धरान: आधुनिक धरान शहर स्थापना भएको १२४ औं बर्षको अवसरमा यही पुष २० गतेदेखि पाँच दिने धरान डे उत्सव हुने भएको छ ।
धरान उपमहानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै पुष २० गतेदेखि २४ गतेसम्म धरान डे उत्सव आयोजना गर्ने जानकारी दिएको हो । धरान डेको बिशेष दिन पुष २० गते स्थानीय विदा दिइने पनि उपमहानगरपालिकाले जनाएको छ । धरान डे उत्सव आयोजना गर्न मेयर हर्कराज राई संयोजक र उपमेयर अइन्द्रबिक्रम बेघा सहसंयोजक रहेको मुल समारोह समिति र विभिन्न उपसमितिहरु पनि गठन गरिएको कार्यपालिका सदस्य तथा प्रचारप्रसार समिति संयोजक दिनेश गजमेरले जानकारी दिए ।
धरान डे उत्सव धरान १६ स्थित रंगशालाको दक्षिण पट्टीको खाली मैदानमा आयोजना हुनेछ । धरान डे अवसरमा ५ दिनसम्म विभिन्न साँस्कृतिक, खेलकुद, मनोरञ्जनात्मक तथा साहित्यिक, सांगीतिक कार्यक्रमहरु आयोजना गरिने पनि प्रचार संयोजक गजमेरले जानकारी दिए । यस्तै, उत्सवस्थलमा शैक्षिक, कला साहित्य, खाद्य प्रर्दशनी तथा बिक्री स्टलहरु पनि राखिनेछ ।
मेयर साम्पाङका अनुसार पुष २४ गतेसम्म उपमहागनरपालिकाले धरान डे मनाउनेछ भने त्यसपछि सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान एक्स्पो कार्यक्रम गर्ने सहमति भएको छ । धरान एक्स्पोबारे संघले अलग्गै पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ ।
धरान डे आयोजना अवधिभर विगतमा जस्तै प्रवेश निःशुल्क हुने र स्थानीय, घरेलु उत्पादनहरुको प्रर्दशनी तथा बिक्रीलाई प्राथमकिता दिइने उनले बताए । उक्त कार्यक्रम नगरबासीलाई मनोरञ्जन दिलाउने उद्देश्य रहेको उनको भनाई थियो ।
यस्तो छ कार्यक्रमको तालिका
पुष २० गते धरान उत्सव उद्घाटन कार्यक्रम हुनेछ । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरिनेछ । साँझमा साँस्कृतिक प्रस्तुती हुनेछ ।
पुष २१ गते बिहान ८ बजेदेखि साइक्लिङ हुनेछ भने दिउँसो इस्टर्न सिंङ्गिङ सुपर स्टार सिजन १ र साहित्यिक कार्यक्रम पनि हुनेछ । पुष २२ गते पनि इस्टर्न सिंङ्गिङ सुपर स्टार सिजन १ र लोक जुहारी कार्यक्रम हुनेछ भने पुष २३ गते बिहान वाकाथुन, दिउँसो इस्टर्न सिंङ्गिङ सुपर स्टार सिजन १, रस्सि तान र छेलो हान्ने प्रतियोगिता पनि आयोजना हुनेछ ।
अन्तिम दिन पुष २४ गते बिहान श्रमदाता र्याली हुनेछ भने दिउँसो साँस्कृतिक झाँकी प्रस्तुती, प्रशंसा पत्र वितरण र धन्यवाद ज्ञापन कार्यक्रम हुनेछ । प्रत्येक दिन साँझ ५ बजेदेखि राती १० बजेसम्म सांगीतिक तथा साँस्कृतिक कायृक्रम आयोजना हुने आयोजक मुल समारोहले जनाएको छ ।
भिडियो: