धरान: धरान उपमहानगरपालिकाले विभिन्न शिर्षकमा वृद्धि गरेको कर संशोधन गर्न बिशेष नगरसभा आह्वानको माग गरिएको छ ।

बिहिबार बसेको कार्यपालिका बैठकमै कार्यपालिका सदस्य दिनेश गजमेरले कर सशोधनको प्रस्ताव राख्दै बिशेष नगरसभा आह्वानको माग गरेका हुन् । बैठकको एजेण्डा सकिएपछि विविधमा प्रवेश गर्नुअघि गजमेरले उक्त प्रस्ताव राखेका थिए । यद्यपी उनको प्रस्ताव औपचारिकरुपमा बैठकमा छलफल र निर्णय हुन सकेन । उनले यो बिषय अघिल्लो कार्यपालिका बैठकमा पनि राखेका थिए । त्यसबेला नै उनले नगरसभाबाट कर वृद्धिको प्रस्ताव पास गरेकोमा नगरसभा सदस्यको नाताले क्षमायाचना पनि गरिसकेका थिए ।

गजमेरका अनुसार उनले कार्यपालिका बैठकमा एजेण्डा समावेश गर्न माग गर्दै हिजो (बुधबार) नै मेयर हर्कराज राई (साम्पाङ)लाई लिखितरुपमा बुझाएका थिए । तर, बिहिबार बैठकमा भने उनको एजेण्डा समावेश भएको थिएन । ‘कर वृद्धिको प्रस्ताव नगरसभाबाट पास गर्यौ, मैले गल्ती गरेछु भनेर क्षमायचना गरिसकेको छु । नगरसभाले करवृद्धि पास गरेपनि जनताले विरोध गरिरहेका छन्,’उनले भने,‘सरसफाई, व्यवसाय, वहाल कर र सम्पत्ति कर वृद्धि भएको छ, यो कर संशोधनको प्रस्ताव राख्न चाहन्छु । यसको लागि बिशेष नगरसभा आह्वान गरेर कुन कुन शिर्षकमा बढेको छ, सरोकारवालासँग छलफल गर्नुपर्छ ।’

मेयर साम्पाङले विभिन्न समितिबाट पास हुदै सबैको मनोभावना समेटेर सबैले नगरसभाबाट बजेट पारित भएर रातो किताब पनि प्रकाशित भइसकेकोले संशोधन हुने सम्भावना नरहेको बताए । तर यो घटनाबाट पाठ सिकेर आगामी बर्ष सजगता अपनाउनुपर्ने उनले बताए । 

यस्तै, बैठकमा अर्का कार्यपालिका सदस्य विकास भाटीले विभिन्न बिषयगत समितिहरु पनि गठन गर्न र कार्यपालिका सदस्यहरुलाई पनि जिम्मेवारी दिन माग गरेका छन् । उनले यो माग आफ्नो अन्तिमपटक भएको र भविष्यमा कुनै पनि समितिमा राख्न भनेर आग्रह नगर्ने पनि बताए । 

साथै भाटीले भुमिका एवं जिम्मेवारीविहिन हुने कार्यपालिका सदस्य पद नराख्न पनि नेपाल सरकारलाई आग्रह गरेका थिए । कार्यपालिका सदस्यहरु निवार्चित गरेर राष्ट्रको ढुकुटीबाट खर्च मात्र बढाएको उनको भनाई छ । उनले विगतमा नै पटक पटक खेलकुद विकास समिति, सहकारी विकास समिति, दलित विकास समिति, आदिबासी जनजाति विकास समिति, प्रज्ञा प्रतिष्ठानलगायत समितिहरु गठन गर्न माग गरेको भएपनि सम्बोधन नभएको बताए ।

भिडियो: