धरान: सस्तो बजारको नाममा धरानमा दशैं तिहारमा रमाइलो मेला लगाउन गरिएको प्रस्ताव कार्यपालिका बैठकबाट पारित भएन ।

बिहिबार बसेको कार्यपालिका बैठकमा सस्तो दशैं बजार तथा रमाइलो मेला लगाउने एजेण्डा पारित नभएको हो । बैठकमा मेयर हर्कराज राई (साम्पाङ)ले वडादशैं र तिहारको बेला नगरबासीलाई सहुलियत मुल्यमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराउन र मनोरञ्जन प्रदान गर्न ३० दिन सस्तो बजार तथा रमाइलो मेला सञ्चालन अनुमतिको प्रस्ताव पेश गरेका थिए । 

उक्त प्रस्तावमा प्रदेश सरकारले तोकेको मनोरञ्जन कर दैनिक २० हजारको दरले छुट्टै बुझाउने (कुल ६ लाख) र अनुमति तथा फोहोरमैला व्यवस्थापन वापत ४४ लाख न्युनतम रकममा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्न धरानका क्रियाशिल संस्थाहरुबाट प्रतिस्पर्धा गराई व्यवस्थापक तथा सञ्चालन छनौट गर्ने उल्लेख थियो । मेयरले यो प्रस्ताव केही वडाअध्यक्षहरुसँग छलफल गरेर नै ल्याएको बताए पनि बैठकबाट पारित भएन ।

वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले कम्तीमा ५० लाख कर लिएर मेला लगाउन दिदा जनतालाई नै महंगीको मार पर्ने भन्दै विरोध जनाए । कार्यपालिका सदस्य सृर्जना नेपालले धरानमा हत्यासम्मको घटना भएर असुरक्षा बढीरहेको बेला मेलाको झमेलामा स्थानीय सरकार र जनप्रतिनिधि फस्न हुन्न भन्दै विरोध जनाइन् । 

karyapalika1 copy

अर्का कार्यपालिका सदस्य विकास भाटीले सप्तरंगीको पार्कमा बषैभरि रमाइलो मेला हुने गरि डिपिआर बनिसकेकोले त्यता ध्यान दिन आग्रह गर्दै अपेक्षा गरेको सस्तो बजारभन्दा फरक तरिकाले एजेण्डा आएको बताए । वडा नं १६ का अध्यक्ष मुरारी भट्टराईले मेला आयोजनाको प्रस्ताव गरिएको स्थान रंगशाला आसपासका जनताले पनि चर्को ध्वनी प्रदुषण हुने भन्दै विरोध जनाइरहेको र मेला लाग्ने भएमा अदालतमा जाने चेतावनी पनि दिएकोले एजेण्डाको पक्षमा नरहेको बताएका थिए ।

मेयर साम्पाङले भने बजेटमा नै विभिन्न करलाई आम्दानीमा बाँधेको र सोही अनुसार योजना, कार्यक्रमहरु पनि परेकोले ती योजना कार्यान्वयन गर्न मेला सञ्चालन अनुमति दिएर मनोरञ्जन कर लिन आवश्यक भएको जिकिर गरेका थिए । बैठकबाट भने मेला सञ्चालन अनुमतिको प्रस्ताव पारित हुन नसके पनि मेयर साम्पाङले उक्त एजेण्डा खारेज भने गरेनन् । 

धरानमा विगतमा दशैं तिहारको बेला करिब एक महिना मेला लाग्ने गरेको थियो । मेला लगाउन राजनीतिक दलका युवाहरुबीच हानाथाप हुन्थ्यो । मेलाबाट करोडौं कमाई हुने भएकोले सञ्चालन हत्याउन युवाहरुबीच नै झडप हुन थालेपछि मेला बन्द भएको थियो । यसपाली मेयर साम्पाङले मेला लगाउने प्रस्ताव ल्याएपनि पारित हुन सकेन ।

भिडियो: