धरान: नेपाल बसोबास बस्ती संरक्षण समाज र स्थानीय भनिएका महिलाहरुले दाबी गरेजस्तो ०६५ सालमा बहुसाँस्कृतिक पार्क बनाउने भनिएको धरान ५ स्थित जग्गामा कुनै बस्ती नभएको वडाअध्यक्ष मनप्रसाद लिम्बुले बताएका छन् ।
बसोबास बस्ती समाज र केही महिलाहरुले पत्रकार सम्मेलन गरेर २०६५ सालमा आफुहरुको सय घर भएको बस्तीमा वन समुह, वन कार्यालय, प्रहरी, प्रशासन मिलेर आगो लगाएर नष्ट गरेको भन्ने दाबी गरेका थिए । वडाअध्यक्ष लिम्बुले भने उक्त दाबीको खण्डन गर्दै त्यस समयमा त्यहाँ कुनै वस्ती नै नभएको बताएका हुन् । ‘त्यो सबै झुटो हो, त्यहाँ कुनै बस्ती नै थिएन,’ अध्यक्ष लिम्बुले भने,‘आगो लगाएको भनेको त्यो ठाउँभन्दा धेरै माथि हो । त्यहाँ फेरि उहाँहरुले घर बनाएर बसिसक्नुभएको छ ।’
वडाअध्यक्ष लिम्बुका अनुसार तत्कालिन पाँचकन्या गाविस हुँदा २०६५ सालमा नै प्रत्येक घर घरमा पुगेर चर्पी नभए नभएको तथ्यांक संकलन गरिएको र खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको थियो । त्यो बेला उक्त स्थानमा घर भएको भए चर्पी भए नभएको तथ्यांक वडामा भेटिनुपर्ने अध्यक्ष लिम्बुले बताए ।
‘म त्यतिबेला खानेपानी उपभोक्ता समितिको अध्यक्ष थिएँ, त्यहाँ घर भएको भए त पानीको धारा जोडिएको हुनुपर्ने हो, तर घर नै नभएपछि कहाँ जोडिन्छ ? त्यहाँ खाली जग्गा नै हो,’ अध्यक्ष लिम्बुले भने,‘खाली भएको ऐलनी जग्गा किनबेच गर्नेहरुले नचाहिदो आरोप लगाएको मात्र हो ।’
अध्यक्ष लिम्बुका अनुसार हाल पार्क बनाउने भनिएको ठाउँमा विगतमा एउटा मात्र घर थियो । ती व्यक्ति पनि खोलाले क्षति पुर्याएपछि अर्को ठाउँमा स्थानान्तरण भएर बसेको र दाबी गर्ने भए उनको मात्र पुग्ने पनि अध्यक्ष लिम्बुले बताए ।
२०७९ सालमा सोही स्थानमा हेल्थ पार्क र करिडोर बनाउन स्थानीयसहितको बैठकमा हस्ताक्षर गर्ने महिलाहरु नै अहिले पार्कभित्र आफुहरुको जग्गा परेको भन्दै पत्रकार सम्मेलन गरेको पनि अध्यक्ष लिम्बुले बताए । ‘त्यही हेल्थ पार्कको जग्गा क्षेत्रमा नै बहुसाँस्कृतिक पार्क बन्ने हो, त्यतिबेला उहाँहरुले पनि हस्ताक्षर गर्नुभएको छ,’ उनले भने,‘त्यति बेला नै उहाँहरुको जग्गा परेन ?’ पत्रकार सम्मेलन गर्नेहरु दुईतीन तले पक्की घर बनाएर नै बसिरहेको पनि अध्यक्ष लिम्बुले बताए ।
मेयर हर्कराज राई (साम्पाङ) ले पनि विगतमा वडा कार्यालय र स्थानीयबीच बाटोदेखि ६५ फिट छोडेर मात्र पार्कको लागि घेराबारा गर्ने सहमति विपरीत तारले घेराबारा गरेपछि तल्लो भेगमा समस्या भएको वडाअध्यक्ष लिम्बुले बताए । उक्त घेराबाराभित्र ५ घर जति परेको र उनीहरुलाई उचित ठाउँमा स्थानान्तरण गरेर मात्र पार्क बनाउनुपर्ने आफुसहित वडाका अन्य जनप्रतिनिधिहरुको भनाई रहेको पनि उनले बताए । ती घरहरुलाई जर्बजस्ती हटाएर पार्क बनाउन खोजे आफुहरु नै विरोधमा उत्रने पनि अध्यक्ष लिम्बुले प्रष्ट पारे । ‘त्यो घरपरिवारहरुलाई उचित व्यवस्थापन गरेर मात्र भत्काउनुपर्छ, नत्र हामी नै विरोधमा उत्रन्छौं । हामीले जनतालाई विचल्ली पार्न आएका होइनौं,’ उनले भने ।
'मैले छोराको जग्गा बेचिदिएको हो, त्यो पनि पार्कभित्र पर्दैन'
वडाअध्यक्ष लिम्बुले नै जग्गा बिक्री गरेको भन्दै बहुसाँस्कृतिक पार्कको विरोधमा उत्रिएका महिलाहरुले पत्रकार सम्मेलनमा दाबी गरेका थिए । वडाअध्यक्ष लिम्बुले भने आफ्नो नभै छोराको जग्गालाई करिब ५ बर्षअघि बिक्री गरिदिएको स्वीकार गरे । तर, उक्त जग्गा पनि बहुसाँस्कृतिक पार्क क्षेत्रको नभै धेरै माथि बस्ती बीचको जग्गा भएको पनि उनले दाबी गरे ।
‘त्यो जग्गा मेरो होइन, छोराका थियो । विदेशमा हुँदा २५ धुरमध्ये १० धुर जग्गा अरुले नै बेचेर खाइदिएछ । त्यो पनि अरुले खाइदिन्छ भनेर छोराले बेचिदिनु भनेको हुनाले मैले बिक्री गरिदिएको हुँ,’ उनले प्रष्ट्याउदै भने,‘त्यो जग्गा पार्कभित्र पर्ने होइन, धेरै माथि बस्ती बीचकै हो । वडा ५ को देउराली क्षेत्र सबै वनको एलनी जग्गामा बसेको हो । त्यहाँ कसैले जग्गा किनबेच नभै त घर कसरी बन्छ र ?’
भिडियो: