धरान: शुक्रबार सहकारीहरुको बिषयमा मेयर हर्कराज राई (साम्पाङ)ले गरेको पत्रकार सम्मेलनमा आर्थिक विकास महाशाखा प्रमुख भक्तिराज शर्माले प्रदेशस्तरको झरना सहकारीको उजुरी आएको सन्दर्भमा उद्यमशील सहकारीको पनि नाम लिएका थिए ।
सहकारीहरुप्रति आम जनताको विश्वास घट्दै गइरहेको बेला पनि धरानको उद्यमशीलमा भने अहिलेसम्म समस्या देखिएको छैन, जसले आफ्ना सेयर सदस्यहरुमाझ विश्वास कायमै राखेको छ । तर, शुक्रबार एक्कासी पत्रकार सम्मेलनमै शर्माले उजुरी परेको झरना सहकारीसँगै उद्यमशील सहकारीको नाम लिएपछि यसका सञ्चालक र सेयर सदस्यहरु अचम्मित मात्र भएनन्, आइतबार जवाफ खोज्दै शर्मालाई भेट्न पुगे ।
उद्यमशीलका सञ्चालक, व्यवस्थापन पक्ष जवाफ खोज्दै आएपछि शर्माले मेयर साम्पाङको अघि आफुले प्रसंगवश उद्यमशीलको पनि नाम लिनपुगेको भन्दै माफी मागे । उनले झरनाको मात्र उजुरी परेको प्रष्ट पार्दै उद्यमशीलको नाममा अहिलेसम्म उजुरी नपरेको र खराब सुचीमा पनि नभएको बताए । ‘झरना र उद्यमशील प्रदेशस्तरीय सहकारी हो, मैले ती सहकारीलाई नियमनकारी निकाय प्रदेश हो भन्न खोजेको थिए,’ उनले भने,‘उद्यमशीलको अहिलेसम्म खराब तथा उनजुरी परेको छैन । उद्यमशीलको नाम जोडिन गएकोमा क्षमाप्रर्थी छुँ, यो अभिव्यक्ति सच्याउन चाहन्छु ।’
उनले आफ्नो अभिव्यक्ति सच्याए पछि मेयर साम्पाङले शर्मालाई बोल्नुभन्दा पहिला राम्रो अध्ययन गर्न निर्देशन दिएका थिए । उद्यमशीलका व्यवस्थापक जित राउतले अन्य सहकारीसँग जोडर उद्यमशील पनि समस्यामा छ भन्ने खालको भ्रमपुर्ण अभिव्यक्ति आएकोले उक्त भ्रम चिर्न आइतबार उपमहानगरपालिका जानुपरेको बताए ।
‘के हो त भनेर भ्रम चिर्न गएका थियौं । उहाँले नै अन्य सहकारीजस्तो गलत होइन भनेर प्रष्ट पार्नुभयो, र मेयर ज्युकै अघि आफ्नो अभिव्यक्तिप्रति माफी पनि मागेर सच्याइसक्नुभयो,’ राउतले भने, ‘हामी सम्पुर्ण सेयर सदस्यहरुलाई भन्न चाहन्छौं, करिब साढे ४ करोडको फण्ड छ, सेयर पुजी साढे ५ करोड माथि छ । करिब करिब १०, ११ करोड संस्थाको आफ्नै पुजीबाट सञ्चालित संसथा हो, त्यसकारण अन्य सहकारी र सदस्यहरुले जुन किसिमले यस्तो होला भन्ने भ्रम सृर्जना हुन खोज्यो, त्यस्तो छैन । ढुक्क भएर आर्थिक कारोबार गर्न सेयर सदस्यहरुलाई आग्रह गर्न चाहन्छु ।’