धरान: पण्डित श्रीलोकनाथ लुइटेल स्मृति प्रतिष्ठानको शनिबार दोस्रो बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । 

प्रतिष्ठान स्थापना भएको आठौँ बर्ष भएपनि कानुनीरुपमा प्रशासनमा दर्ता भएपछिको दोस्रो वार्षिक कार्यक्रम सम्पन्न भएको हो । धरानको गीता मन्दिरमा आयोजित कार्यक्रमम विद्वत्सम्मान एवम् ग्रन्थ लोकार्पण पनि भएको प्रतिष्ठानका अध्यक्ष डिल्लीप्रसाद लुइटेलले जानकारी दिए । अध्यक्ष लुटइटेलको सभाध्यक्षता र पूर्वीय दर्शन, धर्मशास्त्रका विशिष्ट विद्वान एवं नेपाल सँस्कृत विश्वविद्यलयका पूर्वशिक्षाध्यक्ष पुरुषोत्तम भट्टराईके प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

समारोहमा विभिन्न क्षेत्र र विषयका विद्वान, बुद्धिजिविहरुको सहभागिता रहेको थियो । प्रतिष्ठानले अर्द्धवार्षिक रूपमा प्रकाशन गर्दै आएको बहुभाषिक, बहुविषयात्मक, विज्ञसमीक्षित, अनुसन्धानमूलक पत्रिका लोकदर्पण संस्थाका सल्लाहकारसमेत रहेका प्रा.डा.माधवप्रसाद पोखरेल, प्रा.डा. गोविन्दराज भट्टराई, प्रा. नारायण प्रसाद शर्मा कट्टेल, प्रा.डा. गोपाल प्रसाद भण्डारी र प्रा.डा.रमेश घिमिरेलाई सम्मान समर्पण गरिएको अध्यक्ष लुईटेलले जानकारी दिए । 

sahitya1

यस्तै, प्रमुख अतिथि भट्टराईबाट टोपी र सम्मानपत्र, संस्थापकका तर्फबाट गुरुआमा राधादेवी लुइटेल र डा. हरिशरण लुइटेल, सभाध्यक्ष, विशिष्ट अतिथि, प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ र प्रा.डा. टङ्कप्रसाद न्यौपनेले पुष्पमाला, दोसल्ला अर्पण गरी सम्मान गरिएको पनि अध्यक्ष लुइटेलले जानकारी दिए । गुरुहरूको सम्मानका क्रममा डा. यज्ञेश्वर निरौला र डा. सुभाषचन्द्र न्यौपानेले सम्मानितहरुको व्यक्तित्वमाथि प्रकाश पारेका थिए भने डा. यज्ञेश्वर निरौला, मधुसूदन घिमिरे र भवानीप्रसाद मिश्रले सम्मानपत्र वाचन गरेका थिए । 

समारोहमा संस्थाका आधार पुरुष पं. लोकनाथ लुइटेलद्वारा लिखित सरलपूजाविधिः ग्रन्थको लोकार्पणसमेत गरिएको थियो । लोकार्पणपश्चात् ग्रन्थ र ग्रन्थकारका बारेमा सहप्राध्यापक कृष्णप्रसाद शर्माले मन्तव्य राखेका थिए । सम्मानित व्यक्तित्वहरुले पण्डित लोकनाथ लुइटेलको चर्चा गर्दै उनका नाममा परिवारद्वारा स्थापना गरिएको संस्थाको वर्तमानसम्मका गतिविधि, भोलिका दिनमा संस्थाले गर्नुपर्ने कार्यहरू, गुरुको यशलाई थप उज्वल बनाउन परिवार, जेठा छोरा डा.हरिशरण लुइटेलले गरेका कार्यके खुलेरै प्रशंसा गरेका थिए ।

संस्थाका सदस्य मधुसूदन घिमिरेले संस्थाको परिचयसहित स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन रसहजीकरण सदस्य भवानीप्रसाद मिश्रले गरेका थिए । सभाध्यक्ष डिल्लीप्रसाद लुइटेलले संस्थाले आगामी दिनमा आर्थिक, व्यवस्थापकीय रूपमा पनि सबलता प्राप्त गर्ने प्रतिबद्धता व्यक्त गरेक थिए ।