धरान: मेयर हर्कराज राई (साम्पाङ) र वडाअध्यक्ष लोकेन्द्र फागोको उक्साहटमा आफुमाथि आक्रमण भएको भन्दै तीन जनाविरुद्ध किटानी जाहेरी दिएका सन्तोष लिम्बुले मेयर र अध्यक्षको नाम हटाएर प्रहरीमा अर्को जाहेरी दिएका छन् ।

वडा ११ स्थित नगरकोट टिएलओका अध्यक्ष रहेका लिम्बुले हिजो बुधबार ईलाका प्रहरी कार्यालय धरानमा मेयर र वडाअध्यक्षको नाम हटाएर अर्को जाहेरी दिएका छन् । उक्त जाहेरीमा उनलाई कुट्न प्रयास गर्ने जोन लिम्बुविरुद्ध मात्र किटानी जाहेरी रहेको छ । ‘निवेदन अर्को आएको छ, जोनविरुद्ध मात्र किटानी छ । जाहेरी दर्ता भइसक्यो, हामी खोजी गरिरहेका छौं,’ डिएसपी प्रकाश जबेगुले भने ।

नेकपा माओवादी केन्द्रका प्रदेश सदस्यसमेत रहेका लिम्बुले मंगलबार मेयर साम्पाङ र वडाअध्यक्ष फागोविरुद्ध पनि किटानी जाहेरी दिएका थिए । उक्त जाहेरी प्रहरीले भने दर्ता गरेन । मेयर साम्पाङ र वडाअध्यक्ष फागोको उपस्थितिमा घटना भएको भन्दै लिम्बुले प्रहरीमा किटानी नगरेपनि आफु मानहानीको मुद्दा लगाउन अदालत जाने प्रतिक्रिया दिए । ‘प्रहरीमा जोन लिम्बुलाई मात्र किटानी जाहरी दिएको छुँ । मेयर र वडाअध्यक्षविरुद्ध मानहानीमा अदालत जाने भन्नेमा छुँ,’ मोवाइल सम्पर्कमा उनले भने ।

लिम्बुले आफुमाथि सामाजिक सञ्जालमा मेयर साम्पाङको विरोधीकोरुपमा तथानाम गालीगलौज आइरहेको भएपनि नबुझेर त्यस्तो भएको दाबी गरे । ‘म मेयरको विरोधी होइन, उहाँ समाजलाई चाहिने मान्छे हो । इमान्दार र समाज, देशको लागि खट्ने मान्छे हो,’ उनले प्रतिक्रिया दिदै भने,‘म पनि चाहन्छु, हर्क साम्पाङलाई जोगाउनुपर्छ तर अन्ध समर्थकहरुले डुबाउनसक्छन् ।’

सोमबार बिहान वडा नं ११ स्थित नगरकोट वानडाँडा मार्गको ड्रेन र हुमपाइप विवाद मिलाउन मेयर साम्पाङ र वडाअधयक्ष फागो फिल्डमा पुगेका थिए । वानडाँडातर्फका स्थानीयले ड्रेन बीचसम्म मात्र बनेकोले निकासा गर्न पुछारसम्म नै पुर्याउनुपर्ने माग राखेका थिए । मेयर साम्पाङले विवाद मिलाउन श्रमदानबाट नै भएपनि बनाइदिने भनेपछि असन्तुष्टी जनाएपछि वादविवाद चर्केर तनावपुर्ण स्थिति बनेको थियो । त्यसैक्रममा वानडाँडातर्फका युवाले लिम्बुमाथि एक्कासी जाइलागेका थिए ।