धरान: डिपो माध्यमिक विद्यायलयद्धारा आयोजित पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगिताको उपाधि भिडन्त प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल, धरान र पाराडाइज बोर्डिङ स्कुल, इटहरीबीच हुने भएको छ । 

प्रतियोगिताको सोमबार सम्पन्न सेमीफाइनल खेलमा प्रभातले हिमालयन मेघा एकाडेमी धरानलाई पराजित गर्दै फाइनलमा स्थान बनायो भने पाराडाइजले इटहरीकै हिमशिखर इङ्लिस बोर्डिङ स्कुललाई हराउदै फाइनलमा प्रभातसँगको भेट पक्का गरेको हो । प्रतिस्पर्धात्मक भएको पहिलो सेमीफाइनल खेलमा प्रभातले हिमालयनलाई ४७–४६ को झिनो अन्तरले हरायो ।  प्रभातले १५–१०, ४–१५, २०–१३, ८–८ स्कोर गर्दै हिमालयन मेघालाई पराजित गरेको थियो । खेलमा प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुलका नेमसाङ मगर म्यान अफ द म्याच घोषित भएका थिए। 

basket semi1

यस्तै, दोस्रो सेमीफाइनल खेलमा पाराडाइजले हिमशिखरलाई ३९–२८ स्कोरले पराजित गर्यो । खेलमा पाराडाइजले १५–४, ५–७, ५–९ र ९–८ स्कोर गर्दै हिमशिखरलाई पराजित गरेको थियो । खेलमा पराडाइज बोर्डिङ स्कुल इटहरीका प्रिन्स खत्री म्यान अफ द म्याच भएका थिए । 

प्रतियोगिताको फाइनल खेल मंगलबर बिहान हुनेछ । कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित गरिएको यो प्रतियोगितामा मोरङ, सुनसरी र झापाकागरि १६ विद्यालयलले भाग लिएको थियो । प्रतियोगितामा विजेता टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। यो प्रतियोगिता विद्यालयका पूर्व अध्यक्ष तथा डिपोट सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष स्वर्गीय मेजर श्रवण कुमार लिम्बुको स्मृतिमा विगत ५ बर्षदेखि निरन्तर आयोजना हुदै आएको छ । संस्थापक अध्यक्ष लिम्बूले विद्यालयको नेतृत्व गरिरहेकै बेला कोरोना महामारीमा  २०७८ साल साउन १५ गते निधन भएको थियो ।