धरान:मुक्कुमलुङ संरक्षण आन्दोलनले अरुण पुर्वका ९ जिल्लामा यातायात बन्दले फुर्सदिला बनेका धरानका मजदुरहरुलाई आइतबार सडक दुर्घटना न्युनीकरण सम्बन्धी प्रशिक्षण दिइएको छ । 

सडक दुर्घटनामा ज्यान गुमाउने र सजाय पाउने चालकहरुको संख्या बढ्दै गएपछि आइतबार बन्दका बीच सवारी चालकहरुलाई सडक सुरक्षा सचेतना गराइएको हो । कार्यक्रममा मजदुर नेता भीमज्वाला राईले नेपालको सार्वजनिक यातायात विकल्पहिन साधन भएपनि असुरक्षित रहेको तथ्य प्रस्तुत गरे । प्रत्येक दिन न्युनतम ७ जनाको ज्यान सडक दुर्घटनामा गइरहेको र न्युनतम ४० जना नागरिक घाइते भइरहेको उनको भनाई थियो । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्षसमेत रहेका राईले सडक दुर्घटना हुनुमा भौतिक कारण, मानवीय कारण, यान्त्रिक कारण र पर्यावरणीय कारण रहेको उल्लेख गरे । साथै, चालकहरु धैर्य र संयमित बन्नसके मानवीय त्रुटिले हुने दुर्घटनालाई न्युनिकरण गर्न सकिने पनि उनले बताए । 

भौतिक रुपमा सवारीसाधनको आवश्यक्ता, यात्रुको चाप, प्रकृतिका आधारमा आयात, ट्राफिक व्यवस्थापनलाई आधुनिकिरण र सडक निर्माणको सन्तुलनलाई सन्तुलित बनाउनुपर्ने सुझाव पनि प्रस्तुत गरे । मानविय कारणहरुमा चालकहरुले मादक पदार्थ र लागु पदार्थ सेवनलाई पूर्ण अन्त्य गर्नुपर्ने, चालकहरुको उमेर, अस्वस्थ प्रतिष्पर्धा र तिब्र गतिलाई नियन्त्रण गर्नु पर्ने उनको सुझाव थियो । 

यस्तै, यान्त्रिक कारण अन्तर्गत नेपाली बजारमा विक्रिवितण हुने नक्कली पार्टपूर्जाहरु र कमसल इन्धन विक्रिवितरणमा रोक लगाउँदै नियमन र मापदण्ड निर्माण गर्नुपर्ने, पर्यावरणीय कारण अन्तर्गत सितलहर, हुस्से, अति वर्षा, बाढी, पहिरोको अवस्थामा पूर्व सूचना दिने प्रविधि र अनुशिक्षणमा ध्यान दिनु पर्ने पनि राईले बताए । 

majdur

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले मादक पदार्थ र लागु पदार्थ सेवन गरेर सवारी चलाएको प्रमाणित भएमा त्यस्ता सवारीसाधनलाई छुटपुर्जी रोक्का गरिने जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले सडक दुर्घटना हुँदा राज्यले अनुसन्धान गरेर गल्ती गर्ने सवारीसाधनलाई क्षतिपुर्ति भराइने कोशी प्रदेश यातायात व्यवस्था ऐनमा उल्लेख भएको भएतापनि गल्ती नहुँदा पनि ठुलो सवारीसाधनले तिर्नु परेको बताए । 

इलाका प्रहरी कार्यालय धरानमा प्रमुख डिएसपी प्रकाश जबेगुले सडक दुर्घटना हुँदा चालकहरु र सवारी धनीलाई प्रभावित हुने सवारी तथा यातायात व्यवस्था ऐनका दफाहरु बारे प्रशिक्षित गराएका थिए । उनले सवारी ऐनको दफा १६१ र १६२ का चालकहरुलाई हुने कानुनी सजायबारे जानकारी दिएका थिए । 

यस्तै, सडकमा हिड्दा चालकहरुले अपनाउनुपर्ने ट्राफिक नियमहरुका बारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरिक्षक विरेन्द्र थापाले अनुशिक्षण गरेका थिए । उनले सडकमा निस्कनुअघि चालकहरुले सवारीसाधनको अवस्था र जाँच गर्नुपर्ने विषयहरुबारे अवगत गराएका थिए । साथै, चालकहरुले साथमा राख्नु पर्ने कागजातबारे पनि प्रशिक्षण दिएका थिए । 

पूर्वाञ्चल यातायात व्यवसायी संघको सभाहलमा सम्पन्न कार्यक्रम नेपाल यातायात स्ववसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, ट्राफिक प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानले संयुक्त रुपमा आयोजना गरेको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय सदस्य लक्ष्मी बानियाँले सञ्चालन गरेको प्रशिक्षणमा धरानका १ सय ५ जना यातायात मजदुरहरुको उपस्थिति रहेको थियो । यातायात बन्द रहेको अवस्थालाई उपयोग गर्दै यातायात मजदुर तथा व्यवसायीहरुलाई उपभोगी हुने कार्यक्रमको आयोजना गरिएको बाँनियाको भनाई थियो ।