धरान: आर्थिक बर्ष २०८१/०८२ को अन्तिम दिन बुधबार धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बसेपनि आगामी आर्थिक बर्षको बजेट तथा नगरसभाबारे कुनै निर्णय गर्न सकेन । 

आकस्मिकरुपमा बैठक बोलाइएको भएपनि बजेट तथा नगरसभाबारे एजेण्डा समावेश गरिएको थिएन । एजेण्डाहरु ७२ घण्टा अघि नै कार्यपालिका सदस्यहरुको हातमा पुग्नुपर्ने भएपनि बैठक शुरु भइसक्दासमेत एजेण्डा प्रिन्ट भइसकेको थिएन । त्यसैले बैठकका एजेण्डाहरु के के छन् भनेर कार्यपालिका सदस्यहरु नै अनभिज्ञ थिए ।

बैठकमा कार्यपालिका सदस्य दिनेश गजमेरले नगरसभा जस्तो प्रमुख एजेण्डा किन नआएको भन्दै प्रश्न गरे । उनले भने,‘नगरसभा जस्तो प्रमुख एजेण्डालाई छायामा पारेर अन्य एजेण्डा ल्याउदा धरानको विकास प्रभावित हुदैन ? आजको एजेण्डामा नगरसभा पहिलो हुनुपर्ने थियो । धरानलाई कसरी अघि बढाउने हो ? त्यतातर्फ ध्यान जाओस् ।’

dinesh gajmer

यस्तै, वडा नं ७ का अध्यक्ष जीवन सुवेदीले असार १० गतेभित्र नगरसभा बस्नुपर्ने भएपनि अन्तिम दिन असार ३२ गतेसम्म पनि बस्न नसकेको भन्दै स्थानीय सरकार असक्षम भएको बताए । उनले समयमा नै बजेट ल्याउन नसकेकोमा जनतासमक्ष माफी माग्नुपर्ने पनि बताए । ‘नगरबासीहरुले आज पनि बजेट आउछ कि भनेर हेरिरहेका छन्, तर हामीले जनताको हकअधिकार हनन् गर्यौं,’ उनले भने,‘ नीति तथा कार्यक्रम, बजेट ल्याउन नसकेको हुनाले हामीले जनतासमक्ष क्षमायाचनाको प्रस्ताव पास गरौं ।’

बैठकमा कार्यपालिका सदस्य सृर्जना नेपालले विविधमा समेत स्वास्थ्य बीमासँग सम्बन्धित एजेण्डा नआएकोमा प्रश्न गरिन् । उनले साउन १ गतेदेखि स्वास्थ्य बीमा हुन्छ कि हुदैन भनेर जनता चिन्तित रहेको भन्दै स्वास्थ्य बीमाको लागि धरान उपमहानगरपालिकाले के गर्न सकिन्छ भनेर एजेण्डा राखेर छलफल गर्नुपर्ने बताइन् । 

बैठकमा नगरसभाबारे प्रश्न उठेपछि मेयर हर्कराज राई (साम्पाङ)ले यसअघिको कार्यपालिका बैठकमा नै नगरसभासँग सम्बन्धित सिलिङ ल्याइसकेपछि मात्र नगरसभा बस्ने भनेर पत्र बुझाएको कारण नगरसभाको एजेण्डा समावेश नभएको बताए । ‘सिमा निर्धारण तथा सिलिङको दैनिक बैठक बसिरहेका छौं । हामी सहमतिको नजिक छौं । सिलिङ बनिसकेको छैन, त्यसैले कार्यपालिकामा नगरसभाको एजेण्डा प्रस्तुत गर्न नसकेको हो,’ उनले भने,‘गहन छलफल गरिरहेका छौं ।’

स्वास्थ्य बीमाबारे मंगलबार नै कार्यपालिकाका अधिकांशले हस्ताक्षर गरेर आफ्नो धारणा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुझाइसकेकोले एजेण्डामा समावेश नगरेको बताए । ‘केही वडाअध्यक्ष मात्र काठमाण्डौं गएकोले छुट्नुभएको छ, बाँकी सबैले हस्ताक्षर गरेर बीपी प्रतिष्ठानलाई धारणा राखेका छौं,’ मेयर साम्पाङले भने,‘कार्यपालिकाले हस्ताक्षर गरिसकेकोले फेरि आज पनि गर्नुपर्छ भन्ने लागेन । त्यसैले एजेण्डामा नपरेको हो ।’

बैठकबाट कुन कुन एजेण्डा भयो पास ?

karyapalika meeting

कार्यपालिका बैठकले कर्मचारीको तहवृद्धिको लागि सिफारिश गर्न प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षतामा एक महिलासहित २ जना वरिष्ठ कर्मचारीहरुको तह वृद्धि सिफारिश समिति गठन गर्ने निर्णय गरेको छ ।

कोशी प्रदेशबाट जारी भएको स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन ) ऐन २०८० को दफा २७ को उपदपा ४ वमोजिम गठित यो सिफारिश समितिमा महिला विकास अधिकृत जुनु राई र वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठ सदस्यकोरुपमा राख्ने निर्णय भएको छ । यस्तै, अस्थायी, करार, ज्यालादारीमा कार्यरत कर्मचारीहरुको सेवा निरन्तरताको लागि आर्थिक बर्ष २०८२/०८३ का लागि करार नवीकरण गर्ने पनि निर्णय बैठकले गरेको छ । 

यसैगरि, उपमहानगरपालिकाको आवधिक योजना तर्जुमा गर्न छनौट भएको परामर्शदाताले तयार गरेर पेश गरेको अन्तिम प्रतिवेदनलाई पारित गरी आगामी आर्थिक बर्षदेखि कार्यान्वयनमा ल्याउने निर्णय पनि बैठकले गरेको छ । उक्त प्रतिवेदनको भुक्तानी नगर प्रमुखस्तरीय भएको निर्णय पनि बैठकले अनुमोदन गरेको छ । धरान १३ स्थित अमर आधारभुत विद्यालयको भवन निर्माण आयोजनाको डिपिआर पारित गर्ने र डिपिआर तयार गर्ने कन्सल्टेन्सीलाई भुक्तानी गर्ने नगर प्रमुखस्तरीय निर्णय पनि बैठकले अनुमोदन गरेको छ । 

उपमहानगरपालिकाले संकलन गर्ने कर, शुल्क तथा दस्तुर महशुलको दर साउन १ गतेदेखि नगरसभा बैठकले पारित नगरेसम्म आर्थिक बर्ष २०८१/०८२ को दरलाई नै निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ । यस्तै, धरान ८ स्थित स्मार्ट बसपार्कमा पश्चिम भागमा रहेको कच्ची टहरा बनाएर बसेका मणिराज राईले जिल्ला अदालतमा पुनः मुद्दा दायर गरेपछि काम प्रभावित भएको र २ पटक निर्माण व्यवसायीले म्याद थप गरेपनि मुद्दाको कारण काम रोकिएकोले उक्त आयोजनाको अधुरो काम फैसला भएपछि छुट्टै खरीद प्रक्रियाबाट सम्पन्न गराउने गरि बसपार्क सञ्चालन गर्ने निर्णय पनि गरिएको छ । उक्त आयोजनाको अन्तिम बिल भुक्तानीबारे असार २४ गते मेयरस्तरीय भएको निर्णय पनि बैठकले अनुमोदन गरेको छ । 

भिडियो:

भिडियो:

भिडियो: