धरान: धरान वडा नं ६ पानवारीस्थित पाँचकन्या जंगलमा हत्या गरिएको अवस्थामा भेटिएकी चुनकुमारी बुढाथोकीका माइती पक्षले प्रहरीमा जाहेरी दिएका छन् । 

शवको सनाखत गर्न आएका माइती पक्षले ईलाका प्रहरी कार्यालय धरान बिहिबार बेलुकी जाहेरी दिएका हुन् । माइती पक्षको जाहेरी पछि शव पोष्टमार्टम गर्ने बाटो खुलेको छ । बिहिबार जाहेरी दिन ढिलाई भएकोले समय अभावको कारण शुक्रबार मात्र मृतकको शव पोष्टमार्टम हुने भएको छ । 

मृतकका कान्छा भाई दिलबहादुर दाहालका अनुसार जाहेरीमा केही व्यक्तिको नाम किटानी गरिएको छ । तर उनले नाम भने खुलाउन मानेनन् । माइती पक्षले कोरियामा रहेका मृतकका श्रीमान् प्रेम बुढाथोकीलाई झिकाउनुपर्ने मागसमेत राखेका थिए । प्रहरीले अनुसन्धान गम्भीरतापुर्वक गर्ने र दोषी देखिएका सबैलाई कानुनको दायरामा ल्याउने पटक पटक प्रतिवद्धता जनाएपछि मृतकका माइती पक्षले जाहेरी दिएर पोष्टमार्टम गर्न र अनुसन्धानलाई अघि बढाउन सहमत जनाएका थिए । 

धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं १ माइतीघर र वडा नं २ श्रीमान्को घर भएकी चुनकुमारी इटहरीको हलगडामा डेरामा बसेर छोरा पढाइरहेका थिइन् । श्रीमान्कै निर्देशन अुनसार उनको छोरा शनिबार पहाडस्थित मावली घर गएका थिए भने उनी आइतबार मोरङ केरौनस्थित दिदीको घरमा जान भनेर हिडेकी थिइन् । तर उनको शव सोमबार धरान ६ स्थित पाचकन्या जंगलमा भेटिएको थियो । उनका आफन्तजनहरुले बुधबार राती मात्र प्रहरीको सम्पर्कमा आएर शवको सनाखत गरेका थिए ।

भिडियोः

भिडियोः

भिडियोः