विराटनगरः कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ । 

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तापक्षको संयुक्त संसदीय दलको बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न ६ सदस्यीय कार्यदल गठन गरेको हो । काँग्रेस र एमालेको कोशी प्रदेश संसदीय दलको संयुक्त बैठकले गठन गरेको कार्यदलमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानासहित नेकपा एमालेको तर्फबाट कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक रहेका छन् । 

यस्तै काँग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई, संसदीय दलका उपनेता हिमाल कार्की र प्रमुख सचेतक गोपाल तामाङ कार्यदलमा रहेका छन् । कार्यदललाई कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न असोज २३ गतेसम्मको समय दिइएको नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्री तथा काँग्रेस संसदीय दलका नेता उद्धव थापा, एमाले उपनेता तील कुमार मेयाङ्बो लगायतको उपस्थिति रहेको थियो ।