धरान: किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको १० औं अधिवेशन धरानमा शुरु भएको छ ।

धरान १० स्थित यलम्बर स्मृति संग्राहलय भवनमा शुक्रबार शुरु भएको अधिवेशनको शनिबारसम्म हुनेछ । उद्घाटन सत्रको प्रमुख अतिथि धरानका मेयर हर्कराज राई (साम्पाङ) रहेका थिए । शुक्रबार उद्घाटन सत्रमा मेयर साम्पाङले आफ्नो हक, अधिकार संरक्षण गर्न संगठित हुनुपर्ने बताए । उनले किरात सभ्यता र सँस्कृतिको जर्गेना गर्ने उद्देश्यले सुम्मिना पारुहाङको प्रतिमा निर्माणको अभियान शुरु गरेको उल्लेख गर्दै सहयोग गर्न यायोक्खालाई आह्वान पनि गरे । 

बिशेष अतिथि एवं यायोक्खा केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राईले किरात राईहरु आफ्नो मुद्दामा स्पष्ट र संगठित हुनुपर्ने बताए । उनले कला, सँस्कृति जोगाउन साकेला नाच्नुपर्ने र आफ्नो मुद्दामा पनि सचेत हुनुपर्ने धारणा राखे । यायोक्खाका प्रदेश कमिटी सदस्य तथा सुनसरी इञ्चार्ज मानभगत चाम्लिङले कमिटीमा बस्ने सदस्यहरु संस्थाप्रति प्रतिवद्ध र जिम्मेवारी पुरा गर्ने मात्र नेतृत्वमा आउनुपर्ने बताए ।

यायोक्खा जिल्ला अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा आयोजित कार्यक्रममा यायोक्खा सुनसरीका पुर्वअध्यक्ष वलराम राईलाई सम्मान पनि गरिएको थियो । उद्घाटन सत्र पछि बन्द सत्रमा संस्थाको सांगठनिक तथा आर्थिक प्रतिवेदनमा छलफल भएको थियो । शनिबार हुने बन्दसत्रबाट नयाँ कार्यसमिति चयन हुनेछ ।