धरान: धरानको वडा नं ५ स्थित सेउती र अधेरी खोलाको दोभानमा पर्ने तल्लो देउरालीमा सुकुम्बासी परिवारको जग्गा जर्बजस्ती घेराबारा गरेर बहुसाँस्कृतिक पार्क बनाउन लागेको भन्दै स्थानीयले विरोध जनाएका छन् । 

नेपाल बसोबास बस्ती संरक्षण समाज जिल्ला समिति सुनसरीले शुक्रबार पत्रकार सम्मेलन गर्दे उक्त स्थानमा पार्क नबनाई विस्थापित भएका सुकुम्बासी परिवारहरुलाई घर बनाउन दिनुपर्ने माग गरेको छ । स्थानीय सुकुम्बासीहरुको जग्गामा जर्बजस्ती पार्क बनाउन वडाका जनप्रतिनिधिहरु, माओवादी र एमालेका नेताहरु लागिपरेको समाजका अध्यक्ष थामसेर लिम्बुले बताए । 

आफुहरुले घर बनाउन नपाए पार्क पनि बनाउन नदिने पत्रकार सम्मेलनमा सहभागी स्थानीय महिलाहरुले चेतावनी पनि दिए । ‘त्यहाँ हाम्रो घर नै थियो, तर २०६५ सालमा वनले आगजनी गरेर हामीलाई विस्थापित गराइदिएको थियो,’ पवित्रा लिम्बुले भनिन्,‘पछि फेरि छलफल गरेर पुर्नवास भएका थियौं, तर माओवादी नेताको नेतृत्वमा जेसिबि ल्याएर सबै घर भत्काइदिएको थियो । त्यहाँ हामीले घर बनाउन पाएनौं भने पार्क बनाउन पनि दिदैनौं ।’

sukumbasi 5

बसोबास बस्ती संरक्षण समाजका अध्यक्ष लिम्बुका अनुसा २०६५ सालमा उक्त स्थानमा सय घर परिवारहरु बसिरहेको अवस्थामा स्थानीय वाल ऋषिदेव उपभोक्ता समिति, इलाका वन रेष्जपोष्ट, वानमारा वन, धरान १५ को वन, राजनीतिक दलहरु सबै मिलेर आगजनी गरेर विस्थापित बनाएको थियो । उक्त घटनाको ४ दिनपछि छलफल भएर विस्थापितहरुलाई पुनःस्थापित गराउने काम भएको थियो । 

तर, तीन बर्षपछि माओवादीका नेता चोत्लुङको नेतृत्वमा पुनः घर भत्काइएको उनको भनाई छ । ‘त्यसपछि सुकुम्बासीहरु कोही डेराभाडामा बसे, कोहीको कालगतिले मृत्यु भइसकेको छ,’उनले भने,‘अहिले त्यही ठाउँमा नगरले जर्बजस्ती पार्क बनाउदै छ, त्यो हामीलाई स्वीकार्य छैन, त्यहाँ विस्थापितहरुले घर बनाउन पाउनुपर्छ ।’ 

अहिले मेयर साम्पाङले पार्क बनाउने योजना ल्याउदा सुकुम्बासीलाई भोट मागेर जितेका जनप्रतिनिधिहरु, नेताहरु सबैले सहमति जनाएको पनि उनले बताए ।  यसअघि सय घरपरिवारको बसोबास गरेको, घरघरमा पानी, विजुली, नेपाल सरकारबाट प्राप्त गरेको भुमि आयोगको निस्सा प्रमाणपत्र समेत पाइसकेको विस्थापित सुकुम्बासीहरुको दाबी छ । विस्थापित सय घरपरिवारमध्ये अझै पनि ४२ परिवार रहेकोले उनीहरुले घर बनाउन पाउनुपर्ने माग गरेका छन् ।

वडाअध्यक्ष आफैले जग्गा बेचे, अहिले आफै पार्क बनाउन लागेको आरोप

पत्रकार सम्मेलनमा वडा नं ५ का अध्यक्ष मनप्रसाद लिम्बुले विगतमा सोही ठाउँमा जग्गा बेचेको तर अहिले पार्क बनाउने सहमति जनाएको आरोप पनि लगाए । वडाअध्यक्ष लिम्बुसँगै एमालेका स्थानीय नेता चन्द्र भुजेलले पनि जग्गा बेचेको आरोप पत्रकार सम्मेलनमा लगाएका थिए ।

संरक्षण समितिका अध्यक्ष लिम्बुका अनुसार विस्थापित भएका सुकुम्बासीहरुको जग्गा हडपेर पार्क बनाउन वडाअध्यक्ष लिम्बुसँगै टिएलओ अध्यक्ष कविराज याक्खा, एमाले र माओवादीका नेताहरु, प्रदेश सांसद सबैको मिलेमतो रहेको बताए । ‘त्यहाँ पार्क बनाउने त बहाना मात्रै हो, बजेट ल्याउने र सबै जना मिलेर खाने हो नि,’ बसोबास संरक्षण समितिका अध्यक्ष लिम्बुले भने,‘बहुसाँस्कृतिक पार्क त माथि आदिबासी जनजाति संग्रहालयतिर बनाए भैगयो नि ।’

भिडियो: