धरान: विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा प्रा.डा.बिक्रम श्रेष्ठ नियुक्त भएका छन् ।
सिफारिशमा परेका ४ जना मध्ये कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विपी प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा.श्रेष्ठलाई मंगलबार नियुक्त गरेका हुन् । उनले नियुक्ती पत्र भने बुधबार लिने बताइएको छ ।
विपी प्रतिष्ठानको उपकुलपति दौडमा ४ जनाको नाम सिफारिश भएको थियो । तीन जनाको नाम मात्र सिफारिश गर्ने विगतको चलनविपरीत सर्च कमिटीले विपी प्रतिष्ठानको उपकुलपतिमा चार जनाको नाम पठाएको थियो ।
अन्तरर्वार्ता र प्रस्तुतीकरणपछि प्रा.डा.प्रह्लाद कार्की, प्रा.डा.रामेश कोइराला र प्रा.डा.रोहित यादवको नाम सर्च कमिटीले तय गरेको थियो । तर, प्रा.डा.श्रेष्ठलाई पनि सिफारिशमा छुटाउन नहुने भन्दै चर्को दबाब र लविङ भएको थियो ।
प्रा.डा.श्रेष्ठ हाडजोर्नी बिशेषज्ञ हुन् । विगतमा उनी प्रतिष्ठानमा एक कार्यकाल शिक्षाध्यक्षको जिम्मेवारी पनि पुरा गरिसकेका छन् । धरानमा लामो समयदेखि स्थानीयलाई नै उपकुलपतिमा नियुक्त गर्नुपर्ने माग हुदै आएको थियो । उपकुलपति हुने दौड शुरु भएपछि प्रतिष्ठान भित्रैबाट पनि प्रा.डा.श्रेष्ठलाई नियुक्त दिलाउन लविङसमेत भइरहेको थियो ।
उपकुलपतिमा सिफारिश भएका प्रा.डा.कार्कीको सम्भावना बढेपछि प्रतिष्ठानकै कर्मचारी, चिकित्सकहरुले प्रा.डा.श्रेष्ठलाई पनि सिफारिश गरेर नियुक्त गर्न लविङ गरेका थिए ।