धरान: धरान उपमहानगरपालिकाले छाताचोकस्थित पुरानो अस्पताल भवनमा सञ्चालन गरेको प्रसुती गृहमा निःशुल्क भिडियो एक्स रे सेवा पनि शुरु भएको छ ।
धरान स्वास्थ्य चौकीअन्तर्गतको प्रसुती गृहमा शुक्रबार उपमेयर अइन्द्रबिक्रम बेघाले रिबन काटेर ग्रामिण भिडियो एक्स रे सेवाको उद्घाटन गरेका थिए । यो भिडियो एक्स रे सुनसरी जिल्ला स्वास्थ्य कार्यालयका पुर्वप्रमुख डाक्टर श्रीराम साहले व्यक्तिगतरुपमा उपलब्ध गराएका हुन् । यो उपकरणको मुल्य न्युनतम १० लाख रुपैया पर्ने बताइएको छ ।
उपमेयर बेघाले विपन्न नागरिकहरु स्वास्थ्य उपचार सेवाबाट बञ्चित नहुन् भनेर सेवा विस्तार गरिएको बताए । संविधान, कानुनले निर्दिष्ट गरेको बाटोमा स्थानीय सरकारले आफ्नो स्रोतसाधनले भ्याएसम्म अघि बढ्ने उपमेयर बेघाको भनाई थियो । ‘हामीले दायित्वबोध गरेर जानुपर्छ, त्यसैको एउटा कदम हो यो,’उनले भने,‘ग्रामिण भिडियो एक्स रे सेवाले विपन्न नागरिकहरुलाई छुनुपर्छ भन्ने हो । पैसा नभएर भिडियो एक्सरे गर्न नसक्ने, स्वास्थ्य परीक्षण गर्न नसक्ने आमाहरुलाई प्राथमिकता दिइने हो ।’
पैसा अभावकै कारणले उपचारबाट बञ्चित नहोस् भन्ने उद्देश्य भएपनि सेवा लिन आउने सबैलाई उपलब्ध हुने उनले बताए । नगरपालिकाले स्रोत साधानहरुलाई व्यवस्थितढंगले परिचालन गरेर जाने धारणा राख्दै उपमेयर बेघाले भने, ‘भौतिक संरचना, उपचार, स्वास्थ्य सामग्रीहरुलाई व्यवस्थापन गरेर लैजानुपर्नेछ । भौगोलिक हिसाबले धरानको दुर्गम वडा र क्षेत्रमा साधान स्रोतको व्यवस्था गरेर सेवा प्रवाह गर्ने तयारी गर्नेछौं ।’
वडा नं १ का अध्यक्ष यज्ञमणी आचार्यले भवन जीर्ण भएकोले पुर्ननिर्माण गर्न आवश्यक भएको बताए । निःशुल्क भिडियो एक्स रे सेवा शुरु भएको बारे २० वटै वडाका स्वास्थ्य स्वयम् सेविकाहरुमार्फत प्रचारप्रसार गर्नुपर्ने उनले बताए । साथै, धरानमा रेजिबको औषधी उपलब्ध नभएकोमा पनि वडाअध्यक्ष आचार्यले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।
वीपीमा जटिल विरामी मात्र जानुपर्छ:मेहता
स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले धरानका नागरिकहरुले सामान्य परीक्षणहरु गर्न वीपी प्रतिष्ठान धाइरहनुपर्ने अवस्था अन्त्यको लागि सेवा विस्तार गरिएको बताए । ‘वीपी भनेको ट्रसरी लेभलको रेफरल हस्पिटल मात्र हो, त्यहाँ जटिल विरामी गयो भने मात्र उपचार राम्रो पाइन्छ, सामान्य विरामी जादा भिड मात्र हुन्छ, उपचार राम्रो हुदैन,’उनले भने,‘त्यसैले यो कार्यक्रम यहाँ लागु गरेर २० वटै वडाका गर्भवती महिलालाई पहिलो चरणमा सेवा प्रदान गर्ने, कम्तीमा ३ पटक जाँच गर्ने र समस्या यही समाधान गर्ने उद्देश्य हो ।’
छिमेकी इटहरीमा नगर अस्पताल, बराहक्षेत्रमा आधारभुत अस्पताल बनिसकेको उदाहरण दिदै मेहताले धरानमा भने सिटी अस्पताल नभएको बताए । वीपीको नाममा रहेको पुरानो अस्पतालमा सिटी अस्पताल बनाउन जग्गा प्राप्तीको लागि लविङ, वहस, पैरवी सबैले गर्नुपर्ने उनले बताए । ‘यो बिषय एजेण्डाकोरुपमा कार्यपालिका बैठकमा छलफल गर्ने तयारी छ । वीपीमा रहेको यो जग्गालाई पुनःप्राप्ती कसरी गर्ने भनेर लविंग, वहस पैरवी गरेर नगर अस्पताल बनाउनुपर्छ,’ उनले भने ।
धरानबासी आधारभुत स्वास्थ्य सेवाबाट बञ्चित : डा साह
सुनसरी जिल्ला स्वास्थ्यका पुर्व प्रमुख डाक्टर श्रीराम साहले धरानका नागरिकहरु आधारभुत स्वास्थ्य सेवाबाट पनि बञ्चित रहेको बताए । उनले वीपी प्रतिष्ठानले आमा सुरक्षा कार्यक्र लागु गर्ने भनेर सम्झौता गरेपनि पछि हटेपछि पुरानो अस्पतालमा प्रसुती गृह सञ्चालनमा ल्याएको पनि स्मरण गरे ।
आधारभुत स्वास्थ्य उपचार सेवा दिनु स्थानीय सरकारको दायित्व भएको जोडदिदै डाक्टर साहले भने,‘कम्तीमा ज्येष्ठ नागरिक, महिला र बालबालिकालाई निःशुल्क आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ ।’
उनले सकेसम्म छिटो प्रक्रियामा गएर वीपी प्रतिष्ठानबाट पुरानो अस्पतालको जग्गा फिर्ता लिएर सिटी अस्पताल बनाएर सेवा प्रवाह गर्न पनि सुझाव दिए । ‘सरसफाई, विजुलीको कर लिएजस्तै स्वास्थ्य कर लिएर भएपनि जनतालाई सेवा दिनुपर्छ । नगर अस्पताल बन्नुपर्छ,’ उनले भने ।
स्वास्थ्य चौकीमा के के छ निःशुल्क सेवा ?
पुरानो अस्पतालमा रहेको धरान स्वास्थ्य चौकीकी प्रमुख लक्ष्मी बुढाथोकीका अनुसार अस्पतालले दिने सामान्य सेवाहरु सबै निःशुल्क उपलब्ध छ । ओपिडी सेवा, ल्याब सेवा, डेलिभरी सेवा, डेलिभरी पश्चात घरमा फलोअप, खोप सेवा, गर्भपतको सेवा सबै निःशुल्क रहेको उनले बताइन् । ‘पाठेघर मुखको क्यान्सरको स्क्रिनिङ पनि हुन्छ । सबै निःशुल्क छ,’ उनले भनिन्,‘आजदेखि भिडियो एक्स रे सेवा पनि शुरु भयो । धरानमा ५ सय तिरेर भिडियो एक्सरे गर्न नसक्ने पनि हुनुहुन्छ ।’
यहाँ २०६९ देखि प्रसुती गृह सञ्चालनमा आएको हो । प्रसुती गृहकी अनमी दोर्ण आचार्यका अनुसार जटिल अवस्था भएमात्र गर्भवती महिलाहरुलाई वीपी प्रतिष्ठान वा कोशी अस्पताल विराटनगर रिफर गरिन्छ । ‘समय धेरै छ भने कोशी अस्पताल पठाउछौं, त्यहाँ निःशुल्क उपचार हुन्छ,’ उनले भनिन्,‘यही धेरैको डेलिभरी भएको छ ।’
आचार्यका अनुसार प्रसुती गृहमा बोलाएको समयमा नियमित जाँच गर्न आएमा र डेलिभरी भएमा ८ सय रुपैया दिइन्छ भने बच्चा जन्मेको थप १ हजार गरेर आमाले १८ सय पाउनेछन् । ‘न्यानो झोलामा बच्चा र आमालाई कपडा पाउनुहुन्छ । औषधीहरु सबै फ्रि पाउनुहुन्छ,’ उनले भनिन् ।
भिडियो: