धरान: डिपो माध्यमिक विद्यायलयले आयोजना गर्न लागेको पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति डिपो बास्केटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।
साउन १५ गतेदेखि सुरु हुने खेल तालिकाअनुसार पहिलो खेल हिमालयन मेघा एकाडेमी र अरनिको एकाडेमीबीच हुनेछ । यो खेल प्रतियोगिताको पहिलो खेल भए पनि दोस्रो खेललाई उद्घाटन खेल हुने भनिएको छ । उद्घाटन खेल आयोजक डिपो र आइडल एकाडेमीबीच हुनेछ।
खेल तालिका सार्वजनिक कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित गरिएको यो प्रतियोगितामा सुनसरी, मोरङ र झापाका १६ विद्यालयहरुको भाग लिएका छन् । साउन १५ देखि १९ गतेसम्म विद्यालयको आफ्नै बास्केटवल कोर्टमा हुनेछ ।
प्रतियोगितामा विजेता टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडी, उच्च स्कोरर र राइजिङ प्लेयरलाई पनि ट्रफी तथा प्रमाणपत्र पाउनेछन् ।
कार्यक्रममा खेलकुद संयोजक तथा कार्यक्रमका अध्यक्ष खड्गशमसेर लिम्बूले बास्केटबल खेल भावनाले खेल्नु पर्ने भएको बताए । यो प्रतियोगिता विद्यालयका पूर्व अध्यक्ष तथा डिपोट सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष स्वर्गीय मेजर श्रवण कुमार लिम्बुको स्मृतिमा आयोजना गर्न लागिएको हो । संस्थापक अध्यक्ष लिम्बूले विद्यालयको नेतृत्व गरिरहेकै बेला कोरोना महामारीमा २०७८ साल साउन १५ गते ज्यान गुमाएका थिए ।







