धरान: कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले धरानमा निर्माणाधिन अवस्थाको बौद्ध चारधामलाई पर्यटन मन्त्रालयमा सुचीकृत गरेर विकास गर्ने बताएका छन् । 

मन्त्री राईले धरान ८ स्थित बौद्ध दाहसस्ँकारस्थलमा आयोतिज फुर्दो (दशा ग्रह) पूजाको सम्मान तथा समापन कार्यक्रमलाई प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले दाह सँस्कारस्थलमा निर्माणाधिन चारधाम कोशी प्रदेशकै महत्वपुर्ण धार्मिक पर्यटन क्षेत्र हुने पनि धारणा राखे । ‘प्रदेशको महत्वपुर्ण धार्मिक पर्यटन प्रर्वद्धनमा यहाँको चारधाम कोशेढुंगा सावित हुनेछ,’मन्त्री राईले भने,‘धरानको धार्मिक पर्यटनस्थललाई कोशी पर्यटन बर्षमा जोड्न र चारधामलाई पर्यटन मन्त्रालयमा सुचीकृत गरेर अघि बढाउन प्रदेश सरकार एकढिक्का भएर लाग्नेछ ।’

पर्यटन बर्ष २०८२ बारे ३ दिन छलफलको तयारी भइरहेको जानकारी दिदै मन्त्री राईले उक्त छलफलमा चारधामलाई पनि जोड्न आफैले पहल गर्ने बताए । सुनसरी क्षेत्र नं १ क र खबाट निवार्चित सांसदहरुले सुचीकृत गर्न सिफारिश गरिसकेको भन्दै उनले भने,‘चारधामलाई जोडेर जाने कुरामा म आफै पहल गर्नेछुँ ।’

उनले सरकारले गर्नुपर्ने काम समुदाय आफैले गरिरहेको भन्दै प्रशंसा पनि गरे । ‘सरकारले गर्नुपर्ने काम आफ्नै ल्याकतमा तपाईहरुले गरिरहनुभएको छ। यसले सुन्दर धरान बनाउछ, र सुन्दर कोशी प्रदेश पनि बनाउछ, त्यो काम असाध्यै महत्वपुर्ण र ऐतिहासिक छ,’उनले भने ।

बौद्ध दाह सँस्कारस्थल धार्मिक वन पर्यटन केन्द्रमा बौद्ध चारधाम निर्माण भइरहेको छ । बुद्ध जन्मिएको लुम्बिनी, ज्ञान पाएको बुद्धगया, शिक्षा दिएको स्थान सारनाथ र महापरिनिर्वाण भएको कुशीनगर झल्काउने गरि संरचनाहरु निर्माण भइरहेको छ । हालसम्म मिनि लुम्बिनी र कुशीनगर निर्माण भइसकेको छ भने अन्य २ धाम बन्न बाकी छ । 

आफ्नो निर्वाचन क्षेत्र मात्र सम्झेर बजेट विनियोजन गर्ने होईन: सांसद राई

bijay rai

सुनसरी क्षेत्र नं १ (ख)बाट निवार्चित कोशी प्रदेशका सांसद विजय राईले सरकारमा रहेका मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रलाई मात्र सम्झिएर बजेट विनियोजन नगर्न आग्रह गरेका छन् । 

कार्यक्रमलाई सम्बोधन गनेक्रममा राईले सामाजिक विकास मन्त्री राईलाई तोकेर नै आउने बजेटमा धरान र सुनसरी जिल्लाको धार्मिक पर्यटन विकास, प्रर्वद्धनमा ध्यान दिन ध्यानाकर्षणसमेत गराएका थिए । ‘माननीय मन्त्री यही हुनुहुन्छ, म भन्न चाहन्छु, अब विनियोजन हुने बजेटमा यो क्षेत्रलाई बिशेष ध्यान दिनुपर्छ,’ उनले भने,‘ मेरो निर्वाचन क्षेत्र होइन, आफ्नो क्षेत्रमा लानुपर्छ भन्ने सोच्यो भने समग्र प्रदेशको विका र समृद्धि हुनसक्दैन ।’

उनले सुनसरी र धरानमा महत्वपुर्ण धार्मिक पर्यटकीस्थलहरु भएपनि राज्यबाट उचित ध्यान नपुगेको बताए । ‘यहाँका जनप्रतिनिधिहरुले ठाउँ नपाएर पनि होला, समग्र प्रदेशमा के गर्दा दिगो विकास हुन्छ भनेर ध्यान गएको देखिएको छैन,’ उनले भने,‘बजेट निश्चित छ, त्यसलाई आवश्यकता हेरेर विनयोजन गर्नुपर्छ ।’

धरानको समग्र विकासको कुरा गरौं:सांसद बस्नेत

ramesh basnet

सुनसरी क्षेत्र नं १ (क)बाट निवार्चित प्रदेश सांसद रमेश बस्नेतले प्रदेश सरकारले २०८२ लाई पर्यटन बर्ष भनेर मनाउने तयारी गरेको र धरानको पर्यटन विकास गर्न सकिने सम्भावित ठाउँको सुचीमा बौद्ध चारधामको नाम आफैले दर्ता गराएको बताए । 

सांसद बस्नेतले धरानको कुनै एक पक्षको मात्र चर्चा गरेर पर्याप्त नहुने भन्दै समग्र विकासको बारेमा चर्चा हुनुपर्ने बताए । ‘धरानको कुरा गर्दा कसैले धार्मिक पर्यटन, विजयपुरको ३ वटा मन्दिरको मात्र कुरा गर्ने, कसैले शिक्षाको मात्र कुरा गर्ने, कसैले सँस्कृतिको मात्र, कसैले पर्यापर्यटन, कसैले स्वास्थ्यको मात्र कुरा गर्ने गर्छन्, तर यो मात्र पर्याप्त हुदैन,’ उनले भने,‘यी सबै जोडियो भने मात्र धरानको समृद्धि सम्भव छ ।’

सांसद बस्नेतले धेरै वटा किरात साँस्कृतिलाई एकै ठाउँमा बुझ्न, पढ्न र थाह पाउन सकिने ठाउँ धरान भएको बताए । ‘धार्मिक हिसाबले पनि धेरै धर्म समुदायको एकैठाउँमा मिलेर बसेको ठाउँ धरान नै हो । त्यसैले धेरे सम्भावना भएको ठाउँ हो,’ उनले भने ।

 योजनाको प्रस्ताव मन्त्रालयमा दर्ता गरिसकेको छुँ: सांसद कायस्थ

yasodha

कोशी प्रदेशसभामा समानुपातिक सांसद यशोदा कायस्थले चारधाम निर्माणको लागि तयार गरेको प्रस्ताव सामाजिक विकास मन्त्रालयमा दर्ता गरेको बताइन् । उनले मन्त्रीले आगामी आर्थिक बर्षमा बजेट विनियोजन गरिदिने आशा राखेको पनि बताइन् । ‘चारधामलाई धार्मिक पर्यटकीयस्थल बनाउन सरकारको ध्यान जानुपर्छ,’उनले भनिन् ।

भिडियो:

भिडियो: