धरान: धरान वडा नं ४ स्थित खैरेनीटारमा एक महिना कला क्याम्प आयोजना हुने भएको छ । 

वडा नं ४ को कार्यालयको आयोजना र रोजन आर्ट स्टुडियोको संयोजक तथा सहकार्यमा पुष १० गतेदेखि एक महिनाको कला क्याम्प हुन लागेको हो । आयोजक ४ नम्बर वडा कार्यालयले बुधबार खैरेनीटारमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी दिएको हो । खैरेनीटारस्थित क्याम्प हुने स्थानमा प्रदेशका मुर्तिकारहरुलाई आमन्त्रण गरिने र एक महिनासम्म खान, बस्न र यातायातको व्यवस्था गर्ने वडा नं ४ का अध्यक्ष धनबहादुर राईले जानकारी दिए । 

कलाकारहरुले ढुंगामा आफ्नो कला कौशल प्रर्दशन गर्ने बताइएको छ । कला क्याम्पको लागि ढुंगाहरु पनि खोजेर ल्याइएको छ भने कलाकारहरुले कुँदेका ढुंगाहरुलाई सोही स्थानमा राखेर ढुंगे कला पार्ककोरुपमा सजाउने पनि अध्यक्ष राईले बताए । कला संयोजक तथा रोजन आर्ट स्टुडियोका संस्थापक रोजन राईले कला क्याम्पमा सबै मुर्तिकार (कलाकार)हरुले शुल्क नलिई श्रदमदान गर्ने बताए ।

कला क्याम्पमा कुलमान घिसिङ, सन्दुक रुइत र महाविर पुन जस्ता ख्यातीप्राप्त व्यक्तित्वहरुको सांकेतिक मुर्ति पनि कुदिने उनले बताए । श्रम सँस्कृति पार्कमा श्रमदानबाट कला, कृति बनाउने कार्य सकिदै गएकोले अब अन्यत्र पनि विस्तार गरिने कलाकार राईको भनाई छ । कलाकारहरुलाई राजनीतिसँग सरोकार नहुने भएकोले अन्य वडाहरुले पनि उनीहरुलाई सदुपयोग गर्नुपर्ने उनले बताए । अन्य वडाहरुले पनि खाली रहेको जग्गामा कला पार्क बनाउनेतर्फ ध्यान दिन उनले आग्रह पनि गरे । 

कला क्याम्प हुने क्षेत्रलाई वडा नं ४ ले तारघेरा गरेर संरक्षण गरेको छ । विगतमा उक्त क्षेत्र फोहोरको डंगुरले दुर्गन्धित रहेको थियो । वडा कार्यालय झाडी फाडेर प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत उक्त क्षेत्र सफाई गरेर ढुंगे कला पार्क बनाउन तयार गरेको हो । कला क्याम्पको व्यवस्थापनको जिम्मेवारीमा पत्रकार भैरव आङ्ला रहेका छन् । 

भिडियो: