिचाईमन्त्री दिपक खड्काले वर्तमान कांग्रेस एमालेको गठबन्धनले सरकार आगामी निर्वाचनसम्म निरन्तरता पाउने बताएका छन् ।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति १ सुनसरीले बुधबार सुनसरी उद्योग वाणिज्य संघको हलमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रियामा मन्त्री खड्काले यस्तो बताएका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री खड्काले अस्थीरताले विगतका सरकारहरुले अपेक्षा अनुसार काम गर्न नसकेको पनि बताए । ‘यो सरकारको आगामी निर्वाचनसम्म निरन्तरता रहन्छ, यसको विकल्प छैन,’ उनले भने,‘यो स्थायी सरकार हो ।’

मन्त्री खड्काले वर्तमान सरकारले आश्वासन नबाडि ठोस ठोस काम मात्र गर्ने पनि बताए । उनले अुधरा रहेका सबसै आयोजनाहरुलाई सञ्चालन गर्ने पनि बताए । एक बर्षमा देशभरका सबै घरमा विजुली पुर्याउने लक्ष्य सरकारले राखेको पनि उल्लेख गरे । सरकारले गरिब, विपन्न, सिमान्तकृत वर्गलाई ध्यान दिएर काम गर्ने पनि मन्त्री खड्काले बताए ।

'निजी क्षेत्रलाई साथ, तर डेडिकेटेट ट्रंकलाइनको महशुल तिर्नुपर्छ' 

मन्त्री खड्काले उद्योगीहरुले डेडिकेटेट ट्रंकलाइनको विजुली महशुल तिर्नुपर्ने पनि बताए । केपी ओली नेतृत्वको वर्तमान सरकार बनेलगत्तै बक्यौता महशुल नतिरेका उद्योगीहरुलाई बिजुली जोड्न लगाएर अरबौं रुपैया छुट दिन लागेको भन्दै चर्को आलोचना खेप्नुपरेको थियो । 

dipak khadka copy

उर्जा मन्त्री खड्काले भने उद्योगहरुको लाइन काटेर रोजगारीमा लात हान्न हुदैन भन्ने मनसायले मात्र समय दिएर विद्युत सुचारु गरेको बताए । डेडिकेटेट ट्रंकलाइनबाट विजुली उपभोग गरेका उद्योगहरुबाट वर्तमान सरकारले महशुल असुल गर्ने मन्त्री खड्काले बताए । ‘निजी क्षेत्रलाई साथ लिएर सरकार काम गर्न चाहन्छ । म स्वयम पनि निजी क्षेत्रकै मान्छे हुँ,’ उनले भने,‘सबै इमान्दार बन्नुपर्छ । उद्योगहरुले पनि बिजुली उपभोग गरेपछि तिर्नुपर्छ । महशुल राज्यले उठाउछ, कति उठाउने भन्ने मात्र हो ।’

मन्त्री खड्काले हाल लेखा समितिले यो बिषयलाई हेरिरहेको कारण मात्र आफु चुप लागेको पनि बताए । उनले उद्योगीहरुलाई इमान्दार हुन आग्रह गर्दै जति प्रयोग गरेको हो, त्यसको महशुल तिर्न आग्रह पनि गरे । साथै उनले विद्युत प्राधिकारणलाई पनि उद्योगीहरुलाई पत्र पठाएर मात्र नभै कति प्रयोग गरेको हो, स्पष्ट पार्न भनेको पनि बताए । यस्तै, धरानको समस्या र उद्योगीहरुको समस्याबारे उनले समाधानको पहल गर्ने पनि बताएका थिए ।

नदी, खोला र खहरे नियन्त्रण, हाइटेन्सन लाइन व्यवस्थापन गर्न माग

नेपाली कांग्रेस क्षेत्र नं १ सुनसरी, प्रदेशसभा १(१), प्रदेशसभा १(२) र धरान उपमहानगरपालिका कार्यसमितिले उर्जा, जलस्रोत तथा सिचाई मन्त्री खड्कालाई विभिन्न माग राखेर ज्ञापन पत्र बुझाएको छ । 

dipak khadka3 copy

वडा नं ४, २०, ५, ६ र १७ का केही भाग कृषि क्षेत्रकोरुपमा पनि रहेकोले सिचाईको व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको ज्ञापन पत्रमा उल्लेख छ । यस्तै, बर्षामा धरानका खोला र खहरेबाट धेरै क्षति हुने गरेकोले साथै स्थानीय र प्रदेश सरकारको प्रयासले मात्र नियन्त्रण सम्भव नभएकोले केन्द्र सरकारले बजेट विनियोजन गरिदिन माग गरिएको छ । भदौ १३ गतेको बर्षा र बाढीले धरानको विभिन्न वडामा भएको क्षतिको पुर्ननिर्माणसहित खोला, खहरे नियन्त्रण गर्न १३ करोड ३७ लाख ६३ हजार रकम लाग्ने पनि उल्लेख गरिएको छ ।

यसैगरि, हाइन्टेन्सन लाइन भएको स्थानमा घना बस्ती भइसकेको र धेरै धनजनको क्षतिको जोखिम पनि भएकोले उपयुक्त स्थानामा स्थान्तरण गर्न पनि मन्त्री खड्कालाई आग्रह गरिएको छ । यसको लागि सेउती र सर्दु करिडोरको अवधारणालाई मुर्तरुप दिन पनि आग्रह गरिएको छ । साथै, यसअघि समस्या समाधान गर्न बनेको समितिले बुझाएको प्रतिवेदन अनुसार पनि हाइटेन्सन लाइन स्थान्तरण गर्न सकिने मन्त्री खड्कालाई जानकारी गराइएको थियो । यसैगरि, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले पनि उद्योगीहरुले भोगिरहेको बिजुलीको समस्याबारे ज्ञापन पत्र बुझाएका थिए ।