धरान: धरानका मेयर हर्कराज राईले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एउटा महत्वपुर्ण बिषय पत्र पठाएका थिए । मेयर राईले फेसबुक पेज हर्क साम्पाङ अ रेभुलेसनबाट सार्वजनिक गरेको उक्त पत्रको बिषय भन्दा पनि त्यहाँ उल्लेख भएको शब्दको बढी चर्चा भयो ।

पत्रको बिषय थियो, जग्गा फिर्ता गर्ने सम्बन्धमा । उनले धरान १ छाताचोकस्थित पुरानो धरान अस्पतालको जग्गामा नगर अस्पताल बनाउन चाहेको तर उक्त जग्गा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा गएकोले फिर्ता गर्न माग गर्दै पत्र पठाएका थिए । अहिले धरानबासीहरु पनि उक्त जग्गा बीपी प्रतिष्ठानबाट फिर्ता भएर स्थानीय सरकारले नगर अस्पताल सञ्चालन गरोस् भन्ने चाहन्छन् । 

तर, उक्त पत्रमा मेयर राईले ‘पुरानो अस्पतालको जग्गा कुन चाहि कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई दिई पठाएछ थाह भएन, यसरी नगरपालिकाको जग्गा लान पाइदैन । प्लिज फिर्ता गरिदिनु होला’ भन्ने लेखेका छन् । यो पत्र सार्वजनिक भएपछि ‘कुलङ्घार’ शब्द चयन पदिय जिम्मेवारी तथा मर्यादा अनुसार नभएको भन्दै मेयर राईको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । 

पत्रको बिषय सही भएपनि उपमहानगरपालिकाको लेटरप्याडमा उल्लेख भएको ‘कुलङ्घार’ शब्द आपत्तिजनक र अशोनिय भएको भन्दै पुर्वमन्त्री, सामाजिक अगुवा, राजनीतिक दलका नेताहरुले सामाजिक सञ्जालमा प्रतिक्रियाहरु जनाइरहेका छन् । मेयर राईका समर्थकहरुले भने भाषाशैली र शब्द चयन स्पष्ट एवं सिधा भएको भन्दै समर्थन जनाइरहेका छन् । 

विगतमा धरान अस्पतालको नाममा भएको जग्गा नेपाल सरकारले २०७४ कार्तिक ११ गते वीपी प्रतिष्ठानको नाममा दर्ता कायम गरि पुर्जा दिएको देखिएको छ । अहिले स्थानीय सरकारलाई आधारभुत सेवा केन्द्र वा नगर अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता भएपछि उक्त जग्गा फिर्ता गरेर सोही ठाउँमा सञ्चालन गर्नुपर्ने दबाब बढेको छ ।

बीपी प्रतिष्ठानले पनि दियो मेयरको फेसबुक स्टाट्यसको जवाफ


bpkihs mayor fb

 मेयर राईले मंगलबार आफ्नो फेसबुक पेज हर्क साम्पाङ अ रेभुलेसनबाट बीपी प्रतिष्ठान र छाताचोकको पुरानो अस्पतालको जग्गासँग सम्बन्धित दुई वटा स्टाटस पोष्ट गरेका थिए । ती मध्ये एउटा पोष्टमा ‘वीपी प्रतिष्ठानले पुरानो अस्पतालको जग्गा सुटुक्कै लगेकोले त्यसविरुद्ध प्रर्दशन गर्दै जग्गा फिर्ता गर्न दबाब दिऔं, नगर अस्पताल खोल्नुपरो के हाम्ले पनि’ उल्लेख गरेका थिए । 

यस्तै, अर्को पोष्टमा ‘स्वास्थ्यमन्त्री ज्यु, हाम्रो अस्पताल बिपीले हडपेको छ, धरान उपमहानगरपालिकालाई दिने कि नदिने ? मैले अस्पताल बनाउन र चलाउन बजेट राख्नु कि नराख्नु यस्पाली ?’ भनेर लेखेका थिए । प्रतिष्ठानले बुधबार यी दुवै पोष्टले भ्रम सृर्जना गरेको र गलत सुचना प्रवाह भएको भन्दै विज्ञप्ती जारी गरेको छ । साथै, मेयर राईलाई गलत सुचना प्रवाह नगर्न र स्टाटस् सच्याउन पनि अनुरोध गरेको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा.अभिजित कुमारले जारी गरेको विज्ञप्तीमा प्रतिष्ठानको ऐन २०४९ सालमा प्रतिनिधिसभाबाट पारित भएर स्थापना भएको र तत्कालिन श्री ५ को सरकारले २०४८ माघ ४ गते निर्णय गरेर साविक धरान बजारस्थित अस्पतालले चर्चेको १ बिघा ४ कट्ठा १३.१ धुर जग्गा प्रतिष्ठानको नाममा नामसारी गर्ने निर्णय भएको पनि विज्ञप्तीमा खुलाइएको छ । यी सबै प्रक्रिया हुन प्रतिष्ठानको कार्यकारिणी समिति तथा सञ्चालक परिषदसमेतको निर्णय प्रक्रिया भएर जानुपर्ने र सञ्चालक परिषद सदस्यमा तत्कालिन धरान नगरपालिका हाल धरान उपमहानगरपालिकाका प्रमुख सदस्य रहने व्यवस्था रहेको पनि विज्ञप्तीमा उल्लेख छ । 

purano dharan hospital 1

प्रतिष्ठानले विगतमा पुरानो धरान अस्पतालमा ओ.पि.डी. सेवा सञ्चालन गरेको तर धरानबासीहरुले प्रतिष्ठानमै सेवा लिन आउने चाहना गरेको र त्यहाँ विरामी संख्या न्यून हुदै गएर तत्कालिन अवस्थामा ओ.पि.डी.सेवा स्थगन भएको पनि विज्ञप्तीमा खुलाइएको छ । 

यसरी विधि र प्रकृयासम्मत प्रतिष्ठानको लागि भविष्यमा सेवा विस्तार गर्ने लक्ष्य अनुरुप भोगाधिकार दिई प्रतिष्ठानको नाममा नामसारी भएको बिषयलाई स्थानीय सरकार प्रमुखबाट सुटुक्कै लगेको, हडपेको जस्ता शब्दावली प्रयोग हुँदा जनसमुदायमा भ्रमित पार्ने र गलत सुचना प्रवाह हुने भन्दै प्रतिष्ठानले असन्तुष्टी पनि जनाएको छ ।

प्रतिष्ठानले पुरानो अस्पताल भएको क्षेत्रलाई कसरी धरानबासीको हितमा प्रयोग गर्न सकिन्छ भनेर आमधारणा बनाई स्थानीय सरकारबाट कुनै प्रस्ताव वा संवाद तथा छलफल हुँदा प्रतिष्ठान सदैव सकरात्मक रहने र सहकार्य गर्न हरदम तयार रहने पनि प्रतिवद्धता व्यक्त गरेको छ । 

bp press

bp