धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले बिहिबार शिलान्यास गरेको तरकारी सेड निर्माणको क्रममा शुक्रबार धुपी सल्लोको रुख काटेको भन्दै स्थानीयले गुनासो गरेका छन् । 

प्रतिष्ठानले आफ्नो ग्रीनबेल्टमा तत्काल निर्माण नगर्न आग्रह गरेपनि ठेकेदारले निर्माण कार्य अघि बढाएको थियो । त्यसक्रममा स्थानीयबासीले रोपेको धुपी सल्लोको रुख काटिएपछि शुक्रबार स्थानीय एक युवाले असन्तुष्टी प्रकट गरेका थिए । उनले स्थानीय टोलबासीसँग सेड बनाउनेबारे कुनै छलफल र जानकारी नभएको बताए ।

स्थानीयले खबर गरेपछि ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवस कुँवरको नेतृत्वमा प्रहरी निर्माणस्थलमा पुगेको थियो । प्रहरी पुगेपछि रुख काट्न रोकिएको थियो । स्थानीयका अनुसार सेड निर्माण भएको ठाउँ वडा नं १८ कि १७ हो भन्नेमा पनि यकिन नभएको बताए । उक्त ग्रीन बेल्ट कुन वडामा पर्छ भन्ने अन्योल र विवाद पुरानै हो । यसअघि पनि चेस पार्क बनाउने बिषयमा वडा १७ र १८ बीच विवाद उत्पन्न भएको थियो । उक्त ग्रीन बेल्ट क्षेत्रलाई दुवै वडाले दाबी गर्दै आएको छ ।

प्रहरीले काम रोकेपछि पुगेका स्वतन्त्र नागरिक समाजका अध्यक्ष समिर तामाङले रुख काटेको भनिए पनि विकासको काममा स्थानीयबाट अवरोध नहुने बताए । उनले भने, ‘रुख काट्यो भन्ने कुरा भएको रहेछ, तर त्यस्तो होइन । स्थानीयबासी पनि विकास होस् भन्ने नै चाहनुहुन्छ ।’

उक्त तरकारी सेडको बिहिबार शिलान्यासको क्रममा पनि विवाद सृर्जना भएको थियो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद संग्रौला फिल्डमै पुगेर प्रतिष्ठानको ग्रीनबेल्टमा भौतिक संरचना निर्माण नगर्न आग्रह गरेका थिए । त्यसक्रममा पनि मेयर साम्पाङ र रजिष्ट्रार संग्रौलाबीच भनाभन भएको थियो । प्रतिष्ठानले अस्पतालको भविष्यलाई मध्यनजर गर्दे ग्रीनबेल्टमा भौतिक संरचना बनाउनुअघि आपसी सल्लाह र वार्ताबाट समस्या समाधान गरेर अघि बढ्न उपमहानगरपालिकालाई अपिलसमेत गरेको छ । 

भिडियो: