धरान: कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थले धरानमा नगर अस्पतालको खाँचो भएको औल्याएकी छिन् । 

महिला सञ्जाल धरानको भवन उद्घाटन तथा पदस्थापन समारोहलाई प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै सांसद कायस्थले उक्त कुरा औल्याएकी हुन् । उनले धरान नगर सरकार, वडाका जनप्रतिनिधि, राजनीतिकर्मी तथा सामाजिक संघसंस्थाहरुलाई नगर अस्पताल बनाउन आवश्यक पहलकदमीको लागि आह्वान समेत गरिन् । 

हाल धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र ठुलो स्वास्थ्य संस्थाकोरुपमा रहेको र त्यहाँबाट सबैले उचित सेवा, सुविधा पाउन नसकेको उनले बताइन् । ‘म त्यही कुरा आह्वान गर्छु । स्थानीय सरकार र आम धराने जनताले छाताचोकमा धरान अस्पताल थियो, त्यहाँ नगर अस्पताल बनाउनुपर्छ,’ उनले भनिन्,‘बनाएनौं भने धेरै दुःख पाइरहन्छौं । वीपी प्रतिष्ठान आज जनताले उचित सेवा पाउन सकेका छैनौं ।’

सांसद कायस्थका अनुसार विगतमा धरान अस्पतालकोरुपमा रहेको छाताचोकस्थित पुरानो अस्पतालमा नै नगर अस्पताल निर्माण गर्न सके जनताले धेरै सेवा, सुविधा पाउनेछन् । ‘वीपीमा बिहान ४ बजेदेखि नै लाइन हुन्छ, जनताले धेरै दुःख पाएका छन्,’सांसद कायस्थले भनिन्,‘यहाँ नगर अस्पताल मात्र बनाउन सक्यौं भने धरानको जनताले ठुलो सेवा पाउन सक्छन् ।’ 

mahila sanjal10

सांसद कायस्थले महिलाहरु विभिन्न संघसंस्थाहरुमा काम गरिरहेको भएपनि अझै  नेतृत्व विकास र सिपमुलक तालिम गराएर आत्मनिर्भर पनि बनाउनुपर्ने बताइन् । साथै उनले महिलाहरु उद्यमशील भएर आर्थिकरुपमा सक्षम भएमात्र सामाजिक, राजनीतिक क्षेत्रमा अघि बढ्न सहज हुने धारणा व्यक्त गरिन् । 

सांसद कायस्थले आफु प्रदेशसभामा निवार्चित भएपछि आर्थिक बर्ष २०७९/८० को लागि १ करोड बजेटमध्येबाट महिला सञ्जाललाई २५ लाख, रेडक्रसलाई २५ लाख, शारदा बालिका नमुना स्कुललाई २५ लाख र खत्रीधारास्थित शवदाहस्थललाई २५ लाख बजेट विनियोजन गरेको जानकारी दिइन् । यस्तै, वडा नं ५ मा आधारभुत स्वास्थ्य खोप केन्द्रलाई ४० लाख बजेटको पहल गरेर भवन निर्माण कार्य सम्पन्न भइसकेको पनि बताइन् । 

‘सरकारले शिक्षालाई प्राथमिकतामा राखेर लगानी गर्नुपर्छ, त्यसपछि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुपर्छ,’ उनले भनिन् । कार्यक्रममा पुर्वनगर प्रमुख तिलक राई, वडा नं १५ का अध्यक्ष नरेश इवारम र कांग्रेस सभापति श्याम पोख्रेलले पनि मन्तव्य व्यक्त गरेका थिए । 

भिडियो:

भिडियो: