धरान: धरान उपमहानगरपालिका वडा नं ३ ले तीन दिने चन्द्रपुर जात्रा उत्सव मनाउने भएको छ । 

धरानमा नेवाः सँस्कृतिको मुल थलोकोरुपमा रहेको चन्द्रपुर बजार क्षेत्रको सास्ँकृतिक महत्वलाई थप उजागर गर्न र वडा ३ लाई साँस्कृतिक वडाकोरुपमा विकास तथा प्रर्वद्धन गर्न पहिलो पटक तीन दिने चन्द्रपुर जात्रा उत्सव मनाउने तयारी गरिएको हो । यो उत्सव वडा नं ३ को कार्यालयले नै आयोजना गर्न लागेको हो । चन्द्रपुर जात्रा समिति संयोजकको जिम्मेवारी नेवाः देय दबुका केन्द्रीय उपाध्यक्षसमेत रहेका अनिल मास्केलाई दिइएको वडाअध्यक्ष विद्या शाक्यले जानकारी दिए ।

वडा कार्यालयले बिहिबार पत्रकार सम्मेलन गरेर साउन ३०, ३१ र भदौ १ गते तीन दिने उत्सव आयोजना हुनेछ । संयोजक मास्केका अनुसार पहिलो दिन साउन ३० गते धिमेबाजा प्रतियोगिता एवं विभिन्न बाजाहरुको प्रस्तुती हुनेछ भने साउन ३१ गते कृष्ण जन्माष्टमी उत्सव, बृहत लाखे प्रर्दशनीसँगै अन्य जातीय साँस्कृतिक प्रर्दशनी हुनेछ । यस्तै, भदौ १ गते मौलिक साँस्कृतिक झाँकीसहितको कृष्ण रथ यात्रा र रात्री लाखे समापन कार्यक्रम हुने पनि संयोजक मास्केले जानकारी दिए ।

gaijatra3 copy

आधुनिक धरान स्थापनाकालदेखि नै चन्द्रपुर बजार क्षेत्र नेवाः सँस्कृतिको मुल थलो रहेको भएपनि यो वडामा बहुल जातिको बसोबास रहेकोले तीन दिने जात्राको क्रममा पनि बुहसँस्कृति झल्कने वडाअध्यक्ष शाक्यले बताए । ‘हाम्रो नेवाः सँस्कृतिको मुल थलो यही चन्द्रपुर बजार क्षेत्र हो, तर अहिले यहाँ हामी सबै जातजाति मिलेर बसेका छौं,’ वडाअध्यक्ष शाक्यले भने,‘जेसिसले डबली पनि बनाइदिदैछ, हामी वडा ३ लाई साँस्कृतिक वडा बनाउने अभियानमा छौं, धरानको सँस्कृति हेर्न यहाँ आउने हुनुपर्छ ।’ चन्द्रपुर जात्रा उत्सवलाई हरेक बर्ष निरन्तरता दिइने पनि उनले बताए । 

सप्ताहव्यापी गाईजात्रा महोत्सव

यसबर्ष धरानमा गाईजात्रा महोत्सव सप्ताहव्यापीरुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाइने भएको छ । वडा नं ३ मा आयोजित पत्रकार सम्मेलनमा खड्गी समाज धरानको नेतृत्वमा गाईजात्रा महोत्सव मनाइने जानकारी दिइएको हो । 

gaijatra4 copy

नेपाल खड्गी सेवा समितिका अध्यक्ष मनिष खड्गीका अनुसार साउन २५ गतेदेखि २९ गतेसम्म भव्यताका साथ पृथकढंगले गाईजात्रा मनाउने तयारी भइरहेको छ । गाईजात्रा महोत्सव मनाउन श्यामकुमार खड्गी मुल संयोजक रहेका छन् । गाईयात्रा नेवारी समुदायले मनाउने भएपनि सम्पुर्ण जातजातिको पर्र्व भएको सन्देश प्रवाह गर्दे मनाइने समाजका अध्यक्ष मनिष खड्गीले बताए ।

गाईजात्रा महोत्सवको पहिलो दिन साउन २५ गते आइतबार ठ्याकठुके (घिन्ताङ घिसिङ) तथा सामुहिक गाईजात्रा हुने आयोजकले जनाएको छ । साउन २६ गते बिहान हिले यात्रा मनाउदै नगर परिक्रमा हुनेछ भने सोही दिन बेलुकी रोपार जात्रा हुनेछ । साउन २७ गते बाघ जात्रा (पल्टन), साउन २८ गते घोडे यात्रा र साउन २९ गते मारुनी नृत्य तथा गाईजात्रा समापन कार्यक्रम हुने खड्गीले जानकारी दिए। 

भिडियो: