धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद संग्रौलाले मेनगेट बाहिर गैरकानुनीरुपमा निर्माण भएको वीपी सुन्दर बजारको पनि मिसिल अध्ययन गर्ने बताएका छन् ।
मेयर हर्कराज राई (साम्पाङ)ले निर्माण शुरु गरेको तरकारी बजार गैरकानुनी भएकोले रोक्नु भन्दै उच्च अदालतबाट स्टे अर्डर ल्याएका रजिष्ट्रार संग्रौलाले सोही प्रकृतिको वीपी सुन्दर बजारको पनि मिसिल अध्ययन गर्ने बताएका हुन् । उनले क्लिकधरानसँगको टेलिफोन सम्पर्कमा भने,‘वीपी सुन्दर बजार म आउनुभन्दा धेरै पहिला बनेको हो । त्यसको पनि मुद्दा परेको रहेछ, के भएको हो, मिसिल मगाएर अध्ययन गर्छु ।’
विगतमा प्रतिष्ठानको मेनगेटसँगै पश्चिमतर्फ वीपीको ग्रिनबेल्टमा नै सटर निर्माण गरेर वीपी सुन्दर बजार बसालिएको थियो । उक्त बजार निर्माण गर्न तत्कालिन राजनीतिक दलको संयन्त्रले निर्णय गरेर केन्द्र सरकारको बजेटबाट बनाइएको थियो । त्यो बेला पनि वीपी प्रतिष्ठानले बजार निर्माण नगर्न आग्रह गरेपनि जर्बजस्ती बनाइएको थियो । त्यसविरुद्ध प्रतिष्ठानले अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दाको फैसला के भयो भनेर प्रतिष्ठान सम्बद्ध कोही पनि प्रतिक्रिया दिन चाहदैनन् । वीपी सुन्दर बजारसँगै सार्वजनिक सौचालय पनि ग्रिनबेल्टमा नै बनेको छ । ट्याक्सी र टेम्पोको पार्किङस्थल पनि ग्रिनबेल्ट मासेर मेनगेटसँगै बनाइएको छ ।
वीपी सुन्दर बजार निर्माण भइसकेपछि नगर विकास समितिलाई हस्तान्तरण भएको थियो भने राजनीतिक दलका नेताहरुले केही सटर कोठा भागभण्डा पनि गरेका थिए । पछि उनीहरुले ती कोठाहरु अन्यलाई लाखौं रुपैयामा बिक्री गरेको चर्चा हुने गरेको थियो । कोठा भाडा पनि धेरै बर्षसम्म कस्ले उठाएर चलायो भनेर नगरपालिका पनि अनभिज्ञ भएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि मात्र सुन्दर बजारको भाडा नगरको राजश्व आम्दानीमा बाँध्न पहल भएको थियो ।उपमहानगरपालिकाले सुन्दर बजारको कोठा ठेक्का लगाए पनि व्यवसायीहरुले विरोध गरेपछि रद्द भएको थियो । अहिले उपमहानगरपालिका आफैले मासिकरुपमा कोठा भाडा संकलन गर्दे आएको राजश्व महाशाखा प्रमुख खगेन्द्र खतिवडाले जानकारी दिए ।
केही दिनअघि तरकारी बजार शिलान्यास र निर्माण नगर्न आग्रह गर्न फिल्डमा पुगेका रजिष्ट्रार संगौलालाई मेयर साम्पाङले प्रश्न गरेका थिए, तरकारी बजार बनाउन नहुने हो भने वीपी सुन्दर बजार चै कसरी बन्यो ? त्यसबेला रजिष्ट्रार संग्रौलाले म त्यो बेला थिइन भनेर जवाफ दिएका थिए । तरकारी बजार ग्रिनबेल्टमा बनेको भन्दै रोकेको प्रतिष्ठानलाई मेनगेटमै ग्रिनबेल्ट मासेर बनेको वीपी सुन्दर बजार बनाउन नरोकेको बिषयले कानुनी र नैतिक प्रश्न खडा गरेको छ ।