धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले शिलान्यास गरेर निर्माण शुरु गरेको तरकारी सेड निर्माण कार्य रोक्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ । 

प्रतिष्ठानका रजिष्ट्रार सुर्यप्रसाद संग्रौलाले दिएको निवेदनको सुनुवाई गर्दै मंगलबार उच्च अदालतका न्यायाधिश ध्रुवराज नन्दको इजलाशले अन्तिम टुंगो नलागेसम्म कुनै पनि संरचना निर्माण नगर्नु भनि अन्तरिम आदेश दिएको हो । सेड निर्माण भएको जग्गा किता नम्बर १३ प्रतिष्ठानको नाममा दर्ता रहेको सर्भे नक्सामा देखिएको पनि अदालतको आदेशमा उल्लेख छ । साथै, उक्त जग्गा निवेदक (वीपी प्रतिष्ठान) लाई प्रयोग चलनमा अवरोध नगरी यथास्थितिमा राख्न पनि विपक्षीहरुको नाममा अदालतले आदेश दिएको छ । 

विपक्षी उपमहानगरपालिकाले तरकारी बजारको लागि शिलान्यास गरेको उक्त जग्गा ग्रिनबेल्ट एरिया वा स्थानीय सरकारको क्षेत्राधिकारभित्रको जग्गा हो भन्ने विवादित अवस्थामै भौतिक संरचना निर्माण हुँदा निवेदकलाई पर्न जाने असुविधा, क्षति र स्वास्थ्य क्षेत्रको संवेदनशिलतासमेतलाई दृष्टिगत गर्नुपर्ने स्थिति देखिएकोले माग वमोजिम अन्तरिम आदेश जारी गर्न उपयुक्त हुने देखिएको अदालतको आदेशमा उल्लेख छ । अदालतले मुद्दाका विपक्षी धरान उपमहानगरपालिका, मेयर साम्पाङ र प्रहरीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि आदेश दिएको छ ।

भिडियोः

मेयर साम्पाङले फागुन १५ गते प्रतिष्ठानको मेनगेट पश्चिमको ग्रिनबेल्ट क्षेत्रमा तरकारी बजार बनाउन शिलान्यास गरेका थिए । प्रतिष्ठानका रजिष्ट्रार आफै फिल्डमा पुगेर तत्काल निर्माण मार्ग नगर्न, समन्वय र सहमति गरेर मात्र अघि बढ्न आग्रह गरेपनि मेयर साम्पाङले आफुसँग कुरा गर्ने हैसियत कर्मचारीको नभएको र स्वास्थ्यमन्त्रीसँग मात्र कुरा गर्ने भन्दै फर्काएका थिए । उक्त स्थानमा मेयर कोषको ६५ लाख ७० हजार बजेटबाट तरकारीको सेड निर्माण शुरु भएको थियो । 

रजिष्ट्रार संग्रौलाले आफुले हदैसम्म लचिलो भएर मेयर साम्पाङलाई कार्यकक्षमा भेटेर आग्रह गरेपनि नमानेपछि अदालतमा जानुपरेको बताए । ‘मैले कानुनसम्मत छैन भने, उहाँले मान्नुभएन र बाध्य भएर अदालतमा जानुपरेको हो,’उनले भने,‘त्यो क्षेत्र ग्रिनबेल्ट हो, यथावत रहन्छ । एमसिएच भवनको अगाडिको ठाउँ हो, खाली नै रहनुपर्छ ।’

green belat adesh

green belt adesh1