धरान: सुनसरी उद्योग वाणिज्य संघको यही असार ३० गते हुन लागेको निर्वाचनमा अध्यक्षका प्रत्यासी गोपाल श्रेष्ठ र उनको समुहले पत्रकार सम्मेलन गरेर उम्मेद्वारहरुको परिचय गराएका छन् ।
धरान १५ स्थित होटल धरान किचनमा शुक्रबार पत्रकार सम्मेलन गर्दै अध्यक्षमा श्रेष्ठसँगै उद्योगतर्फ सदस्यहरुमा कृष्ण पाठक, प्रभात खतिवडा, विष्णु वराल र महेन्द्र प्रधान रहेको घोषणा गरिएको थियो । यस्तै, वाणिज्यतर्फ सदस्यहरुमा अमित अग्रहरी, किसन मास्के, जयप्रकाश शर्मा, नविन राजभण्डारी, रामस्वरुप शर्मा, विवेक अग्रवाल, शशी साह, शैलेशकुमार आचार्य (प्रमोद) र वणिज्य महिलातर्फ बर्षा अग्रवाल उम्मेद्वार रहेको घोषणा पनि गरेका छन् ।
यस्तै, एशोसिएटतर्फ पनि यो समुहबाट सदस्यमा अशोक जैन, मनिष अग्रवाल र ललितकुमार अग्रवाल उम्मेद्वार रहेका छन् । यही समुहमा रहेका बस्तुगततर्फको सदस्यहरुमा नविनकुमार तामाङ र नारायण लिम्बु निवार्चित निवार्चित भइसकेका छन् भने उद्योग महिलातर्फ मीना राई मगर पनि निर्विरोध भइसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । यद्यपी, निवार्चित निवार्चित भएको औपचारिक घोषणा भने निर्वाचन समितिबाट हुन बाँकी नै छ ।
गोपाल श्रेष्ठको टिमलाई पुर्वअध्यक्षहरुको समर्थन
अध्यक्ष पदका प्रत्यासी गोपाल श्रेष्ठलाई संघका पुर्वअध्यक्षहरुले पनि खुलेरै समर्थन गरेका छन् । शुक्रबार पत्रकार सम्मेलनमा पनि उनीहरु श्रेष्ठकै साथमा उभिएका थिए ।
उनको समर्थनमा पुर्वअध्यक्षहरु गिरीधारी सापकोटा, राजेन्द्र साह, सरोज श्रेष्ठ, मोहनकाजी शाक्य, पवन अग्रवाल, विजय डाँगा, गौरीशंकर अग्रवाल र खजाञ्जीदास अग्रवालले समर्थन गरेका छन् ।
२६ बुँदे प्रतिवद्धता पनि सार्वजनिक
वर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्षसमेत रहेका अध्यक्षका प्रत्यासी श्रेष्ठको समुहले आफ्ना उम्मेदवारहरु सुनसरीमा व्यवसायिक अनुभव, ज्ञान र सिकाई भएका व्यक्तिहरुको उम्मेदवारी मात्रै रहेको दाबी गरेको छ । उक्त पत्रकार सम्मेलनमा यो समुहले आफ्नो २६ बँुदे प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेको छ ।
प्रतिवद्धता पत्रमा सुनसरीको धरान र आसपास क्षेत्रको विगतको व्यापारिक साखलाई पूर्नस्थापना गर्ने र सुनसरीमा थप लगानी बृद्धि गर्न सहजीकरण गर्ने उल्लेख गरिएको छ । पहाडी सडकसँग जोड्ने द्रुत व्यापारिक राजमार्ग, पर्यटन र खानेपानीको स्थायी समाधान गर्न सकिने बहुपयोगी परियोजना धरान लेउती सुरुङ्ग मार्गको निमार्ण प्रक्रियामा पहल गर्ने पनि प्रतिवद्धता पत्रमा समेटिएको अध्यक्षका प्रत्यासी श्रेष्ठले जानकारी दिए ।
प्रतिवद्धता पत्र वाचन गर्दै उनले धरानमा रहेको ढुवानी तथा लोड–अनलोड समस्यालाई समाधान गर्न पहल गर्ने साथै उद्योगी व्यवसायीहरुको सुरक्षालाई प्राथमिकता दिदै सामुहिक बीमा तथा राहत कोष व्यवस्थापनमा पहल गर्ने, संघको विधानलाई समय सापेक्ष संशोधन गर्ने, धरान कोसेली घर निर्माण गर्ने, धरानका होटल तथा रेष्टुरेष्टहरु १२ बजेसम्म खोल्ने वातावरण बनाउन पहल गर्ने लगायतका २६ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका थिए ।
दलको होइन, व्यवसायी र व्यापारीहरुको साझा उम्मेद्वार
अध्यक्षका प्रत्यासी श्रेष्ठले आफ्नो टिमलाई सबै उद्योगी, व्यवसायी, व्यापारीहरुको र पुर्वअध्यक्षहरुको समर्थन भएकोले साझा उम्मेद्वारकोरुपमा आफु भएको जिकिर गरे । राजनीतिक आस्था सबैको आआफ्नै भएपनि संघको निर्वाचनमा व्यवसायिक हितलाई मात्र केन्द्रमा राखेर निर्वाचन हुने उनले बताए ।
यस्तै, खेल पर्यटन विकासका लागि योजनाकोबारे उठेको जिज्ञासामा उनले प्रतिबद्धता पत्रमा उल्लेख नभए पनि नतिजा आफनो पक्षमा आए पछि खेलकुदकर्मी तथा खेल पर्यटन व्यवसायीहरुसँग बसेर के गर्न सकिन्छ भनेर परामर्श गर्ने र सोही अनुरुप काम गर्ने प्रतिबद्धता जनाए।
पत्रकार सम्मेलनमा गोपाल श्रेष्ठको समुहलाई सिण्डिकेटबाट उम्मेदवारी उठाएको भन्ने आरोपबारे खण्डन गर्दै पूर्वअध्यक्ष सरोज श्रेष्ठले सबै उम्मेदवार कुनै न कुनै व्यवसायमा सफल भएका व्यक्तिहरु भएकोले त्यस्तो नभएको बताए । विद्यानले पनि कार्यसमितिमा २ कार्यकाल पदाधिकारी भई सकेका व्यक्ति मात्रै अध्यक्ष हुन पाउने व्यवस्था रहेको खुलाउदै उनले भने, “यो कसरी सिण्डिकेट भयो ? हामी पुर्वअध्यक्षहरु यो संस्थाको अभिभावक भएकोले पनि कसले संस्थाको हितमा र व्यवसायीहरुको हितमा काम गर्न सक्छ भन्ने आधार देखेर नै समर्थन र साथ दिने हो, र हामीले यो टिमलाई समर्थन गरेका हौ ।”
विपि अस्पतालको भिसि नियुक्तिबारे संघका वर्तमान अध्यक्ष विजय श्रेष्ठले भने, “हामीले आवश्यक पहल गरिरहेका छौं, भिसि स्थानिय नै हुनपर्छ भन्ने हाम्रो माग पनि छ ।” पत्रकार सम्मेलनमा उठेको प्रश्नमा हरेक उम्मेदवारसँग १ लाख खर्च संकलन गरेको आरोपको पनि खण्डन गर्दै उम्मेदवार विष्णु बरालले भने, हामी उम्मेदवार उठेका हौं र हामीले कुनै पनि रकम दिएका छैनौं ।