धरान: डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगितामा सेमीफाइनल समिकरण पुरा भएको छ ।
आज आइतबार तेस्रो दिन चार खेल सम्पन्न भएसँगै प्रतियोगिताको समीफाइनल समिकरण पुरा भएको हो । खेलमा हिमालयन मेघा एकाडेमी धरान, हिमशिखर इङ्लिस बोर्डिङ स्कुल इटहरी, पाराडाइज बोर्डिङ स्कुल इटहरी र प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल, धरानले जित निकालेर सेमीफाइनलमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा हिमालयन मेघाले दिल्ली पब्लिक स्कुललाई ४०–१५ अङ्कले पराजित गर्यो । हिमालयन मेघाले क्रमशः ११–२, १२–५, १०–४ र ८–४ अङ्कले दिल्ली पब्लिकलाई पराजित गरेको थियो । उक्त खेलमा हिमालयन मेघाका सङ्गम ठाकुर म्यान आफ द म्याच घोषित भएका थिए ।
प्रतियोगिताको दोस्रो खेलमा इटहरीको हिमशिखरले आयोजक डिपोलाई ३०–२९ को झिनो अङ्कले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो । खेलमा हिमशिखर र डिपोले त्र,मशः ८–५, ११–९, ७–८ र २–६ स्कोर गर्दै बराबरी २८–२८ खेलेका थिए । खेल बराबरी भएपछि थपिएको अतिरिक्त समयमा हिमशिखरले २ र डिपोले १ अङ्क मात्र जोडेपछि हिमशिखर सेमीफाइनल प्रवेश गर्यो । उक्त खेलमा हिमशिखरका स्वयम माझी म्यान अफ द म्याच भएका थिए ।

यस्तै, तेस्रो खेलमा इटहरीके पाराडाइजले धरानको सुनाखरी एकाडेमीलाई ३५–८ अङ्कले पराजित गर्दै सेमीफाइनल प्रवेश गर्यो । पाराडाइजले क्रमशः ४–६, १०–०, १३–० र ८–२ गरेर सुनाखरीलाई पराजित गरेको थियो । खेलमा पाराडाइजका सक्षम तामाङ म्यान अफ द म्याच घोषित भएका थिए । यसैगरी अन्तिम खेलमा प्रभातले चिल्ड्रेन्स एकाडेमीलाई २८–२४ अङ्कले पराजित गर्यो । प्रभातले ८–५, ८–८, १०–६ र २–५ स्कोर गर्दै चिल्ड्रेन्स एकाडेमीलाई हरायो । खेलमा प्रभातका शुसान्त उराव म्यान अफ द म्याच भएका थिए ।
कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित गरिएको प्रतियोगितामा मोरङ, सुनसरी र झापाकागरि १६ विद्यालयलले भाग लिएको छ । प्रतियोगितामा विजेता टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी, उच्च स्कोरर र राइजिङ प्लेयरले पनि ट्रफी तथा प्रमाणपत्र पाउनेछन् । यो प्रतियोगिता विद्यालयका पूर्व अध्यक्ष तथा डिपोट सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष स्वर्गीय मेजर श्रवण कुमार लिम्बुको स्मृतिमा आयोजना गरिदै आएको छ ।







