धरान: बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरानको नाममा सर्वसाधारणको १० अर्ब ७३ करोड भन्दा बढी रकम हिनामिना तथा अपचलन गरेको कसुरमा २६२ जना विरुद्ध अदालतमा अभियोगपत्र दर्ता भएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले संस्थाबाट रकम हिनामिनामा संलग्न बराह सहकारीका सञ्चालक, कर्मचारीसँगै ऋण लिएर नतिर्ने ऋणीहरुलाई पनि प्रतिवादी बनाउदै बिहिबार अभियोग पत्र दायर गरेको हो । मुद्दा दायर भएकामध्ये ३५ जनालाई संगठित अपराध निवारण ऐन २०७० र सहकारी ऐन २०७४ वमोजिम कसुरमा सजायको माग दाबी गरिएको छ । यस्तै, २१० जना ऋणीसहित २२२ जनालाई सहकारी ऐन २०७४ वमोजिमको कसुरमा सजाय माग गरिएको छ । पाँच वटा कम्पनीलाई पनि सम्पत्ति जफत गर्ने उद्देश्यले प्रतिवादी बनाइएको छ । 

सहकारीको नाममा रकम हिनामिना तथा अपचलन गरेको जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी निरीक्षक दिनेश अधिकारीको नेतृत्वमा अनुसन्धान गरेको थियो । प्रहरी निरीक्षक अधिकारीको अनुसन्धान प्रतिवेदनले कुल १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैया रकम हिनामिना तथा अपचलन गरी ठगी भएको निष्कर्ष निकालेको छ ।

सुचना अधिकारीसमेत रहेका सहायक जिल्ला न्यायाधिवक्ता रोहितकुमार पोखरेलका अनुसार सञ्चालक समितिमा रहेकाहरु र ऋणीहरुलाई गरि २ किसिमले प्रतिवादी बनाइएको छ । मुद्दा दर्ता भएका २६२ जना मध्ये २१० जना ऋणीहरुलाई पनि प्रतिवादी बनाइएको छ । ऋणीहरुलाई सहकारी ऐन २०७४ को दफा १२२ को (छ), (झ) र (ञ) वमोजिमको कसुर गरेको अभियोगमा दफा १२४ को उपदफा १ को उपदफा १ को खण्ड (घ) को २ वमोजिम सजाय हुनुपर्ने माग दाबी गरिएको छ । 

यो मुद्दाको लागि प्रहरीमा २८१ वटा जाहेरी संख्या परेको थियो । अनुसन्धानको क्रममा ४१६८ जना पीडितहरुले जाहेरी दिएका थिए भने पीडितहरुको संख्या ४७७२ जना खुलेको पनि पोखरेलले जानकारी दिए । अझै जाहेरी संख्या आउनसक्ने र पीडित संख्या पनि बढ्ने उनले अनुमान गरे ।

बिहिबार अभियोग पत्र दायर भएपनि शुक्रबार र शनिबार सार्वजनिक विदा भएपछि उक्त मुद्दामा पक्राउ परेकाहरुको आजदेखि अदालतमा मात्र वयान शुरु भएको छ । ‘बिहिबार दर्ता भएपनि दुई दिन विदा थियो, आजदेखि वयान शुरु भएका छ,’ पोखरेलले भने,‘पक्राउ परेकाहरुको वयान सकेपछि थुनछेक बहस हुन्छ । तारेख, धरौटीमा रिहा गर्ने वा पुर्पक्षको लागि पठाउने त्यसपछि आदेश आउछ ।’ अभियोग दर्ता भएकामध्ये हाल १३ जना मात्र पक्राउ परेका छन् भने अन्य फरार सुचीमा छन् । 

सञ्चालक र उच्च कर्मचारीलाई संगठित अपराधमा पनि सजाय माग

बराह सहकारीका सञ्चालक र उच्च तहका कर्मचारीहरुलाई भने सहकारी ऐन २०७४ र संगठित अपराध निवारण ऐन २०७० वमोजिम कारबाही तथा सजायको माग दाबी गरिएको छ । उनीहरुलाई सहकारी ऐनको दफा १२२ को (ख), (ग), (छ), (झ), (ञ), (ट), (ड), (ढ) र (त) वमोजिमको कसुरमा सजाय हुनुपर्ने माग दाबी गरिएको छ । यस्तै, संगठित अपराध निवारण ऐन २०७० को दफा ३ को उपदफा (१), (२), (३) को खण्ड (क) र दफा ५ वमोजमको कसुर गरेकोमा सजायको माग गरिएको छ । 

यो दुवै कसुरमा बराह गु्रप अफ कम्पनीका अध्यक्ष शिवकुमार विश्वकर्मा (लामिछाने), उनकी बहिनी मन्दिरा लामिछाने, सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मा, हरिकुमार धमला (विश्वकर्मा), प्रकाश लामगादे, शुभराज खाती, विकास लामगादे, सुरेश विक, शोभराज भन्ने अम्बरबहादुर विश्वकर्मा, रवि पोर्तेल, पुर्णबहादुर कालिकोटे भन्ने पुर्णकुमार विश्वकर्मा, रिना राई (लामिछाने), भोजमान लामगादे, गंगाबहादुर कालिकोटे, शरण विश्वकर्मा, विकास भन्ने विकास गजमेर, लालबहादुर विश्वकर्मा, कृष्णा भन्ने अम्बर प्रसाद खाती, सुदिन बिक, कुमार दुतरात भन्ने कुमार विक, अनुपकुमार खड्गी, विष्णुकुमारी तुलाधर, अस्मिता भण्डारी, दातेन्जी शेर्पालगायत छन् । 

कस्ले कति रकम गरे हिनामिना ?

सहकारीको नाम गरेर सर्वसाधारणबाट संकलन गरिएको रकममध्ये सबैभन्दा बढी शिवकुमार लामिछोले रक हिनामिना तथा अपचलन गरेको अभियोग पत्रमा उल्लेख छ । उनी स्वयमले हिनामिना गरेको रकम भने २ अर्ब ७१ करोड ३१ लाख लाख ६० हजार २४ रुपैया भएको अभियोग पत्रमा उल्लेख छ । 

बाँकी हिनामिना रकम भने उनका स्वर्गीय बुबा इन्द्रकुमार विश्वकर्मा र आमा विष्णुमाया विश्वकर्माको नामको हो । बराहका संस्थापक इन्द्रकुमारले २ अर्ब ४५ करोड ७७ लाख १७ हजार ५७६ र उनी श्रीमति विष्णुमायाको ७० करोड १९ लाख १६ हजार १५४ र खराब कर्जा असुल नभएतर्फ बिगो हुने रकम १ करोड १२ लाख ९० हजार ८७९ रुपैया पनि छोरा शिवबाट नै असुल गर्नुपर्ने अभियोग पत्रमा उल्लेख छ । 

यस्तै, सहकारी सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्माले १ अर्ब ११ करोड ४३ लाख ४५ हजार ३३८ रुपैया हिनामिना तथा अपचलन गरेको पुष्टि भएको पनि अभियोगपत्रमा उल्लेख छ । साथै, खराब कर्जा असुल उपर नभए बिगो रकम १ करोड १२ लाख ९० हजार ८७९ रुपैया समेत उनीबाट असुल्नु पर्ने भनिएको छ । 

संस्थाको रकम धेरै अपचलन गर्नेमा तेस्रो नम्बरमा बराह ग्रुपअफ कम्पनीका संस्थापक र विभिन्न प्रालिका सञ्चालक रहेका हरिकुमार धमला छन् । उनले ३७ करोड ६१ लाख २४ हजार ३२८ रुपैया हिनामिना गरेको अनुसन्धानबाट देखिएको अभियोगपत्रमा उल्लेख छ । यस्तै, विभिन्न कम्पनीको संस्थापक रहेका प्रकाश लामगादेले ४८ करोड १८ लाख ८९ हजार ८९ रुपैया हिनामिना गरेको, शुभराज खातीले ४३ करोड ७१ लाख ८१ हजार ८२७ रुपैया हिनामिना गरी ठगी गरेको पनि अभियोगपत्रमा उल्लेख छ । 

यसैगरि, प्रतिवादी विकास लामगादेले ३६ करोड ९६ लाख ३२ हजार ९१५ रुपैया हिनामिना, अपचलन गरि ठगी गरेको र खराब कर्जा असुल उपर नभए बिगो हुने रकम ६० लाख ५८ हजार ७५६ रुपैयासमेत असुल्नुपर्ने उल्लेख छ । 

प्रतिवादी सुरेश बिकले ३४ करोड ४० लाख ८० हजार ४६१ रुपैया हिनामिना, अपचलन गरेको, विभिन्न कम्पनीको संस्थापक, सञ्चालक सौराज भन्ने अम्बरबहादुर विश्वकर्माले १५ करोड ९८ लाख १३ हजार १७५ रुपैया हिनाहिना अपचलन गरेको र उनको जिम्मेवारीमा परेको खराब कर्जा असुल उपर नभए बिगो रकम ५२ लाख ३२ हजार १२३ रुपैया समेत असुल्नुपर्ने अभियोगपत्रमा उल्लेख छ । 

प्रतिवादी रवि पोर्तेल (सुनार) भन्ने रवि सुनार बिकले १० करोड ६४ लाख ८५ हजार ६४३ रुपैया, पुर्णबहादुर कालीकोटे भन्ने पुर्णकुमार कालिकोटेले ६ करोड १५ लाख ८२ हजार ९४८ रुपैया हिनामिना गरेको र उनको जिम्मेवारीमा परेको खराब कर्जा असुल उपर नभए बिगो हुने रकम ८२ लाख ३६ हजार ६९३ रुपैया पनि असुल्नुपर्ने अभियोगपत्रमा उल्लेख छ । 

शिव लामिछानेकी पुर्वश्रीमति प्रतिवादी रिना राई (लामिछाने) ले पनि ३ करोड ८५ लाख ३२ हजार ६४० रुपैया अपचलन गरेको, प्रतिवादी भोजमान लामगादेले १ करोड ६० लाख २१ हजार ९३४ रुपैया हिनामिना गरेको, गंगाबहादुर कालिकोटेले ३ करोड १२ लाख २९ हजार ८५६ रुपैया हिनामिना, अपचलन गरी ठगी गरेको अभियोग पत्रमा उल्लेख छ । गंगा कालिकोटेले जिम्मेवारीमा रहदाको खराब कर्जा असुल उपर नभए बिगो हुने रकम ३ करोड ७६ लाख ३६ हजार २५६ रुपैयासमेत असुल गर्नुपर्ने खुलाइएको छ।

सुनसरी जिल्ला अदालतमा दायर भएको अभियोग पत्र :