धरान: भानुचोकबाट बसपार्क सरेपछि व्यापार सुकेको कारण देशीलाइन सडकखण्डलाई दुई तर्फीरुपमा सञ्चालनमा ल्याउन माग गर्दै धरान वडा नं २ देशीलाइनका व्यापारीहरु बुधबारदेखि आन्दोलनमा उत्रिएका छन् ।
व्यापारीहरुले बुधबार दिनभर माछाभौडी दोभान चोकमा भेला भएर धर्नामा बसेका थिए भने बासको ढाट राखेर सडक अवरुद्ध पारेका थिए । उनीहरुले सडकमा राखेको बास नेपाल प्रहरी र सशस्त्र प्रहरीले बल प्रयोग गरेर हटाएको थियो । त्यसक्रममा व्यापारी र प्रहरीबीच झडपको स्थिति बनेको थियो । बास हटाए पनि उक्त सडक भने खुलेन । व्यापारीहरु सडकमै बसेर सवारीसाधन आवातजावत ठप्प पारे।
उपमहानगरपालिका र वडा २ अध्यक्षको संयोजकत्वमा रहेको भानुचोक व्यवस्थापन समितिले आज (बुधबार)देखि दुई चक्के मोटरसाइकल र स्कुटरलाई मात्र दुईतर्फी आवातजावत गर्न दिने निर्णय भएको थियो । सोही निर्णय कार्यान्वयन गर्न बिहान करिब ९ बजे वडा २ का अध्यक्ष रमेश राई, वडा ३ का अध्यक्ष विद्या शाक्य, कार्यपालिका सदस्य विकास भाटीलगायत जनप्रतिनिधि र उपमहानगरका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटा भानुचोकमा उपस्थित भएका थिए । त्यही समयमा देशीलाइनका व्यापारीहरुले दुई चक्के मात्र नभै पहाडी रुटबाट आएका यात्रुवाहक बाससहित गाडीहरु पनि दुईतर्फी गर्न दिइनुपर्ने माग राखेका थिए । वडाअध्यक्ष राई र व्यापारीहरुको नेतृत्व गरिरहेका भुपाल राईबीच केहीबेर भनाभन पनि भएको थियो ।

व्यापारीहरुको असन्तुष्टी थाती राखेरै वडाका जनप्रनिधिहरुले दुई चक्के गाडी दुईतर्फी खुलेको भन्दै भानुचोकबाट माछाभौडीतर्फ पैदल हिडेपछि लगत्तै व्यापारीहरुले सडकमै धर्ना बसेर अवरुद्ध पारेका थिए । वडाअध्यक्ष वा कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघा आएर छलफल गर्नुपर्ने माग व्यापारीहरुको थियो । तर सडक खुलाउन न वडाका जनप्रतिनिधि आए, न कार्यवाहक मेयर नै देखापरे । व्यापारीहरुले सडक ठप्प पार्न राखेको बास हटाउन प्रहरी हस्तक्षेप भएपछि वडा र नगरका नेतृत्वसँग उनीहरु रुष्ट बनेका थिए ।

'बसपार्क सरिसक्यो, भानुचोक क्षेत्रको व्यापार सुनसान छ, भिडभाड पनि कम छ । त्यसैले दुईतर्फी सबै गाडी खुलाउदा हुन्छ भन्ने हाम्रो कुरा हो, तर वडा र नगरबाट न जनप्रतिनिधि आए, न कोही प्रतिनिधि नै आए । त्यसैले हामी दिनभर सडक अवरुद्ध पारेर धर्नामा बस्न बाध्य भयौं,' उनले भने, 'अब भोली पनि आन्दोलन जारी नै रहन्छ ।'
भिडियो:
भिडियो:
भिडियो:







