धरान: गत असोज १३ गतेको कार्यपालिका बैठक नै भाँडिने गरि प्रस्ताव भएको धरान १७ स्थित सप्तरंगी पार्कलाई बहुसाँस्कृतिक पार्क बनाउने एजेण्डा सोमबार पनि प्रस्तुत गरिएको थियो । 

झण्डै तीन महिना रोकिएर सोमबार सौहार्दपुर्णरुपमा भएको बैठकको एजेण्डामा ११ औं बुँदामा यो प्रस्ताव गरिएको थियो । बैठकमा यो एजेण्डाले प्रवेश पाएपछि निक्कै लामो रस्साकस्सी चल्यो । बल्ल समझदारी भएर शुरु सुचारु भएको बैठक कतै यही एजेण्डाले पुनः विथोलिने त होइन ? भन्ने संशय वडाअध्यक्षहरुमा पनि पर्यो । त्यसैले केही वडाअध्यक्षहरुले महोल नबिग्रियोस् भनेर यो एजेण्डालाई अर्को बैठकमा ल्याउन आग्रह पनि गरेका थिए ।

बषौंदेखि लथालिङ्ग रहेको धरान १७ स्थित सप्तरंगी पार्कलाई पुर्नजीवन दिन मेयर साम्पाङले बहुसाँस्कृतिक पार्क नामकरण गर्दै विभिन्न जातिय संघसंस्थाहरुलाई मौलिकता झल्कने साँस्कृतिक सामग्रीहरु निर्माण गर्न दिने र पर्यटकीय केन्द्र बनाउने अवधारणा अघि सारेका थिए । तर, उक्त पार्क स्वर्गीय मेयर ध्यानबहादुर राईको पालामा संरक्षण भएर सप्तरंगी पार्क नामकरण भएको र नगरपालिकाले डिपिआरसमेत बनाइसकेको कारण नाम नफेर्न र अरु संरचना नबनाउन कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुले आग्रह गर्दै आएका छन् । 

dharan-karya

मेयर साम्पाङकै अवधारणासँग मेल खाने गरि आदिबासी जनजाति महासंघले धरान १४ स्थित हात्तिसारमा बहुजातीय संग्राहलय निर्माणाधिन भएकोले त्यहाँ नै बहुसाँस्कृतिक पार्क निर्माण गर्नुपर्ने धारणा वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले राख्दै आएका छन् । बैठकमा कार्यपालिका सदस्य दिनेश गजमेरले सप्तरंगी पार्क र बहुजातीय संग्राहलय दुवैको डिपिआर तथा अवधारणा अध्ययन गरेर मात्र निर्णय लिन मेयर साम्पाङलाई आग्रह गरेका थिए । 

सबैको धारणा तथा सुझाव सुनिसके पछि मेयर साम्पाङले पनि सप्तरंगी पार्कको कम्पाउण्डभित्र बहुसाँस्कृतिक पार्क नबनाउने हो भने अघिल्तिरको खाली जग्गामा सम्भाव्यता खोजेर बनाउने प्रस्ताव गरेका थिए । ‘कम्पाउण्ड भएकोमा नबनाउने हो भन्ने हो भने, ठाउँको आपत्ति हो भने त्यो भन्दा अगाडितिर सम्भाव्यता खोजेर बनाउन न त । त्यो एपरयामा हुदैन भन्ने छ भने अघिल्लतिर धेरै जग्गा छ । अतिक्रमण भइरहेको छ, बचाउन हम्मे छ । बनाउन चै बनाउ न,’मेयर साम्पाङले भने । 

मेयर साम्पाङको उक्त प्रस्ताव पछि बहुसाँस्कृतिक पार्क निर्माण गर्न कार्यपालिका बैठकले अध्ययन कार्यदल बनाउने निर्णय गरेको छ । उपमेयर अइन्द्रबिक्रम बेघाले बहुसाँस्कृतिक पार्क बनाउने योजना नगरको भएको र कार्यान्वयनमा लैजान ठाउँको बारेमा अध्ययन गर्न कार्यदल बनाउने समिति प्रस्ताव गरेका थिए । उनको प्रस्ताव अनुसार मेयर साम्पाङ संयोजक रहने गरि ५ सदस्यीय कार्यदल गठन भएको छ । कार्यदल सदस्यहरुमा वडा १५ का अध्यक्ष नरेश इवारम, वडा १८ का अध्यक्ष प्रविण राई, वडा १७ का अध्यक्ष मनोज भट्टराई र कार्यपालिका सदस्य सावित्री परियार रहेका छन् । 

भिडियो: