धरान: एसईई परीक्षा २०८१ को उत्कृष्ट नतिजा ल्याउन सफल धरान ९ स्थित विष्णु मेमोरियल माविले उतीर्ण विद्यार्थी र अभिभावकहरुलाई सम्मान गरेको छ ।
स्कुलले शुक्रबार आफ्नै सभाहलमा कार्यक्रम आयोजना गरि विद्यार्थी र अभिभावकसँगै शिक्षकहरुलाई पनि सम्मान गरेको हो । विद्यालयले जिपिए ४.० ल्याएर उतीर्ण विद्यार्थी रुपराज बराललाई सम्मान पत्रसहित सम्मानित पनि गरेको थियो । उनका अभिभावकद्धयलाई पनि विद्यालयका संस्थापक अध्यक्ष वेनिन्द्र कटवाल, प्रिन्सिपल निलमकुमार श्रेष्ठले सम्मान गरेका थिए । विद्यार्थी रुपराजसँगै उतीर्ण कुल १३१ जना विद्यार्थी र अभिभावकहरुलाई अध्यक्ष कटवाल र प्रिन्सिपल श्रेष्ठले खादा, अबिर लगाएर सम्मान गरेका थिए ।
यसपालीको नतिजामा विष्णुबाट एक जनाले ४.० जिपिए एक जनासहित एक सय जना विद्यार्थीहरुले ए प्लस, ३.२१ देखि ३.६० जिपिए (ए) सहित २८ जना उर्तीण भएका छन् भने २.८१ देखि ३.२ जिपिए (बि प्लस) ल्याएर ३ जना उर्तीण भएका छन् । विद्यालयका अध्यक्ष कटवालले विष्णु स्कुलको पहिचान गुणस्तरीय शिक्षा र अनुशासन भएको बताए । परीक्षामा राम्रो नतिजा ल्याउनु मात्र गुणस्तरीय शिक्षा नभएको उल्लेख गर्दे उनले आफुहरुले उत्पादन गरेको विद्यार्थीहरु विभिन्न क्षेत्रमा स्थापित भएको र त्यो गुणस्तरीय शिक्षाकै कारणले भएको जिकिर गरे ।
विद्यालयका प्रिन्सिपल श्रेष्ठले विद्यार्थीहरुको लागि अनुशासन र सँस्कारयुक्त विद्यार्थी नै सफलताको कडी भएको उल्लेख गर्दै अभिभावकहरुले पनि यो कुरालाई मनन् गर्नुपर्ने बताए । विद्यालयबाट १३१ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएको र सतप्रतिशत उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनले बताए । यो नतिजा गत बर्षकै उत्कृष्ट नतिजाको ल्याएको बताए ।
‘यसक्षेत्रमै सर्वोत्कृष्ट नतिजा र सतप्रतिशत नतिजा हासिल गर्ने शिक्षा समन्वय इकाईको तथ्यांक अनुसार यस जिल्लामै संस्थागत विद्यालयतर्फ प्रथम स्थान हासिल गर्न सफल भएका छौं,’ प्रिन्सिपल श्रेष्ठले भने,‘यो सफलताको लागि सर्वप्रथम विद्यार्थीहरुलाई बधाई दिनचाहन्छु, एसइई मात्र सकिएको हो, एसएलसी परीक्षा आउन बाँकी नै छ । कक्षा ११, १२ को लागि गुणस्तरीय शिक्षा, भौतिक पुर्वाधार, जनशक्ति व्यवस्थापन र निगरानी, विगतको शैक्षिक इतिहास हेर्नुहुनेछ भन्ने अपेक्षा लिएका छौं ।’
भिडियो: