धरान: करिब डेढ महिनाअघिको सहमति कार्यान्वयनमा नआएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षकहरु पुनः आन्दोलित भएका छन् ।
प्रतिष्ठानको उपकुलपति कार्यालयअघि आजदेखि शिक्षकहरुले बिहान ८ बजेदेखि १० बजेसम्म धर्ना शुरु गरेका छन् । शिक्षक कल्याण समाजले बुधबार विज्ञप्ती जारी गर्दे बिहिबारसम्म सहमति र पुष ३ गतेको प्रतिवद्धता कार्यान्वयन गर्न प्रतिष्ठान व्यवस्थापनलाई ध्यानाकर्षण गराएको थियो । सहमति कार्यान्वयन नभए उपकुलपति कार्यालयअघि धर्ना दिने पनि समाजले घोषणा गरेको थियो । सोही घोषणा अनुसार आज उनीहरुले धर्ना दिएका हुन् ।
आइतबारसम्म बिहान २ घण्टा धर्ना कार्यक्रम जारी राख्ने र माग पुरा नभए सोमबार (माघ २१) गतेदेखि पठनपाठन, परीक्षा तथा शैक्षिक गतिविधिहरुको बहिष्कारसहित थप सशक्त आन्दोलनका कार्यक्रमहरु सघि सार्ने पनि शिक्षक कल्याण समाजले जनाएको छ । ‘४५ दिनअघि हाम्रो मागहरुको बिषयमा सहमति भएको थियो, तर कार्यान्वयनमा ढिलाई भएपछि धर्नामा बस्न बाध्य भयौं,’ समाजका अध्यक्ष डा.सेराज अहमद खानले भने ।
समाजले विगत २ बर्षदेखि रोकिएको साइन्टिफिक कन्फ्रेन्स ग्रान्टसहित विभिन्न भत्ताहरु उपलब्ध गराउनुपर्ने माग गर्दै आएको छ । प्रतिष्ठान आर्थिक संकटमा भएकोले विगतमा शिक्षकहरुको वृत्तिविकास एवं शैक्षिक विकासमा महत्वपुर्ण रहेको ग्रान्टलगायतका अन्य सुविधाहरुमा प्रतिष्ठानले रोक लगाएको छ । ‘हामीलाई पहिला बार्षिक र ३ बर्षमा ग्लोबल ग्रान्ट दिन्थ्यो । यसले अन्तराष्ट्रियस्तरको सोध गथ्यौं, र यसले एकेडेमिकरुपमा धेरै फाइदा पुग्थ्यो,’ अध्यक्ष खानले भने ।
समाजले आफ्ना मागहरु राखेपछि विभिन्न चरणमा वृहत छलफल पश्चात निष्कर्षमा पुगेको भन्दै गत पुष ३ गते प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले ६ बुदेँ प्रतिवद्धता पत्र पनि जारी गरेका थिए । उक्त पत्रमा आगामी दिनमा नियमित र सकेसम्म एकैपटक सबैको तलब पठाउन व्यवस्था गर्ने उल्लेख थियो । यस्तै, शिक्षकहरुको बुक्स, एप्रोन, गाइड÷ कोगाइड भत्ता नियमित गर्न र कट्टा गरिएको आकर्षण भत्ता उपलब्ध गराउन आर्थिक प्रशासनलाई निर्देशन दिई यथासिघ्र कार्यान्वयन गरि पठाउदै जाने व्यवस्था मिलाउने पनि उल्लेख थियो ।
यस्तै, शिक्षक तथा कर्मचारीहरुको सेवा सुविधा सम्बन्धी नियमावलीलाई अन्तिम रुप दिन समिति गठन भएकोले कार्य पुरा गरि आगामी सिनेटबाट अनुमोदन गर्ने, शिक्षकहरुको अध्ययन तथा स्वअध्ययन विदा कार्यकारिणी समितिको आगामी बैठकबाट निर्णय गरि अन्तिम टुंगो लगाउने, शिक्षकहरुको कन्फ्रेन्स ग्रान्टबारे हाल प्रतिष्ठानको आर्थिक अवस्था ऋणात्मक भएकोले आर्थिक उपलब्धताको आधारमा पछि भुक्तानी गर्ने गरि जनवरी २०२५ देखि सुचारु गर्न सम्बन्धित शाखा, विभागलाई निर्देशन दिने उल्लेख थियो ।