धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले बिहिबार धरान १८ मा शिलान्यास गरेको तरकारी बजार निर्माण कार्य शुरु नहुदै विवादमा परेको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ग्रीनबेल्टकोरुपमा छोडेको आफ्नो जग्गामा आपसी छलफल र सहमति विना मेयर साम्पाङले भौतिक संरचना बनाउन शिलान्यास गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । बिहिबार शिलान्यास भइरहेको बेला प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.सुर्य प्रसाद संग्रौला आफै फिल्डमा पुगेर निर्माण कार्य नगर्न आग्रह पनि गरेका थिए । तर, मेयर साम्पाङले कम्पाउण्ड वालबाहिरको जग्गा प्रतिष्ठानले दाबी गर्न नमिल्ने र उक्त जग्गा नगरकै भएको जिकिर गरेका थिए । साथै उनले कर्मचारीसँग कुरा गर्ने हैसियत नभएको भन्दै स्वास्थ्यमन्त्री (जनप्रतिनिधि)सँग मात्र कुरा गर्ने भनेर रजिष्ट्रार संगौलालाई फर्काएका थिए ।
मेयर साम्पाङले पालिकाको व्यवस्थित तरकारी बजार बसालेर बजारलाई विकेन्द्रीकरण गर्न खोजेको बताए । विगतमा पनि वीपी सुन्दर बजार बनेको र व्यायामशाला पनि बनिसकेको उदाहरण पेश गर्दै वीपी प्रतिष्ठानले कम्पाउण्ड बाहिरको जग्गालाई आफ्नो दाबी गर्न नसक्ने बताए । ‘वीपीको जग्गा हो भन्नुहुन्छ, तर हामी जसरी पनि बनाउछौं,’ सञ्चारकर्मीसँग उनले भने । तरकारी बजारको संरचना ६५ लाख ७० हजारमा निर्माण गर्ने योजना नगरको रहेको छ ।
प्रतिष्ठानका रजिष्ट्रार डा.संग्रौलाले साँझ एक अलिप जारी गर्दै प्रतिष्ठान र उपहानगरपालिका दुवै सार्वजनिक संस्था भएकोले आपसी छलफल र सहमतिमा जनहितको कार्य गर्दा उचित हुने धारणा सार्वजनिक गरेका छन् । उनले ग्रिनबेल्टमा उपहानगरले भौतिक संरचना निर्माण गर्न लागेको जानकारी पाएपछि मेयर साम्पाङसँग टेलिफोन संवाद गरि छलफल र अन्तक्रिया गरी सहमति पश्चात मात्र प्रक्रिया गर्न अनुरोध गरेको र पत्रसमेत पठाएको खुलाएका छन् ।
मेयर साम्पाङले प्रतिष्ठानको मुलगेट पश्चिमतर्फ बाटोको छेउमा तरकारी बजार बनाउन शिलान्यास गरेका थिए । प्रतिष्ठानको मुलगेट पुर्व तथा पश्चिम, दक्षिणतर्फ विगतमा वाउन्ड्री वाल निर्माण गर्दा पेरिफेरल रोड, ड्रेन र ग्रिनबेल्टको क्षेत्र छोडेर मात्र अस्पतालको बाउन्ड्रि वाल तयार गरेको प्रतिष्ठानको भनाई छ । भविष्यमा हुने निर्माण, अस्पताल क्षेत्र वरिवरी राख्नुपर्ने हरित वातावरणीय अवस्था तथा भैपरी आउनसक्ने विपत्ति, प्रकोप तथा आपतको अवस्थामा रहनुपर्ने आवश्यक खुला क्षेत्रको मापदण्डलाई मध्यनजर गरि उक्त क्षेत्रमा प्रतिष्ठानले हालसम्म कुनै पनि संरचना निर्माण नगरेको पनि अपिलमा उल्लेख गरिएको छ ।
हाल प्रतिष्ठानमा निर्माण सम्पन्न हुदै गरेको ४ सय शैय्याको मातृशिशु स्याहार केन्द्रको भवन सञ्चालनमा आएपछि उक्त क्षेत्र वरपर खुला, सफा तथा हरित वातावरण अत्यावश्यक हुने पनि रजिष्ट्रार संग्रौलाको भनाई छ । त्यही क्षेत्रमा सरकारले २ सय शैय्याको मुटुरोग उपचार केन्द्र र २ सय शैय्याको क्यान्सर उपचारको भवन निर्माणको योजना पारित गरिसकेकोले निकट भविष्यमा निर्माण कार्य शुरु हुनसक्ने अवस्था रहेको छ । ती सेवा प्रदान गर्न आम जनसमुदायको आवतजावत तथा इमरजेन्सी उपचार सेवा व्यवस्थित गर्न बाउन्ड्रिवाल बाहिर संरचना निर्माण भए सम्भव नहुने भएकोले सबैले गम्भीर भएर सोच्नुपर्ने आवश्यकता रहेको पनि अपिलमा उल्लेख गरिएको छ ।
प्रतिष्ठान धरानकै सम्पत्ति रहेकोले यसको संरक्षण, संवद्र्धन गर्नु उपमहानगरपालिकाको पनि दायित्व भएको उल्लेख गर्दै रजिष्ट्रार डा.संग्रौलाले प्रतिष्ठान धरान उपमहानगरको उन्नत्ति र विकासको बाधक नभएको पनि स्पष्ट पारेका छन् । ‘प्रतिष्ठानले केवल धरान उपमहानगरपालिकाले कुनै पनि योजना बनाई कार्य शुरु गर्नुअघि यहाँस्थित अस्पताल क्षेत्रमा के कस्तो असर पर्छ र प्रतिष्ठानको विकासमा भविष्यमा बाधा पुग्छ कि पुग्दैन भन्ने बारे छलफल गरी सम्बद्ध निकायहरुबीच समन्वय गरेर मात्र अगाडि बढौं भनि जनताको स्वास्थ्य उपचार सेवालाई विचार गर्दे अनुरोध गरेको अवगत गराउन चाहन्छौं,’ अपिलमा भनिएको छ । रजिष्ट्रारले सहमति एवं सहकार्यबाट अघि बढ्ने वातावरण सृर्जना गर्न मेयर, बुद्धिजिवि, नागरिक अगुवा, राजनैतिक दललगायत सरोकारवाला निकायहरुमा अपिल पनि गरेका छन् ।