धरान: आन्तरिक उत्पादनको प्रर्वद्धन र निकासीमा योगदान पुर्याउने लक्ष्य लिएर आगामी माघ अन्तिम सातादेखि धरानमा बिजनेस एक्स्पो २०८१ हुने भएको छ । 

नेपाल उद्योग तथा व्यवसायी महासंघ धरान उपमहानगर कमिटिको आयोजनामा माघ २६ देखि फागुन १० गतेसम्म एक्स्पो हुने भएको हो । आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै एक्स्पो धरान १६ स्थित रंगशालामा हुने जनाएको छ । महासंघका अध्यक्ष शिवराज श्रेष्ठका अनुसा कोशी प्रदेशमा रहेका उद्योगी, व्यवसायीहरुको व्यापार प्रवर्द्धन तथा उत्पादक र उपभोक्तलाई एकै ठाउँमा ल्याउने उद्देश्यले पहिलो पटक बिजनेश एक्स्पो गर्न लागेको हो ।  

एक्स्पोमा औद्योगिक प्रदर्शनी तथा खरिद बिक्री पनि रहनेछ । कृषि उत्पादनका वस्तुहरु र दैनिक उपभोग्य वस्तुका सामग्रीहरु पनि प्रदर्शनी र बिक्री दुवै हुनेछ । कुल १५ दिनसम्म सञ्चालन हुने एक्स्पोमा सांस्कृतिक साँझ साथै शैक्षिक प्रदर्शनी, ,पर्यटकीय भ्रमण पनि हुने अध्यक्ष श्रेष्ठले बताए । 

एक्स्पोमा विशेष आकर्षण गार्मेन्टका तयारी पोसाक, जुत्ता चप्पल हुनेछ भने जानकारी तथा प्रदर्शनीका लागि निर्माण सामग्री, कृषि औजार, ईलेक्ट्रोनिक सामग्रीको प्रदर्शनी पनि रहनेछ । साथै अटोमोबाईल प्रदर्शनी पनि रहने आयोजकले जानकारी दिएको छ । 

कुल ३५० स्टल रहने एक्स्पोमा स्थानीय उत्पादनलाई प्रोत्साहन स्वरुप १० वटा स्टल निःशुल्क दिने महासंघका अध्यक्ष श्रेष्ठले बताए । एक्स्पो व्यवसायिक प्रबर्दन गर्न मात्रै होईन, बाल उद्दानमा रोटेपिङ लगायत मनोरञ्जनका साधनहरु पनि राखिने उनले बताए । 

आयोजकले एस्क्पो अवधिभर करिब १० लाखको संख्याले अवलोकन गर्ने अनुमान गरेको छ । साथै, २० करोड बराबरको कारोबार गर्ने पनि अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताए । बिजनेस एक्स्पोको अनुमानित खर्च १ करोड ७७ लाख ५० हजार अनुमान आयोजक महासंघले गरेको छ ।